नेपाली परम्परा जोगाउने धुनमा

भुटानको सुरे गोङखोलामा जन्मिएका डिल्ली अधिकारीले बाल्यकालमै धेरै उतारचढाव व्यहोरे । घरको वातावरण रमाइलो थियो । सबैले माया गर्थे । साथीभाईसँगै गाउँघर डुलेर मस्ती गरे । गाउँकै स्कुलमा नेपाली भाषामा क, ख, ग लेख्न सिकेका डिल्ली पूरा वाक्य लेख्नसक्ने बेलामा भने देशै छाड्न बाध्य भए । उनले क,ख लेख्न सिक्दै गर्दा भुटानका नेपाली भाषी आफ्नो भाषा बोल्न पाउनुपर्ने, चाडाबाड मान्न पाउनुपर्नेलगायत माग राखेर आन्दोलनमा थिए । तर, भुटानी शासकलाई नेपालीको माग जायज लागिरहेको थिएन । आन्दोलन चर्किंदै जाँदा शासक पनि कठोर हुँदै गएपछि परिवारका सदस्य बाँडिए । साथीभाई छिन्नभिन्न भए । डिल्लीलगायत अन्य नेपाली भाषी अन्तिममा देशै छाड्न बाध्य भए । ‘म सात वर्षको थिएँ, बाआमाको हात समाउँदै देश छाडेर हिँड्दा,’ देश छाडेको कुरा गर्दा उनमा आँसु टिल्पिलाएको थियो । जतिबेला उनले देश छाडेका थिए । थाहा थिएन, ‘देश भनेको के हो ?

जब झापाको शरणार्थी शिविर आइपुगे । उनलाई लाग्यो, ‘देश भनेको यस्तै रहेछ कि क्या हो ।’ १८ वर्षसम्म शरणार्थी शिविरमा बिताएका डिल्लीसँग अहिले अमेरिकी नागरिकता छ । नेपाल आउन कुनै रोकतोक छैन । तर, आफू जन्मेको ठाउँ हेर्ने अनुमति पाउँदैनन् । ‘नागरिकता जुनसुकै देशको होस् तर, म नेपाली भाषी हुँ । म जहाँ जान्छु नेपाली भाषा र संस्कृतिको वकालत गरिरहन्छु,’ उनी भन्छन् । उनका जेठा दाई अहिले पनि भुटानमै छन् । दाईको घरमा जान पाउँदैनन् । केही दिनअघि सिलगुढीमा पुगेर भेटे । नेपाली भाषा र संस्कृति जगेर्नामा एकोहोरो भएर लागेका उनको बुझाईमा नेपाली भाषी भुटानी ३० वर्षसम्म शरणार्थी शिविरमा बसे । त्यो वनबास केबल गासबासका लागि मात्रै थिएन, आफ्नोपन बचाउनका लागि थियो ।

जब अमेरिका पुगे, केही राहत अनुभति भयो उनलाई । क्षमताअनुरुपको काम पाइने देशमा आफ्नोपन जोगाउने भरपुर स्वतन्त्रता थियो । अमेरिकामा मात्रै ९० हजारभन्दा बढी भुटानी नेपाली भाषी रहेको जानकारी दिँदै उनले त्यहाँका नेपालीले सिंगो देश ‘नेपाल’ बनाएको दावी गरे । ‘अहिले अमेरिकामा गएर हेर्दा देखिन्छ । नेपाली मन्दिर, गुम्बा, चर्च सबथोक छन् । हरेकले आफ्नो परम्परा आफ्नै शैलीमा मनाउने गरेका छन्,’ अमेरिकामा बस्ने नेपालीले आफ्नो पन पूरै बचाएको सुनाउँदै अधिकारीले भने ।

यति हुँदाहुँदै पनि डिल्लीलाई लागिरहेको थियो, ‘नेपाली भाषा, संस्कृति र परम्परा बृहत् बनाउन विश्वभरका मान्छेले थाहा पाउनेगरी केही न केही गर्नैपर्छ ।’ उनकै पहलमा इन्टरनेसनल वेलफेयर अफ स्पोट्र्स फाउन्डेसन अफ अमेरिका (इन्ट्रा फाउन्डेसन) खुल्यो । फाउन्डेसनका संस्थापक अध्यक्ष डिल्लीले नेपाली भाषा, संस्कृति जगेर्नाका लागि ‘रियालिटी सो’लाई माध्यम बनाउने योजना बनाए । जुन सोको प्रभाव ‘विश्वभरका नेपालीमाझ सहजै पुग्छ’ भन्ने उनलाई लागेको थियो ।

प्रारम्भमा अमेरिकामा बसोबास गर्ने नेपाली भाषी केन्द्रित गरेर ‘भ्वाइस अफ युएसए’ र ‘मेरो डान्स अफ युएसए’ गरे । ‘मेरो डान्सको सिजन–४’ सम्पन्न गरेका डिल्लीलाई अमेरिकाबाहेकका मुलुकमा बस्ने नेपालीले प्रश्न गर्न थाले, ‘हामीचाहीँ कार्यक्रममा कसरी सहभागी हुने ? कार्यक्रमप्रति विश्वभरका नेपालीले चासो दिन थालेपछि उनले सोचे, ‘अब सबै नेपाली समेटनेगरी कार्यक्रम बनाउनुपर्छ ।’ विश्वभरका नेपाली समेट्नका लागि कार्यक्रमको दायरा पनि फराकिलो बनाउनुपर्ने बाध्यता थियो । लगानी पनि थप्नुपर्ने अनि सबै हिसाब गरेर ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ कार्यक्रम सुरु गर्ने योजना बन्यो ।

विश्वभरका नेपालीलाई गीतसंगीतका माध्यमबाट जोड्ने र भाइचारा सम्बन्ध कायम गर्ने उद्देश्यले कार्यक्रम गर्न लागेको उनको भनाई छ । यो कार्यक्रमले विभिन्न देशमा छरिएर बसेका नेपालीलाई ‘एकअर्कासँग जोड्छ’ भन्ने उनको विश्वास छ । इन्ट्रा फाउन्डेसनकै आयोजना सुरु कार्यक्रम अहिले अन्तिम चरणमा पुगेको छ । गएको जनवरीदेखि ‘फिल्ड अडिसन’ सुरु गरि एको थियो । बेल्जियम, दुबई, सिलगुढी, थाइल्यान्ड, अष्ट्रेलियालगायत मुलुकमा ‘फिल्ड अडिसन’ सकेको फाउन्डेसनले नेपालको विर्तामोड, बुटवल, नेपालगन्ज र काठमाडौंमापनि ‘फिल्ड अडिसन’ गरेको थियो । अहिले विश्वभरबाट १ सय २० जना छानिएका छन् ।

उनीहरूलाई होटलमा राखेर फाउन्डेसनले प्रशिक्षण दिएको छ । सुटिङ सुरु भएको दोस्रो साता नेपाल टेलिभिजनबाट प्रसारण हुने सो कार्यक्रममा सहभागीले ‘टिपिकल’ नेपाली गीत गाउनुपर्ने छ । ‘यहाँ -याप गाउन पाइदैन टिपिकल नेपाली गीत गाउनुपर्नेछ,’ डिल्ली भन्छन् । विजेतालाई १ करोड पुरस्कार दिने घोषणा गरेका डिल्लीले ‘कार्यक्रम पैसा कमाउनका लागि नभएको’ दावी गरे । इन्ट्रा फाउन्डेसन परोपकारी संस्था भएकाले कार्यक्रम गर्दा ‘यदि पैसा उभ्रियो भने परोपकारी काममै खर्च गर्ने’ उनको योजना छ । ‘यदि कमाई भयो भने परोपकारी काममै खर्च गर्छौं, त्यो पनि नेपालमै,’ उनी भन्छन्, ‘इन्ट्राले पहिल्यैदेखि पुर्वी नेपालको शरणार्थी शिविरमा रहेका बालबालिकालाई पढाउने काम गर्दै आएको छ भने वृद्धवृद्धालाई प्रतिमहिना पाँच हजारका दरले सहयोग गर्दै आएको छ ।’

तपाइको प्रतिक्रिया
(Visited 314 times, 1 visits today)

epaper

ताजा समाचार

मनराम–एसकाज पत्रकारिता पुरस्कार पोखरेललाई