रोम । गत जनवरीदेखि चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९)का कारण अहिले विश्व नै नराम्रोसँग थिलिएको छ । पछिल्लोपटक कोरोनाको गन्तव्य युरोप बनेको छ । युरोपमा पनि इटाली र स्पेन सबैभन्दा बढी प्रभावित छ । भीडभाड जन्य ठूला कार्यक्रमहरू ठप्प पारिएका छन् । यी दुई राष्ट्रमा कोरोना रोकिने अवस्था नआएपछि अहिले विश्व नै लकडाउनमा छ । तर, पनि यो कोरोना भाइरस रोकिने छाँटकाँट छैन । एक्कासि यी दुई राष्ट्रमा कसरी कोरोनाको प्रभाव बढ्यो ? यस विषयमा प्रश्न उठ्न थालेको छ । यस विषयमा अनुसन्धान थालिएको छ ।
इटालीको बेरगामो सहरका मेयर जर्जियो गोरीले यूईएफए च्याम्पियन्स लिगमा एटलान्टा र भ्यालेन्सियाबीचको खेल नै इटाली र स्पेनमा कोरोनाको प्रभावले महामारीको रूप लिएको दाबी गरेका छन् । फेब्रुअरी १९ को त्यस खेलसम्म इटालीमा यस भाइरसबाट कसैको पनि मृत्यु भएको थिएन । त्यसको तीन सातापछि सात दिनको अन्तरमा बेरगामोमा मात्र ३ हजार ३३ जनाको यो भाइरसको संक्रमणकै कारण मृत्यु भइसकेको छ । इटालीमा बेरगामो सहर र स्पेनमा क्याटलान क्षेत्र यो भाइरसबाट बढी प्रभावित सहर हो । अहिले यही सहरमा कोरोनाबाट बढी प्रभावित रहेको छ । ‘त्यो खेल मानवीय जैविक बमजस्तै रह्यो । त्यतिबेला कसैले पनि अनुमानसमेत गर्न सकेनन् । यो खेल झन्डै ४४ हजार दर्शकले हेरे । त्यतिबेला भाइरस संक्रमित दर्शक रंगशालामा पुगेको हुनुपर्छ ।
कम्तीमा पनि ४० हजार यसबाट संक्रमित भएको हुनुपर्छ ।’ मेयर गोरीले भने, ‘यो खेल हेरेपछि दुवै टिमका समर्थक आआफ्नो सहर फर्के । एकले अर्कोलाई भाइरस सार्ने काम गरे । धेरैभन्दा धेरै समर्थक कोरोना भाइरसको संक्रमणमा आए । तिनैले आफ्नो परिवारमा सारे ।’ त्यहाँका स्थानीय सिनियर चिकित्सकहरूले पनि त्यही खेल नै इटाली र स्पेनमा वास्तवमै जैविक बम भएको ‘अफ द बल’लाई बताएका छन् । मिलानको खेलपछि एटलान्टाका गोलरक्षक मार्को स्पोर्टटेलो पनि भाइरसबाट संक्रमित भएपछि क्वारेन्टाइनमा छन् । मिलानको खेलपछि भ्यालेन्सियाका एक तिहाइ खेलाडी र खेल पदाधिकारी पनि भाइरसबाट संक्रमित भएका छन् । भ्यालेन्सियाका समर्थकले कोरोना भाइरस आफूसँगै स्पेन लगेको अनुमान गरिएको छ ।
आफ्नो मैदान तयार नभएपछि सानसिरोमा खेलिएको खेलमा ४–१ को प्रभावशाली जित निकाल्दै एटलान्टा पहिलोपटक च्याम्पियन्स लिगको क्वार्टर फाइनलमा पुग्न सफल भएको थियो । यही खेलपछि मात्र इटालीमा दर्शकविहीन बन्द रंगशालामा खेल्नेक्रम सुरु भए पनि स्थिति असमान्य बन्दै गएपछि खेल स्थगित भएको छ । अहिले इटाली र स्पेनसँगै युरोपका सबै लिग स्थगित छन् । ती रोकिएका खेल कहिले सुरु हुने टुंगो छैन । यी दुई देशमा कोरोनाको प्रभाव पनि रोकिएका छैनन् । यो विश्व खेलकुदको क्यालेन्डर पनि प्रभावित हुने भएको छ ।