सुनकोसीको पानीले तिर्खा मेटाउँदै तीन गाउँपालिका

उदयपुर । खानेपानीको चरम समस्या झेल्दै आएका उदयपुरका तीनवटा गाउँपालिकाले अब भने सहज रूपमा सुनकोसीबाट लिफ्टिङ आयोजनामार्फत तिर्खा मेटाउने भएका छन् ।

खानेपानीको समस्या झेल्दै आएका ताप्ली, लिम्चुङबुङ र रौतामाई गाउँपालिकाका स्थानीयलाई राहत दिन सुनकोसी लिफ्टिङ खानेपानी आयोजना सञ्चालन गरिएको हो ।

स्थानीय मुहानबाट ल्याएको पानी खान र अन्य घरायसी प्रयोजनका लागि पर्याप्त थिएन । २०७२ सालको भूकम्प तथा जलवायु परिवर्तनको असरले त्यहाँका पानीका मुहान सुक्दै गगएका थिए । जलवायु परिवर्तनले तीन पालिकाका झन्डै तीन दर्जनबढी ससाना खोला सुकेपछि खानेपानीको समस्या बढेको हो । खानेपानीको मुहान नै सुकेपछि स्थानीयमा चिन्ता थपिँदै गएको थियो ।

सुनकोसीबाट लिफ्टिङ प्रविधिबाट ३ किलोमिटर १ सय ९८ मिटर माथि उचाइमा सुनकोसीको पानी तानेर तीन गाउँपालिकामा खानेपानी पु¥याउन लागिएको हो । सुनकोसी नदीको किनारमा दुईवटा मुहानबाट सम्पवेल प्रणालीबाट पानी तान्ने योजना रहेको छ । स्किम नम्बर १ लिम्चुङबुङ गाउँपालिका–२ ताम्लिछा सुनकोसी ज्यामिरेघाटबाट आठ स्टेप माथि ३ किलोमिटर लिम्चुङबुङ गाउँपालिका–३ दोबाटे डाँडामा पम्पिङ गरी प्रतिसेकेन्ड १७ दशमलव ५ लिटर पानी तान्ने योजना रहेको छ ।

यसैगरी, सुनकोसीको दोस्रो मुहान ताप्ली गाउँपालिका–५ कुनैघाटबाट ७ स्टेप माथि ३ किलोमिटर ताप्ली गाउँपालिका–३ च्यानडाँडामा पम्पिङ गरी प्रतिसेकेन्ड १६ दशमलव ५ लिटर पानी तान्ने योजना रहेको छ । खानेपानी समस्याले गर्दा ताप्ली, लिम्चुङबुङ, रौतामाई गाउँपालिकावासी प्रत्येक वर्ष बसाइँ सर्ने गरेका छन् । सो सुनकोसी लिफ्टिङ आयोजना सञ्चालनमा आएपछि ताप्ली, लिम्चुङबुङ, रौतामाई र उदयपुरगढी गाउँपालिकाका ६ हजार ६ सय ५७ घरधुरीका ४२ हजार ९ सय ७० जनसंख्या लाभान्वित हुने आयोजनाका इन्जिनियर सुजित महतोको भनाइ छ ।

खानेपानी समस्या झेल्दै आएका ताप्ली, लिम्चुङबुङ, रौतामाई र उदयपुरगढी गाउँपालिकाका १ वडाका नागरिकले सुुनकोसी नदीको स्वच्छ पानी उपभोग गर्न पाउने भएका छन् । सुनकोसी लिफ्टिङ खानेपानी आयोजनाको कामले गति लिएपछि त्यस क्षेत्रका नागरिकले भोग्दै आएको समस्या समाधान हुने विश्वास लिइएको छ ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय विराटनगरले स्किम १ लिम्चुङबुङ गाउँपालिकामा ७७ करोड ५१ लाख ३४ हजार ८ सय ३२ रुपैयाँ २२ पैसा र स्किम २ ताप्ली गाउँपालिकामा ८१ करोड ४५ लाख २० हजार २ सय ५१ रुपैयाँ ८४ पैसा गरी जम्मा १ अर्ब ५८ करोड ९६ लाख ५५ हजार १ सय ८४ रुपैयाँ ६ पैसा लागतमा सुनकोसी लिफ्टिङ खानेपानी आयोजना सञ्चालन गर्न लागेको आयोजना कार्यालय विराटनगरले जनाएको छ ।

जलवायु अनुकूलित बृहत् खानेपानी आयोजना निर्माण गर्न लागेको आयोजनाबाट ताप्ली, लिम्चुङबुङको पूरै वडा, रौतामाई गाउँपालिकाको वडा १ देखि ३ सम्म र उदयपुरगढी गाउँपालिकाको एउटा वडामा खानेपानीको सुविधा पु¥याउने उद्देश्य रहेको छ ।

विभिन्न स्थानमा रिजर्भ ट्यांकी निर्माण गर्ने, पाइपका लागि नाला खन्ने, गार्ड हाउस निर्माण गर्ने तथा पाइप ल्याउनेलगायतका काम भइरहेको ताप्ली गाउँपालिकाका अध्यक्ष ढुंगराज विश्वकर्माले जानकारी दिए । सुनकोसी लिफ्टिङ आयोजना १ अर्ब ५८ करोड ९६ लाख ५५ हजार १ सय ८४ रुपैयाँको लागतमा ३० असार २०७९ मा सम्झौता भई आगामी ३० असार २०८२ सम्म निर्माण सम्पन्न गर्नेगरी मृत सन्जीवनी एचएम कन्स्ट्रक्सन जेभी काठमाडौंले निर्माणको जिम्मा लिएको छ ।

सो आयोजनाबाट ६ हजार ६ सय ५७ निजी तथा सार्वजनिक धारा जडान गरिने योजना रहेको आयोजनाका इन्जिनियर सुजित महतोले जानकारी दिए । स्थानीय खोला तथा खोल्सीबाट खानेपानीको उपभोग गर्दै आएकामा जलवायु परिवर्तनले खोला तथा खोल्सीमा पानीका स्रोत सुक्दै गएकाले सुनकोसीबाट पानी ल्याएर स्वच्छ खानेपानीको सुविधा गराउने उद्देश्य रहेको आयोजनाको उद्देश्य रहेको छ । सुनकोसी लिफ्टिङ खानेपानी आयोजनाअन्तर्गत १ प्रतिशत रकम स्थानीय उपभोक्ताले नगद जम्मा गर्नुपर्नेमा सो रकम पालिकाले जम्मा गरी दिएपछि आयोजना अघि बढेको हो ।

खानेपानीका लागि उपभोक्ताले १ प्रतिशतले हुन आउने १ करोड ५८ लाख ९६ हजार ५ सय ५२ रुपैयाँ गाउँपालिकाले जम्मा गरिदिएपछि आयोजना अघि बढेको ताप्ली गाउँपालिकाका अध्यक्ष विश्वकर्माले बताए । दुर्गम भौगोलिक धरातलमा रहेको स्थानीयवासीको आर्थिक अवस्था कमजोर रहेकाले पालिकाले रकम उपलब्ध गराइदिएको अध्यक्ष विश्वकर्माको भनाइ छ । सुनकोसीको पानी लिफ्टिङ प्रविधिद्वारा तानेर रिजर्भ ट्यांकीमा जम्मा गरी उपभोक्तालाई पाइपमार्फत घरघरमा वितरण गरिनेछ ।

उपभोक्ताले जम्मा गर्नुपर्ने १ प्रतिशत रकम पालिकाले उपलब्ध गराए पनि उपभोक्ताले ९ प्रतिशतबराबरको १४ करोड ३० लाख ६८ हजार ९ सय ६७ रुपैयाँको श्रमदान गर्नुपर्ने इन्जिनियर महतोले बताए । आयोजनाको पहिलो चरणमा प्रशोधन केन्द्र, सम्पवेल, क्यानेल, खानेपानी भवन, शौचालय, सुरक्षा भवन, ट्यांकी निर्माण र पाइप व्यवस्थापनको काम सुरु गरिएको निर्माण कम्पनीले जनाएको छ । सुनकोसी लिफ्टिङ खानेपानी आयोजना उदयपुरकै शवैभन्दा ठूलो खानेपानी आयोजना हो ।

तपाइको प्रतिक्रिया
(Visited 451 times, 1 visits today)

epaper

ताजा समाचार

छठ पर्वको दोस्रो दिन आज ‘खरना’