राजा र राजमुकुट भन्ने शब्द नै अहिले कतिपय व्यक्तिका निम्ति एलर्जी बन्न थालेको छ । तर, तिनै राजाद्वारा संरक्षित राज्यको शासनसत्ता सञ्चालन गर्न पाउँदा उनै व्यक्ति आफूलाई गौरवान्वित र बहादुर ठान्छन् । स्वार्थकै निम्ति सत्तामा पुग्छन्, सत्ताकै निम्ति परस्परमा कुस्ती खेल्छन्, लुरे लुतेलाई पच्छार्छन्, छिर्के दाउ लगाएरै भए पनि बलवान् विपक्षीलाई ढाल्छन्, अन्त्यमा सत्ता ओगटेर रमाउँछन् । लोकतन्त्रको उपहास गर्न लजाउँदैनन् । यस्तै मानसिकताका व्यक्ति बराबर सत्तामा पुग्दा यथावस्थाको सत्ता परिवर्तन पनि जनताका निम्ति एलर्जी बन्दै आएको छ ।
वास्तवमा श्रीपेच र राजाको राज्यसँग नङ र मासुजस्तो सम्बन्ध हुन्छ भन्ने कुरा सर्वविदितै छ । नेपालको सन्दर्भमा यद्यपि श्रीपेच र राजा नै यथावत् सत्तामा छन् भन्ने सुन्दा अधिकांशलाई आश्चर्य लाग्न सक्ला । तथापि, यो व्यावहारिक यथार्थ हो । श्रीपेच राजाको छहारी र शोभा हो, राजा राज्यको सर्वाधिकार सम्पन्न व्यक्ति हुन् भन्ने कुरामा त अधिकांशकै सहमति हुन सक्ला । व्यक्तिको राज्य सम्बद्ध काम कर्तव्य र पदीय भूमिका सर्वाधिक उच्च हुने भएकैले त्यस्तो व्यक्तिलाई राजा मान्ने चलन राज्यको उत्पति सँगसँगै प्रचलनमा आएको हो । यस मान्यताले हेर्दा राज्यको सर्वाधिकार सम्पन्न व्यक्तिलाई राजा तथा उसको आश्रय वा छहारीलाई श्रीपेच भन्न अत्युक्ति हुँदैन । यसर्थ नेपाल सार्वभौम सत्ता सम्पन्न स्वतन्त्र राज्य हो, यसलाई सञ्चालन गर्ने परम्परागत संस्थागत राजतन्त्रको अन्त्य भए पनि अस्थायी एवं गैरसंस्थागत तर कार्य सञ्चालन गर्ने राजाको अहिले पनि अन्त्य भएको छैन ।
सर्वाधिक शक्तिशाली कार्यकारी प्रधानमन्त्री अहिले राजाको भूमिकामा छन् भने उनको शोभा र संरक्षणको प्रतीक सम्माननीय राष्ट्रपति प्रधानमन्त्रीकै श्रीपेच मानिन्छन् । मर्यादा, काम कर्तव्य र अधिकारसँग जोडेर मात्र यस आलेखमा यस्तो नामकरण गरिएको हुँदा यसलाई अन्यथा नठानिदिन स्तम्भकार सबैमा अनरोध गर्छ । वर्तमान राजा र श्रीपेचकै भूमिकामा आलेखलाई केन्द्रित गराउने प्रयास गर्दछु ।
राजा वा कार्यकारी प्रधानमन्त्री दुवैको कामकर्तव्य र अधिकार जनविश्वासमा आधारित हुनुपर्छ । यी दुईमा हुने मुख्य भिन्नता संस्थागत राजाले वंशानुगत जनविश्वास पाएका हुन्छन् भने कार्यकारी प्रधानमन्त्रीले कार्यक्षमता र व्यवहारमा आधारित जनविश्वास प्राप्त गर्छन् । दुवैको टेक्ने धरातल र समाउने सहारा भनेको जनता नै हो । यसको साथै दुवैको कामकर्तव्य पनि देश र जनताको सेवा नै हो । कार्यकारी प्रधानमन्त्री कसरी छानिन्छन् ? भन्ने कुरा सबैलाई अवगतै छ । यद्यपि, कतिपय मुलुकमा अहिले पनि कार्यकारी राजा वा सम्मानका राजा कायमै छन् । नेपालको राजसंस्था १५ वर्षअघि नै हटिसकेको पनि सर्वविदितै छ । मुलुकको सर्वोच्च शासक राजा छान्ने प्रचलन कसरी प्रारम्भ भयो भन्ने कुरा यहाँ स्मरण गर्न सान्दर्भिक ठान्छु । राजाको विश्वकै सबैभन्दा पहिलो र दोस्रो छान्ने प्रचलन यहाँ दृष्टान्तका लागि उल्लेख गर्दछु ।
स्मरण रहोस् विश्वको सबैभन्दा पुरानो वा ईपू करिब ५ हजार वर्ष पहिलेको सुमेरियन सभ्यतास्थल (जुन अहिलेको युरोपस्थित क्यास्पियन सागर दक्षिणको भूभाग)बाट आर्यहरू विश्वको सबै क्षेत्रतर्फ फैलँदै गए । पूर्वतर्फ आएका आर्यहरू अहिलेको इराकमा पर्ने टिग्रिस र युफेट्स नदी किनार हुँदै सिन्धुघाटी सभ्यता स्थलसम्म आइपुगेर सयौं वर्ष बसोबास गरी सिन्धु नदी किनारको उर्वरा क्षेत्रमा सिन्धुघाटी सभ्यता विकसित गरे । विस्थापित हुने क्रममै सिन्धुघाटी सभ्यतास्थलबाट भारत वर्षको गंगा नदीसम्म आर्यहरू फैलिएर बसोबास गर्न लागे । करिब २५०० तिर गंगा नदी आसपासको क्षेत्रमा आर्यहरूको बसोबास घना बन्दै गएपछि तत्कालको मध्यदेशका बासिन्दा आर्य समूहकै थिचोमिचोमा पर्न थाले, जनसंख्या बढ्दै जाँदा बलियोले निर्धोलाई, हुने खानेले कमजोरलाई हेप्ने र थिचोमिचो गर्ने क्रम बढ्दै गयो । यस्तो अवस्थाले व्यक्ति व्यक्तिबीच विभेद बढ्दै निम्जो र निमुखोलाई जीवनयापन गर्न नै कठिन पर्दै गएपछि जनताले नै मनुलाई आफ्नो देशको पहिलो राजा चुने ।
नेपालको सन्दर्भमा श्रीपेच र राजा नै यथावत् सत्तामा छन् भन्ने सुन्दा अधिकांशलाई आश्चर्य लाग्न सक्ला
करिब इपू २३०० तिर मनु मध्य देशको राजा बनेका थिए । पछि अरू पनि मनु नाम गरेका राजा भएपछि, मध्यदेशको पहिलो राजालाई प्रथम मनु भन्न थालियो । मनुस्मृति उनै पहिलो मनुले रचना गरेको मानिएको छ । राज्यमा सबै समान हुन्छन् । एकले अर्कोलाई अन्याय र थिचोमिचो गर्न पाउँदैन । राज्यका नीतिनियम सबैले पालन गर्नुपर्छ । नियम उल्लंघन गर्नेले दण्ड सजाय पाउँछ । दण्डसजाय पनि अपराधको प्रकृतिअनुसार फरकफरकै हुनुपर्छ भन्ने नियम मध्यदेशमा प्रथम मनुले लागू गरेका थिए । यही सिलसिलामा मानिसले अपनाउनुपर्ने सामाजिक व्यवहार, पारस्परिक सम्बन्ध, अवलम्बन गर्नुपर्ने संस्कार पद्धति तथा आचरण, राज्यका नीतिनियम र नैतिकतासम्बन्धी अर्ती उपदेशात्मक बुँदालाई समेटेर प्रथम मनुले मनुस्मृतिको रचना गरेका थिए । मनुस्मृति अहिले पनि उतिकै अनुसरणीय देखिएको छ ।
मनुले राज्य गरेको समयमा मध्यदेशको राजधानी अलगै तोकिएको थिएन । मनुका आठ भाइ छोरा र एउटी ‘इला’ नाम गरेकी छोरी थिइन् । मनुले आठ भाइ छोरा र छोरी इलालाई पनि अलगअलगै राज्य स्थापित गरिदिएका थिए । छोरापट्टिका सन्तानपछि सूर्यवंशी मानिँदै आए भने छोरी इलापट्टिका सन्तान पछि चन्द्रवंशी मानिँदै आए । इलातर्फकै सन्तानमध्येको एक हाँगा पछि ग्वाला भनी चिनिन थाल्यो । त्यही ग्वाला समूहमा पछि महाभारतको युद्धताका श्रीकृष्णको जन्म भएको ऐतिहासिक मान्यता छ । मनुकै छोरापट्टिको मध्यदेशका राजाले पछि मध्यदेशको राजधानी अयोध्या तोकिदिए । आर्य वंशको मात्र होइन विश्वकै पहिलो राज परम्पराको प्रचलन मनुबाटै प्रारम्भ भएको थियो । मनुकै २०औं पिँढीका राजा ‘मान्धाता’, ३१औं पिँढीका हरिशचन्द्र, ४५औं पिँढीका भगीरथ, ६१औं पिँढीका राजा दिलिप र ६४औं पिँढीका दशरथ अध्योध्याका प्रतापी राजा मानिन्छन् । ४५औं पिँढीका राजा भगीरथकै नामबाट गंगानदीलाई भागिरथी गंगा भनी नामकरण गरिएको थियो । मनुको वंशका ९४औं पुस्ताका राजा सान्तनुकोे शेषपछि पाँच पाण्डवको पालामा करिब इपू ९०० तिर महाभारतको युद्ध भएको इतिहासविद्को मान्यता छ तर यो पछिल्लो तथ्यगत मान्यता धार्मिक परम्परासँग भने मेल खाँदैन ।
यसैगरी, विश्वकै दोस्रो पुरानो राजाको व्यवस्था मेसोपोटामियाका जनताले गरेका थिए । त्यसताकाको मेसोपोटामिया अहिलेको इराक राज्य हो । मेसोपोटामियाली जनताले करिब इपू २२०० तिर पहिलो बादशाहको छनोट गरेका थिए । उनकै तेस्रो पिँढीका बादशाह उर–हम्मुले इ.पू. २१५४ मा विश्वकै सबैभन्दा पुरानो कानुन बनाई मेसोपोटामियामा राज्य सञ्चालन गरेका थिए । भारत वर्षस्थित गंगा नदीको आसपासको मध्यदेश र मेसोपोटामियाको तत्कालीन राज्य सञ्चालन प्रक्रिया पनि जनताकै सेवा, सुविधा र रक्षात्मक प्रक्रियामै आधारित थियो । फरक यति नै थियो कि मनुले मनुस्मृतिकै आधारमा राज्य सञ्चालन गरे, मेसोपोटामियाका बादशाहले कानुनै बनाएर राज्य गरे । मेसोपोटामियाकै पहिलो कानुन अहिले परिमार्जित अवस्थामा विश्वका सबै मुलुकले प्रचलनमा ल्याएका छन् । जनताले चुनेका राजा नै पछिसम्म कतिपय वंशानुगत हुँदै आए, कतिपयको वंश टुंगिएपछि नजिककै हाँगावलाका व्यक्ति राजा बने जुन संस्थागत राजखलकका रूपमा अहिले पनि केही देशमा कायमै छन् ।
उपरोक्त दृष्टान्तले के देखाउँछ भने राजाको व्यवस्था शासकका रूपमा होइन सुरक्षा र सेवाको दृष्टिकोणले भएको हो । परम्परागत राजाले होस् वा अहिलेको कार्यकारी राजाले जनताको सेवासुविधा, सुरक्षा, समानतालाई मध्य नजर राखी राज्य सञ्चालनका नीतिअनुरूपै राज्य सञ्चालन गरी देश र देशवासीको उत्थानमा क्रियाशील बन्नुपर्छ । अहिलेका हाम्रा कार्यकारी राजा र उनकै संरक्षणको प्रतीक मानिने श्रीपेच वा सम्माननीय राष्ट्रपतिको पछिल्लो समयको भूमिका जनचाहना मुताबिकै छ-छैन ? यस’boutमा पनि सामान्य चर्चा गरौं ।
राजाकैजस्तो आफन्त र नजिकका व्यक्तिको झुन्ड सल्लाहकारका रूपमा वरिपरि राख्ने वर्तमान राष्ट्रपतिको चाहना हो वा आवश्यकता वा शोभा
हाम्रो संविधानले नै कार्यकारी सम्माननीय प्रधानमन्त्री र सम्माननीय राष्ट्रपतिको पदीय दायित्व र भूमिका’bout स्पष्ट उल्लेख गरेको छ । संविधानमा उल्लेखित व्यवस्थाअनुसारको पदीय दायित्व सम्पादन गर्नु राष्ट्रपति र प्रधानमन्त्रीको कर्तव्य हो । पदीय दायित्व प्रभावकारी ढंगले सञ्चालन होस् भन्ने उद्देश्यले नै राज्यले ऐन कानुनको व्यवस्था गरेको हुन्छ । तर, यही कानुन कार्यान्वयन एवं पालना गर्ने क्रममा पछिल्लो समयमा कार्यकारी प्रधानमन्त्री र राष्ट्रपतिप्रति नै प्रश्न उठ्न थालेको छ । यो व्यक्तिको पदीय दायित्व सम्पादन गर्ने प्रवृत्तिको दोष हो । यसरी राष्ट्रकै कार्यकारी राजाकै भूमिकामा राखिएका प्रधानमन्त्री साँच्चिकै राजा नै बनेका हुन् वा कार्यकारी प्रशासक मात्रै हुन् ? यो प्रश्नको जवाफ प्रधानमन्त्रीमै निहित छ ।
पछिल्लो समयका प्रधानमन्त्री राजा मात्र होइन सम्राटकै भूमिकामा देखापर्दै आएका छन् । कानुनसम्मत चल्ने कार्यकारी प्रधानमन्त्रीले सर्वोच्च जनप्रतिनिधिमूलक संस्था संसदलाई नियन्त्रणमा राखी इशारामा चलाउने दुस्साहसै गर्न सक्दैनन् । जनचाहनालाई सांसद सदस्य संसदमा खुलस्त रूपमा राख्ने त्यस’boutमा छलफल र बहस गरी निष्कर्षमा पुग्ने र कार्यान्वयनको निम्ति सत्तालाई निर्देशन दिने तथा संसदद्वारा प्राप्त निर्देशनअनुसारकै कार्य कार्यकारी प्रधानमन्त्रीले गर्ने गराउने लोकतान्त्रिक व्यवस्थाको विशेषता हो । यसरी प्रक्रियागत ढंगले कार्य गर्दा आफ्नै टिकाटिप्पणी र अलोचना हुने संन्त्रासले कार्यकारी प्रधानमन्त्रीले नै संसद्लाई नियन्त्रणमा राखी इसारामा नचाउँदै ल्याए । प्राचीनकालका राजा महाराजाले मात्र यस्तो कार्य गर्थे । तर, अहिले लोकतन्त्रमा प्रधानमन्त्रीले नै यस्तै गरिरहेका छन् ।
मुलुकको श्रीपेच मानिएका सम्माननीय राष्ट्रपतिकै भूमिका आफैंमा आलोचक बन्दै आएको । विशेष परिस्थितिबाहेक अन्य सामान्यतया सबै प्रकारका प्रक्रियागत कार्य राष्ट्रपतिले, कार्यकारी प्रधानमन्त्रीकै सल्लाह र सिफारिसअनुसार गर्ने हाम्रो संवैधानिक व्यवस्था हो । तर, राष्ट्रपतिलाई नै कार्यकारी प्रधानमन्त्रीले आफ्नो कठपुतली बनाई नचाएको दृष्टान्त विगतमा देखिएकै हो । अहिलेका सम्माननीय राष्ट्रपति विगतको जस्तो कठपुतली त नबन्लान् भन्ने अपेक्षा राखिएको छ । तथापि, मुलुकको सक्रिय राजाकै जस्तो आफन्त र नजिकका व्यक्तिको झुन्डलाई सल्लाहकारका रूपमा वरिपरि राख्ने वर्तमान सम्माननीय राष्ट्रपतिको चाहना आवश्यकतामा आधारित हो वा शोभा मात्र ? यो सवालको जवाफ राष्ट्रपतिका परराष्ट्र मामिला सल्लाहकार डा. सुरेशचन्द्र चालिसे, आर्थिक सल्लाहकार डा. चिरन्जीवी नेपाल, कानुनी सल्लाहकार बलराम कुँवर तथा राजनीतिक सल्लाहकार सुनिलबहादुर थापाकै भूमिकाले भविष्यमा बताउला ।






