रामेछाप । घरको पिँढीमा गालामा हात लगाएर टोलाइरहेका भेटिन्छन्, लालबहादुर तामाङ । जुनारको बोटसँग लुकामारी खेल्दै रमाउँदै आएका उनको दिनचर्या अहिले आगलागीले खरानी बनाएको जुनारको सुकेका ठुटा गन्दै बितेको छ ।
उनी जुनार किसान मात्रै होइनन् । व्यवसायी पनि हुन् । दिविनी कृषि तथा उन्नत पशुपालन फार्ममार्फत जुनार खेती गरेर आफूलाई ‘हिरो’ बनाउने प्रयास गर्दै आएका लालबहादुरलाई एक हुर्को आगोले ‘जिरो’ बनाइदियो । जुनार खेतीबाटै जीविकोपार्जन गर्दै आएका लालबहादुर आफू सडकमा आएको बताउँछन् । ‘लाखौं आम्दानी दिने बगैंचा डढेर सकियो,’ लालबहादुरले भने ।
रामेछाप नगरपालिका वडा नं ६ ओख्रेनीका लालबहादुरको जुनार बगैंचा सिलिंगे चेप्टे ढुंगा सामुदायिक वनमा लागेको डढेलोले सखाप बनाइदियो । लालबहादुर तमाङको जुनार बगैंचासँगै फत्तबहादुर खड्काको १ रोपनीमा रहेको जुनार बगैंचासमेत आगलागीले सखाप भयो ।
जुनारका चिचिलासँग खेल्ने यस बेलामा लालबहादुर तामाङ र फत्तबहादुर खड्का पुर्पुरोमा हात लगाएर बस्न बाध्य छन् । आगलागीका कारण ओख्रेनीका यी दुई किसानले आफ्नो आम्दानीको स्रोत मात्रै गुमाएका छैनन्, उनीहरूको सपनासमेत भताभुंग भएको छ ।
फत्तबहादुरकी छोरी सरु खड्काले आफ्ना आमाबाबुको सपना आगलागीले खरानी बनाएको बताइन् । ‘मेरा बाबाआमाको मेहेनत र बुढेसकालको बाँच्ने आधार क्षणभरमै सकियो,’ सरुले भनिन् । यति धेरै नोक्सान हुँदासमेत आफूलाई कुनै पनि निकायले वास्ता नगरेको गुनासो गर्छन्, लालबहादुर । ‘घर, गोठ जल्दा सम्बन्धित निकायबाट राहत पाइन्थ्यो, चामल, भाँडाकुँडा, लुगाफाटो दिनेको ओइरो लाग्थ्यो, मेरो त जुनारको बोट जल्यो, जीविकोपार्जन गर्ने बाटो बन्द भयो,’ लालबाहादुरले भने, ‘स्थानीय सरकार, कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालगायत सबै संस्थाका प्रतिनिधि केही गर्न सकिँदैन मात्रै भन्छन् ।’
व्यावसायिक रूपमा फलफूल खेती गर्दै आएका लालबहादुरका ३ सय २० बोट जुनार, १६ बोट कागती, जापानिज हलुवाबेत, जापानिज नास्पाती, रैथाने नास्पाती, आँपलगायतका उत्पादन दिँदै आएका फलफूल डढेर नष्ट भएका छन् । लालबहादुरका अनुसार एक बोट जुनारबाट वर्षमा कम्तीमा ५ हजारको आम्दानी हुन्थ्यो । उनले वार्षिक ८ देखि १० लाख रुपैयाँको कमाइ गर्दै आएका थिए ।
तमाङ र खड्काको पीडामा केही हदसम्म भए पनि मलम लगाउने योजना रामेछाप नगरपालिकाको छ । रामेछाप नगरपालिकाका नगरप्रमुख लबश्री न्यौपानेले विपद् व्यवस्थापन समितिको बैठक बसेर निर्णय गरेपछि मात्रै के–कति सहयोग गर्ने भन्ने’bout बोल्न सकिने बताए । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ रामेछापका प्रमुख थीरलाल गैरेले पनि केही सहयोग गर्नसक्ने बताए । गैरेले भने, ‘पीडितको माग र नगरपालिकाको सिफारिस आएमा अन्य कृषकको योजनाबाट कटौती गरेर भए पनि केही बजेट व्यवस्थापन गर्न सकिन्छ ।’
कार्यविधिअनुसार रोपनीको १ हजार ५ सय रुपैयाँ मात्रै सहयोग गर्न सकिने कृषि ज्ञानकेन्द्र रामेछाप–दोलखाकी प्रमुख निर्मला गुरुङले बताइन् । ‘उहाँ (लालबहादुर) को १६ रोपनी क्षेत्रफलको जुनार खेती जलेर नष्ट भएको छ, उहाँले माग गरेमा २२ हजार ५ सय सहयोग गर्न सकिन्छ,’ गुरुङले भनिन्, ‘तर पालिकाले सहयोग गरेमा कृषि ज्ञान केन्द्रले सहयोग गर्न मिल्दैन ।’





