जुम्ला । पातलो र दुब्लो शरीर, काँचो उमेर, झट्ट हेर्दा अपरिपक्व ठिटो तर कस्तुरीजस्तो उसको चाल, हिमालझैं अटल साहस, हिमचितुवाजस्तो गति । उदीयमान धावक दलबहादुर कुँवर नयाँ वर्षसँगै २० वर्ष पुगे । उनका केही दुःखका कथा छन्, केही हर्षका अनुभूति र उपलब्धि ।
भुरिचुला चुचुरो र पानसय पाटनसँग उसको अनमोल साइनो छ । डाँफे र कस्तुरीसँगको सामिप्यता पनि । ‘प्रकृतिसँगको घुलमिल र आफ्नो सपनाप्रतिको लगावले दलबहादुरले अहिले नेपालमा विभिन्न ठाउँमा हुने अल्ट्रा म्याराथनमा तहल्का पिटिरहेको छ,’ दलबहादुरका बुवा गोर्ख कुँवरले सुनाए । ‘सानैदेखि दौडकै लागि मरिमेट्ने स्वभाव थियो, ज्यानको प्रवाहसमेत गर्थेन, ऊ भिरमा पूmलेको फूलजस्तै हो, अहिले पनि बजारमा खान बस्न पनि धौधौ छ तर उसको प्रतिभा सुन्दर छ,’ उनले थपे ।
बिहान बिहान दलबहादुर जुम्लाका भिर पाखामा दौडिरहेका भेटिन्छन् । कपालमा हिउँ जमेको हुन्छ तर उसको सपना सेलाएको हुँदैन । अविरल बगिरहने कर्णालीजस्तै छ उनको दौडयात्रा । अटल भुरिचुला हिमालजस्तै छ उनको चाहना । न विपन्नताले छेक्न सकेको छ न त जटिल भूगोल र वातावरणले । जुम्लाका दुर्गम भेरिखोला सर्मीका दलबहादुर कुँवर चौंथो जुम्ला–रारा अल्ट्रा म्याराथनमा पनि चम्किए । एकपछि अर्को अल्ट्रा म्याराथनमा उनले प्रभाव जमाइरहेका छन् ।
सोमबार सम्पन्न चौथो जुम्ला–रारा अल्ट्रा म्याराथनमा ५१ जनालाई उछिन्दै प्रथम भएका छन् । अमेरिकाका दुई, भारतका एक, आयरल्यान्डका एक र बेलायतका एक जना खेलाडीले भाग लिएको चौथो जुम्ला–रारा अल्ट्रा म्याराथनमा दलबहादुरले बाजिमारेका छन् । दलबहादुर अहिले गिनिज बुक अफ वल्र्ड रेकर्डर एभरेस्ट म्यारथन ह्याट्रिकर हरिबहादुर रोकायाको प्रशिक्षणमा जोडिएका छन् ।
सन् १९९७ देखि २००१ सम्म लगातार तीनपटक एभरेस्ट म्याराथन जितेर विश्व कीर्तिमानी कायम गरेका धावक हरिबहादुर रोकाया अल्ट्रा म्याराथनमा स्थापित नाम हो । रोकायाद्वारा प्रशिक्षण भइरहेको कर्णाली स्पोर्ट क्लबबाट उत्पादित खेलाडि देशविदेशमा अब्बल साबित गरिरहेका छन् ।
कर्णालीको प्रसिद्व चन्दननाथ मन्दिरदेखि रारा तालको छेउ हुटुसम्मको ४९ किलोमिटर दूरीमा अल्ट्रा म्याराथन सोमबार सम्पन्न भएको हो । म्याराथनको उद्घाटन कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले गरे । उद्घाटन समारोहमा बोल्दै उनले कर्णालीमा खेलकुद पर्यटनको सम्भावना उच्च रहेको बताए । यसअघि तीनवटा संस्करण पूरा गरेको जुम्ला रारा अल्ट्रा म्याराथनको चौंथो संस्करण यस वर्ष लोकतन्त्र दिवसको अवसरमा पारेर सुरु गरिएको आयोजक संस्था कर्णाली स्पोर्ट क्लबका अध्यक्ष सरोज शाहीले बताए ।
‘म्याराथनले कर्णालीको पर्यटन प्रवद्र्धनका साथै पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा टेवा पुग्नेछ,’ उनले भने, ‘खलंगादेखि सुरु भएर डाँफे लेक, न्यौरीघाट, चौथा, डाब, चुचेमारा, मिलीचौर हुँदै रारातालको छेउ हुटुमा पुगेर अन्तिम बिन्दु तोकिएको छ ।’ उनका अनुसार म्याराथनमा विभिन्न विधामा गरेर २८ जना खेलाडीलाई पुरस्कृत गरिनेछ । खेलाडीले अनलाइनबाटै नाम दर्ता गराउन सक्ने र क्यूआर कोडबाटै शुल्क भुक्तानी गर्ने व्यवस्था मिलाएको थियो ।
विदेशी खेलाडीका लागि ७ हजार, नेपाली धावकका लागि ३ हजार शुल्क तोकिएको थियो । म्याराथनमा प्रथम हुनेलाई १ लाख रुपैयाँ, प्रमाणपत्र र मेडल, द्वितीय हुनेलाई ७५ हजार नगद, प्रमाणपत्र र मेडल, तृतीय हुनेलाई ५० हजार नगद, प्रमाणपत्र र मेडल प्रदान गरिनेछ । यसैगरी चौथो र पाँचौं हुनेलाई २०÷२० हजार, नगद प्रमाणपत्र र मेडल प्रदान गरिने आयोजक कर्णाली स्पोट्र्सका अध्यक्ष शाहीले जानकारी दिए ।
‘परिवार विपन्नता, अभावसँग संघर्ष गरिरहेको छ, ठूलो लगानीमा पढ्ने वातावरण छैन तर सिंगो ज्यान नै दाउमा राखेर दौडका लागि होमिएको छु,’ दलबहादुरले राजधानीसँग भने, ‘भुरिचुलाजस्तो अग्लो भिरमा गरेको अभ्यासले प्रतिस्पर्धीलाई १ घण्टा पछि पार्दै विजयको माला पहिरिन मद्दत पु¥यायो ।’
‘कलिलो उमेरमै राम्रो लक्षण देखाएका छन्, आगामी खेल जीवन चम्किलो हुने भन्ने विश्वास लिएका छौं, निरन्तरताको कामना गर्दछौं,’ तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईले भने ।






