नेपालगन्ज । कोबिड १९ (नोबल कोरोना) भाईरसको संक्रमण फैलिन नदिनको लागि उच्च सर्तकता अपनाउदै नेपाल भारतले आ–आफ्नो सीमा क्षेत्र शिल गर्दै लकडाउन गरेको बेला नेपाल–भारत सीमा क्षेत्रको दश गजामा चार महिनाको बच्चासहित १६ जना नेपाली बुधबार साँझदेखि अलपत्र परेका छन् ।
भारतको गुजरातबाट आएका उनीहरु मध्ये २ नावालक, २ महिलासहित १६ जना भारतमा काम गर्दै आएको ठाँउमा लकडाउन हुने भन्दै बन्द गरिएपछि उनीहरु जोखिम मोलेरै नेपाल आएको बताउछन् । उनीहरु मध्ये एकजना सुर्खेतको र १५ जना दैलेखका हुन् ।
दैलेखका मनबहादुर थापाले सुरतबाट आएको बताउदै दुई दिनदेखि भोकै अपलपत्र परेको बताए । आफुहरु क्वारेन्टाईमा बस्न राजी हुँदा पनि स्थानीय प्रशासनले चासो नदेखाएको उनको गुनासो छ ।
अलपत्र परेका उनीहरुलाई बाँके प्रदेश सभा सदस्य कृष्णा केसी नमुनाको पहलमा निर्माण भएको कोबिड–१९ रिलिफ फण्ड बाँकेको पहलमा खाना, स्थानीय प्रहरीको पहलमा खाजाको व्यवस्था गरिएको थियो ।
यसैबीच बाँकेको प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले सीमा क्षेत्रमा अलपत्र परेका उनीहरुको बिहीबार साँझसम्म व्यवस्थापन गरिने जानकारी दिए ।
उनीहरुलाई बिहीबार साँझ सुरक्षा निगरानीमा कर्णाली प्रदेश पठाउने तयारी भएको प्रशासन स्रोतले जनाएको छ ।






