आर्थिक वृद्धिदर २.१६ प्रतिशतमा खुम्चिने

काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयले आर्थिक बर्ष २०७९–८० मा नेपालको आर्थिक वृद्धिदर २ दशमलव १६ प्रतिशत कायम हुने प्रक्षेपण गरेको छ । सरकारले चालू आर्थिक वर्षको बजेटमा ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेको छ ।

तथ्यांक कार्यालयले विश्व बैंक, एसियाली विकास बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषले अनुमान गरेभन्दा कम आर्थिक वृद्धि हुने अनुमान मंगलबार जारी गरेको प्रतिवेदनमा उल्लेख छ । विश्व बैंक र एडीबीले चालू आवमा आर्थिक वृद्धि ४ दशमलव १ प्रतिशत हुने अनुमान गरेका छन् ।

राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार उपभोक्ता मूल्यमा १ दशमलव ८६ प्रतिशत आर्थिक वृद्धि रहनेछ । तथ्यांक कार्यालयका निर्देशक ईश्वरीप्रसाद भण्डारीले चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर उपभोक्ता मूल्यमा १ दशमलव ८६ प्रतिशत र आधारभूत मूल्यमा २ दशमलव १६ प्रतिशत हुने प्रारभिक अनुमान रहेको बताए ।

‘आगामी दिनमा सरकारी खर्च र निर्माणजन्य क्षेत्रमा खर्च बढ्छ भन्ने अनुमानको आधारमा जीडीपी वृद्धिदर १ दशमलव ८६ प्रतिशत रहने अनुमान गरेका हौं,’ निर्देशक भण्डारीले भने, चालू आर्थिक वर्षको नौ महिनाको यथार्थ र अबको ४ महिनाको अनुमानित तथ्यांकको आधारमा वृद्धिदरको लक्ष्य सार्वजनिक गरिएको हो ।’ अर्थतन्त्रमा अपेक्षा गरेभन्दा फरक वातावरण निर्माण भएको खण्डमा भने आर्थिक वृद्धिदर अनुमान गरेभन्दा कम हुने उनले बताएका छन् । आर्थिक वृद्धिदर कमजोर भए पनि नेपालको अर्थतन्त्रको आकार भने बढेको छ । नेपालको अर्थतन्त्रको आकार चालू आर्थिक वर्षमा ५३ खर्ब ८१ अर्ब पुग्ने भएको छ ।

अर्थतन्त्रको आकार ५३ खर्ब ८१ अर्ब पुग्ने

नेपालको प्रतिव्यक्ति आय १३ सय ९९ डलर

कोभिड–१९ का कारण आर्थिक वर्ष २०७६–७७ मा नेपालको आर्थिक वृद्धिदर २ दशमलव ४ प्रतिशतले ऋणात्मक भएको थियो । आर्थिक वर्ष २०७७–७८ मा ४ दशमलव ५ प्रतिशतको आर्थिक वृद्धिदर हासिल भएकोमा गत आर्थिक वर्ष २०७८–७९ मा ५ दशमलव ३ प्रतिशत आर्थिक वृद्धिदर भएको केन्द्रीय तथ्यांक कार्यालयको तथ्यांक छ ।

आर्थिक वृद्धि कम भए तापनि जीडीपीको आकारमा बढोत्तरी भएका कारण चालू आर्थिक वर्षमा नेपालीको प्रतिव्यक्ति आय वार्षिक १ हजार ३ सय ९९ अमेरिकी डलर अर्थात् १ लाख ८२ हजार ६ सय ८३ नेपाली रुपैयाँ पुगेको छ । राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७९–८० को वार्षिक राष्ट्रिय लेखा तथ्यांकसम्बन्धी प्रतिवेदनअनुसार गत वर्ष नेपालीको प्रतिव्यक्ति आय १ लाख ६९ हजार ३८ रुपैयाँ थियो ।

कार्यालयले तेस्रो त्रैमाससम्मको यथार्थ गणना तथा चौथो त्रैमासिक अनुमानित आर्थिक क्रियाकलापलाई आधारमा मानेर तयार गरेको तथ्यांकले निर्माण र खानी क्षेत्रमा आएको गिरावटका कारण समग्र आर्थिक वृद्धिदरमा प्रभाव देखिएको जनाएको छ ।

चालू आवको कुल गार्हस्थ उत्पादनमा प्राथमिक क्षेत्रले २४ दशमलव ६ प्रतिशत योगदान दिने प्रारम्भिक अनुमान विभागको छ । चालू आवमा धानलगायत बर्खे बालीको उत्पादन बढे पनि हिउँदे बालीका साथै दूध, अण्डा तथा मासु उत्पादनमा भएको सामान्य ह्रासले यस क्षेत्रमा उल्लेखनीय वृद्धि हुन नसकेको कार्यालयले जनाएको छ ।

जीडीपीमा सेवा क्षेत्रको योगदान ६२ दशमलव ४ प्रतिशत रहने प्रक्षेपण गरिएको छ ।

सेवा क्षेत्रमा थोक तथा खुद्रा व्यापार, आवास तथा भोजन सेवा, यातायात तथा भण्डारण, सूचना तथा सञ्चार वित्तीय तथा बिमा क्षेत्र, घरजग्गा कारोबार, पेसागत तथा प्रशासनिक व्यावसायिक सेवा, सार्वजनिक प्रशासन तथा रक्षा, शिक्षा, स्वास्थ्य र अन्य सेवा पर्छन् ।

चालू आर्थिक वर्ष २०७९–८० मा १८ औद्योगिक क्षेत्रमध्ये उद्योग, निर्माण, खुद्रा व्यापार, गाडी तथा मोटरसाइकल सेवा क्षेत्रको वृद्धिदर घट्ने प्रक्षेपण गरिएको छ । उद्योगको वृद्धिदर २ दशमलव शून्य ४ प्रतिशत, निर्माण र खुद्रा व्यापारको २ दशमलव ६२ प्रतिशत र गाडी तथा मोटरसाइकल सेवा क्षेत्रमा २ दशमलव ९६ प्रतिशत ऋणात्मक रहने प्रक्षेपण गरेको छ ।

जीडीपीमा प्राथमिक क्षेत्रको २४ दशमलव ६ प्रतिशत, द्वितीय क्षेत्रबाट १२ दशमलव ९ प्रतिशत योगदान र सेवा क्षेत्रबाट ६२ दशमलव ४ प्रतिशत योगदान दिने अनुमान छ । । कृषि क्षेत्रबाट नेपालको कुल गार्हस्थ्य उत्पादनमा २४ दशमलव १२ प्रतिशत तथा गैरकृषि क्षेत्रबाट ७५ दशमलव ८८ प्रतिशत योगदान रहेको कार्यालयले जनाएको छ । खानी तथा उत्खनन क्षेत्रले जीडीपीमा शून्य दशमलव ५१, उद्योग क्षेत्रको योगदान ५ दशमलव ३२, विद्युत् ग्यासको १ दशमलव ६४ र निर्माण क्षेत्रबाट प्रतिशत जीडिपीमा योगदान दिने कार्यालयले अनुमान गरेको छ ।

चालू आवमा वित्तीय तथा बिमा क्षेत्रले ७ दशमलव ३७ प्रतिशत, घरजग्गा कारोबार सेवाले ८ दशमलव ३७ प्रतिशत, पेसागत वैज्ञानिक तथा प्राविधिक क्रियाकलाप क्षेत्रले शून्य दशमलव ९७ प्रतिशत, प्रशासनिक तथा सहयोगी सेवाका क्रियाकलापबाट शून्य दशमलव ७२ प्रतिशत, सार्वजनिक प्रशासन तथा रक्षा क्षेत्रबाट ८ दशमलव १५ प्रतिशत योगदान दिएका छन् ।

त्यसैगरी, शिक्षा क्षेत्रले ८ दशमलव २२ प्रतिशत, स्वास्थ्य तथा सामाजिक कार्यबाट १ दशमलव ९२ प्रतिशत, अन्य सेवाका क्रियाकलापबाट शून्य दशमलव ५९ प्रतिशत योगदान दिएको देखिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 176 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नेपालगञ्जमा कर्फ्यू उलङघन गर्दै प्रदर्शन जारी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मतदान गर्न युवा पुस्ता उत्साहित