आइतबार सम्पन्न उपनिर्वाचनको परिणामले पुराना दलको हैसियतमाथि प्रश्न उठाएको छ । ६ महिनाअघि स्थापना भएको राष्ट्रिय स्वतन्त्र पार्टीप्रति जनताले जुन विश्वास गरे । यसले यो संकेत गर्छ यदि पुराना दल र तिनका नेताले चरित्र सुधार्नुपर्छ भन्ने मनन् रेहेनन् भने तिनलाई सक्किनबाट कसैले रोक्न सक्ने छैन । ४ मंसिरको चुनावमै राम्रो छनक देखाएको स्वतन्त्र पार्टीले उपचुनावमा पाएको जनसमर्थन चामत्कारिक रह्यो । यस किसिमको परिणामा आउनुमा स्वतन्त्र पार्टीका नेताप्रति जनताले गरेको भरोसा त हो नै कांग्रेस र एमाले जस्ता पुराना पार्टीप्रतिको वितृष्णालाई पनि बिर्सन सकिँदैन ।
कांग्रेसको पकड क्षेत्र भनिने तनहँु क्षेत्र नम्बर १ मा दुई साताअघि मात्रै स्वतन्त्र पार्टी प्रवेश गरेका स्वार्णिम वाग्लेले कांग्रेसका उम्मेदवारभन्दा १५ हजार बढी भोट ल्याए भने चितवनमा कांग्रेस र एमालेले पाएको मत जोड्दा रवि लामिछानेले पाएभन्दा ३३ हजार कम हुन्छ । बारा २ मा प्राविधिक रूपमा उपेन्द्र यादव विजयी भए पनि उनको प्रभाव घटेको प्रस्टै देखियो । भएभरका दलको समर्थनमा उठेका यावदले एक्लै भिडेका शिवचन्द्र यादवभन्दा जम्मा पाँच हजार बढी मत ल्याए ।
अन्य दलसँग साँठसाँठ नगरेको भए उपेन्द्र यावदको संसद सपनामा फेरि पनि ठेस लाग्ने रहेछ । पुराना पार्टीका कतिपय शीर्ष नेताको अभिव्यक्ति सुन्दा लाग्छ यो परिणामले उनीहरूलाई अझै पनि गम्भीर बनाएको छैन । ‘यो खहरे हो’ भन्ने शैलीका टिकाटिप्पणीमै उनीहरू मख्ख परिरहेका छन् । आफ्ना उम्मेदवार पराजित भएभन्दा पनि रवि लामिछानेमाथि लागेको अभियोगहरू गन्दै बस्दा आनन्द महसुस् गर्छन् अझै । उपनिर्वाचनकै सन्दर्भमा यो स्थिति किन आयो भनेर ठूला भनिने दलले समीक्षा त पक्कै गर्लान् । त्यो समीक्षा पार्टी र आपूmलाई पनि सुधार्ने उपायसहितको हुन्छ वा औपचारिकतामै सीमित अब हेर्न बाँकी नै छ ।
उपनिर्वाचन परिणामकै सन्दर्भमा कांग्रेस, एमाले र माओवादीले उम्मेदवारलाई भोट नहालेको भन्दै कारबाहीको डन्डा चलाए भने आश्चर्य हुने छैन । आफ्ना नेताले चुनाव हारेका ठाउँका कार्यकर्तालाई चुनाव सकिएपछि कारबाही गर्नु कांग्रेस र एमालेको पुरानै शैली हो । यसो भन्दै गर्दा स्वतन्त्र पार्टीप्रति पनि चुनौतीको भारी थपिएको छ । उसका अगाडि आफूले पाएको लोकप्रिय मत मात्रै छैन । कांग्रेस, एमाले, माओवादी जस्ता गाउँगाउँमा संगठन भएका पार्टी पनि छन् ।
उपनिर्वाचनमा पनि गठबन्धन गरेर हिंडेका पुराना दल आगामी दिनमा पनि स्वतन्त्र पार्टीविरुद्ध गतिलै गठबन्धन गरेर हिंड्ने निश्चित जस्तै छ । तसर्थ स्वतन्त्र पार्टीलाई विगतमा अन्य पार्टीले गर्दै आएका गल्ती दोहो¥याउने छुट छैन । तत्कालै जनअपेक्षा पूरा गर्न त सम्भव नहोला जनताले चाहे जस्तो काम गर्ने प्रयास मात्रै ग¥यो भने पनि पाँच वर्षपछि हुने चुनावमा फेरि पनि हाइ हाइ हुन खास संघर्ष गर्नुपर्ने छैन ।