रसिया युक्रेन युद्ध र कोरनाको कहरले गर्दा विश्व कूटनीतिक मञ्च ध्रुवीकृत अवस्थामा देखिएको छ । बहुपक्षीय संघसंगठनको सक्रियता बढे तापनि कूटनीतिमा तनाव कम भएको छैन । जी–सेभेन, जी–ट्वान्टी, संघाई सहयोग संगठन, ब्रिक्स, बिम्स्टेक, आसियानजस्ता अनेकौं संगठनको सक्रियताले संवादहीनताको वातावरणलाई कमजोर बनाएको छ । भर्खरै भारतमा भएको जी–ट्वान्टी बैठकमा अमेरिकी सेक्रेटरी अफ स्टेट ब्लिंकन र रसियाका परराष्ट्रमन्त्रीबीच भएको वार्तालाई प्रतिनिधि उदाहरणका रूपमा लिन सकिन्छ । रसिया र चीनको सामीप्यताले गर्दा भारत अमेरिकी सम्बन्धमा मधुरता थपिएको छ ।
त्यस्तै भारत चीनको तनावले गर्दा पनि अमेरिकी भारत सम्बन्धले नयाँ उचाइ हासिल गरेको छ । तर, भारतीय कूटनीतिको सफलताको द्योतक अमेरिका र रसियासँगको सन्तुलित नीति हो । पश्चिमा शक्तिको दबाबको बाबजुद पनि भारतले रसिया युक्रेन युद्धमा रसियालाई कूटनीतिक र सामरिक दबाब दिएन । पारस्परिक सम्बन्ध र आर्थिक कूटनीतिको कसीमा रसियासँग ऊर्जा आयत १६ गुणा बढाएर आप्mनो आर्थिक वृद्धिदरलाई निरन्तर राख्यो । साथसाथै कूटनीतिको सम्पूर्ण संयन्त्रलाई परिचालित गर्दै लगभग २० हजार भारतीय नागरिकलाई युक्रेनबाट निकाल्न भारत सफल भयो । ऊर्जा र हतियारमा रसियाप्रतिको निर्भरतालाई भारतले नजरअन्दाज गर्न सक्दैन ।
रसिया र चीनको सामीप्यताले गर्दा भारत–अमेरिका सम्बन्धमा मधुरता थपिएको छ
तर, भारत रसिया सम्बन्धको प्रभावबाट अमेरिकी भारत सम्बन्धलाई पृथक राख्नु भारतीय कूटनीतिको सफलता हो । भारत अमेरिकी सम्बन्ध उत्तारचढावले भरिएको छ । भारतका प्रथम प्रधानमन्त्री र भारतका परराष्ट्र नीतिका जनक नेहरू अमेरिकाबाट सम्मोहित थिएनन् । आप्mना पुस्तक ‘डिस्कभरी अफ इन्डिया’मा अमेरिकाभन्दा चीन र सोभियत रुसलाई उनले अधिक महŒव दिएका छन् । इतिहासको उतार रचढावमा भारतले असंलग्न परराष्ट्र नीतिको लागि मूल्य पनि चुकाएको देखिन्छ । सन् १९६२ मा चीनसँग युद्ध हुँदा भारतको पराजयका कारण असंलग्नता पनि थियो । भारतको परराष्ट्र नीति आदर्शवादमा अडिग थियो । नेहरूको युगपश्चात् इन्दिरा गान्धीले आर्दशवादबाट परराष्ट्र नीतिलाई यथार्थवादमा परिणत गरे । सन् १९७१ मा पाकिस्तानसँग युद्ध हँुदा अमेरिकी र चीनको चुनौतीलाई स्वीकार गर्दै इन्दिरा बंगलादेशको धाईआमा बन्न सफल भइन् ।
अमेरिकाले पाकिस्तानलाई कास्मिरको मुद्दामा सधैं साथ दिएको इतिहास रहेको छ । सन् १९९८ मा भारतले न्युक्लियर परीक्षण गर्दा अमेरिकाले भारतलाई आर्थिक नाकाबन्दी गरेका थिए । अमेरिकी सरकारले भारतलाई उत्तर कोरिया जस्तै व्यवहार गर्न सुरु गरेका थिए । तर, भारतका पूर्वपरराष्ट्रमन्त्री जसवन्त सिंह र अमेरिकी अधिकारी स्ट्रोवको १८ पटकको वार्ताले अमेरिका भारत सम्बन्धलाई एउटा नयॉ युगमा प्रवेश गराएको देखिन्छ । जसबन्त सिंहले आप्mनो पुस्तक ‘ए आउनर टु नेसन’मा यसको सुन्दर चित्रण गरेका छन् ।
सन् २००५ मा डा. मनमोहन सिंहको प्रधानमन्त्रीत्व कालमा भारत अमेरिकी सम्बन्ध एउटा नयाँ युगमा प्रवेश गरेको देखिन्छ । सन् २००५ मा भारत अमेरिकी न्यसक्लियर सम्झौता भारत अमेरिकी सम्बन्धको कोसेढुंगा हो । आप्mना पुस्तक ‘एकसिडेन्टल प्राइममिस्टर’मा डा. सिंहले न्युक्लियर सम्झौतालाई आप्mनो कार्यकालको सबभन्दा ठूलो सफलताका रूपमा स्वीकार गरेका छन् । अर्थात् न्युक्लियर सम्झौतापश्चात् भारत अमेरिकी सम्बन्ध एउटा नयाँ युगमा सुरु गरेको छ । अमेरिकासँग भारतको व्यापारिक कारोबार १६० विलियन अमेरिकी डलरको रहेको छ । अमेरिकामा भारतीय मूलका नागरिक ५ मिलियन नागरिक बसोबास गर्ने गरेका छन् । सिलकन भ्यालीलगायत अमेरिकाको उच्च संस्थानमा भारतीय मूलका नागरिकको यथेस्ट उपस्थिति रहेको छ । साथसाथै भारत र अमेरिकाको सम्बन्ध हिन्द महासागरीय क्षेत्रमा अधिक रहेको छ । क्वार्डमा भारत र अमेरिका साझा मञ्चमा रहेका छन् ।
इतिहासको उतारचढावमा भारतले असंलग्न परराष्ट्र नीतिका लागि आवश्यक मूल्य पनि चुकाएको देखिन्छ
सामरिक जानकार डा. राजामोहनले क्वार्डको सक्रियतामा जापान, अस्ट्रेलिया भारत र अमेरिकाको सहभागितालाई उच्च मूल्यांकन गरेका छन् । आप्mनो पुस्तक ‘समुद्र मन्थन’मा उनले क्वार्डको विकास र संरचनामा तत्कालीन जापानी प्रधानमन्त्री ओवेको दूरदृष्टिलाई प्रशंसा गरेका छन् । अर्को शब्दमा भन्ने हो भने भारतको भौगोलिक बनोटले हिन्द महासागरीय क्षेत्रमा भारतको भूमिकालाई अमेरिकी कूटनीतिले उच्च महत्व दिएको छ । ८० को दशकमा भारत र चीनको अर्थतन्त्रको आकार लगभग एकनासकै भए तापनि वर्तमान परिवेशमा चीनको आर्थिक आकार भारतभन्दा पाँच गुणा अधिक रहेको छ ।
स्टायन्डफ्रड विश्वविद्यालयका अमेरिकी विद्वान् प्लसवेरीले आप्mनो पुस्तक ‘हन्ड्रेड एयर म्याराथुन’मा भारत र चीनको आर्थिक असमानताका कारण अमेरिकी नीति भएको ठहर गरेका छन् । सन् १९४९ मा विश्व अर्थतन्त्रको २ प्रतिशत भाग मात्रै चीनको जीडीपीले ओगटेको थियो । ३० वर्षसम्म माओले चीनलाई संसारबाट अलग राखेका थिए । सन् १९७९ मा निक्सनको चीन यात्रा हुनु र हेनेरी किसिन्जरको प्रखर कार्ययोजना हुनु चीनका लागि ठूलो अवसर थियो । पश्चिमा पुँजी, प्रविधि र बजारलाई प्रचुर मात्रामा दोहन गर्दै चीनले आज संसारको दोस्रो आर्थिक शक्तिका रूपमा अमेरिकालाई हरेक मञ्चमा चुनौती दिइरहेको छ ।
प्लसवेरीले चीनको महत्वाकांक्षालाई नयाँ ढंगले व्याख्या गरेका छन् । अर्थात् राष्ट्रपति सीले चीनको मध्यकालीन नक्सालाई प्रत्यारोपण गर्न उद्दत देखिएको छ । सीमासँग जोडिएको १४ वटा छिमेकीसँग चीनको विवाद रहेको छ । वुल्फ वारियर डिप्लोम्यासीका आधारमा हरेक मुलुकलाई दबाबमा राख्न चीन सक्रिय रहेको छ । चीनले आप्mनो कूटनीतिमा प्रचार (प्रोपगायन्डा) मा बढी जोड दिएको छ । वर्तमान चिनियाँ परराष्ट्रमन्त्री अमेरिकाका राजदूत हुँदा कोरोना भेरियन्ट अमेरिकी सैनिकले पैmलाएको कुराले सबैलाई तरंगित बनाएको थियो । चीनको पूर्वीय चीन सागर, दक्षिण चीन सागर र हिन्द महासागरीय क्षेत्रमा दिनप्रतिदिन दबाब बढिरहेको अवस्थामा अमेरिकी भारत सम्बन्धमा निकटता र मधुरता बढेको देखिन्छ ।






