बैतडी । ‘लक डाउन’ जारी रहेको बेला भारतबाट आएर अलपत्र परेका ६४ जनाको उद्धार गरिएको छ । बैतडीको एकमात्र नाका झुलाघाट सिल भएपछी ट्यूबबाट महाकालि नदि तरेर नेपाल आएका उनीहरुको उद्धार गरिएको हो । दोगडाकेदार गाउँपालिका, खोचलेक प्रहरी चौकी र दोगडाकेदार गाउँपालिका वडा नं ४ को संयुक्त पहलमा उनीहरुको उद्धार गरिएको खोचलेक प्रहरी चौकीका इञ्चार्ज शंकरदत्त भट्टले जानकारी दिए ।
महाकाली नदीमा ट्यूबबाट आएका बझांङ, डोटी र बैतडीको सिगासका स्थानीय बासिन्दाको उद्धार गरिएको गाउँपालिका अध्यक्ष चक्र कार्कीले बताए ।
‘लक डाउन’ पश्चात आएका नागरिक दोगडाकेदार गाउँपालिका ४ को बसाली क्षेत्रमा अलपत्र परेका थिए । ४२ जनाको बुधवार राती २२ जनाको बिहीवार उद्धार गरिएको हो । उनीहरुलाई जीप, टिपर र ट्रकमा राखेर सम्बन्धित स्थानीय तहको जिम्मा लगाईएको दोगडाकेदार ४ का वडाअध्यक्ष सुरेन्द्रप्रसाद भट्टले बताए । उद्धार गरिएका उनीहरुलाई सम्बन्धित स्थानीय तहले १४ दिनसम्म क्वारेन्टाइनमा राख्ने जनाईएको छ ।
‘लक डाउन’का बेला असुरक्षित रुपमा ट्युबको माध्यमबाट नआउन स्थानीय प्रशासनले आग्रह छ ।
सिमानाका जुलाघाट बन्द भएकाले उनिहरुलाई भारतिय ट्यूब चालकहरुले रातिको समयमा महंगो पैसा असुलेर ट्यूवबाट महाकालि नदि तराएका हुन् । ट्यूव चालकहरुलाई ६ सय देखि १ हजार भारतीय रुपयाँ सम्म तिरेर उनिहरु नेपाल आएको बुझिएको छ ।
भारतबाट आएका ब्यक्तिहरुलाई स्थानिय तहले स्थापना गरेको क्वारेन्टाईनहरुमा बस्न नमानीरहेको सुर्नया गाउँपालिका अध्यक्ष बीर बहादुर बिष्टले बताए । उनले खाने, बस्ने, सरसफाई गर्ने ब्यवस्था गर्नुका साथै निशुल्क वाईफाई चलाउने ब्यवस्था गर्दा समेत क्वारेन्टाईनमा बस्न नमानिरहेको बताए । बुधबार राति १जना क्वारेन्टाइनबाट भागेको समेत उनले बताए । भागेका ब्यक्तिलाई फेरी सम्पर्कमा ल्याई क्वारेन्टाइनमै राखिएको उनले बताए ।






