काठमाडौं महानगरपालिकाले सहरको सौन्दर्य कायम राख्न र आगजनीबाट जोगाउन भन्दै बिजुलीको पोलमा गुजुल्टिएका तार काटन सुरु गरेको छ । काठमाडौंलगायतका सहरमा विद्युत् प्राधिकरणले बिजुली वितरणका लागि गाडेको पोलमार्फत टेलिफोन, इन्टरनेट, केबल टेलिभिजनलगायतको तार वितरण गर्ने गरेको छ । प्राधिकरणलाई निश्चित शुल्क तिरेर त्यही पोलमार्फत उपभोक्ताको घर घरमा सेवा पु¥याउँदा उपभोक्ताले त राहत पाए होलान् तर, अव्यवस्थित तारकै कारण सहरको सौन्दर्य मात्रै गुमेको छैन । बेलाबेलामा आगजनीका घटना पनि भएका छन् । ढिलै किन नहोस् काठमाडौं महानगरपालिकाको समन्वयमा अब्यवस्थित तार हटाउने काम भएको छ । आफैंमा यो एउटा सकारात्मक प्रयास हो ।
बिजुलीका पोल ठाउँठाउँमा अव्यवस्थित तारको गुजुल्टो देखिनुमा सेवाप्रदायक संस्था, प्राधिकरण र काठमाडौं महानगरपालिका उत्तिकै दोषी छन् । तिनै संस्थाको बद्मासीका कारण बेलाबेलामा हुने आगलागीले सर्वसाधारणको करोडौं क्षति हुने गरेको छ । तार काटेर केही हदसम्म त समस्या समाधान होला तर समस्या समाधानको स्थायी उपाय भने होइन । यदि वास्तवमै सहरको सौन्दर्य कायम गर्ने हो भने तार व्यवस्थापनका लागि छुट्टै पोल वा अन्डरग्राउन्ड गर्नैपर्छ । छुट्टै पोल वा अन्डरग्राउन्ड तत्कालै सम्पन्न गर्न सकिँदैन र ती कामका लागि पनि प्राधिकरण, इन्टरनेट सेवाप्रदायकबीच समन्यवय हुनैपर्छ । नेपालमा सबैभन्दा ठूलो समस्या नै समन्य अभाव हुने गरेको छ । कतिपय काम यसरी पनि गरिन्छ । जहाँ समन्वय होइन् कानुनी छिद्र प्रयोग गरेर पनि गरिन्छ । बिजुलीको पोलमा गुजुल्टिएको अव्यवस्थित तार पनि समन्वय अभावको एउटा नमुना हो । निश्चित ठाउँको तार काट्नु मात्रै समस्या समाधान होइन भन्नेमा महानगरपालिका र केबुलप्रदायक संस्थासचेत हुनै पर्छ ।
पछिल्लो समय काठमाडौं महानगरपालिकाको नेतृत्व सहरको सौन्दर्य कायम राख्ने सन्दर्भमा आक्रामक हुन खोजेको देखिन्छ । काठमाडौंजस्तो सहरको मौलिकता कायम राख्न आक्रामक हुन खोज्नु आफैंमा राम्रो हो तर काम गर्ने क्रममा आइपर्न सक्ने व्यावहारिक कठिनाइ’bout पनि सचेत हुनैपर्छ । सहरको सौन्दर्य हराउनुको मूल कारण अव्यवस्थित तार मात्रै होइन भन्नेमा महानगरपालिका नेतृत्व सचेत हुनैपर्छ । सार्वजनिक सवारीसाधनको दूरवस्था, सामुदायिक विद्यालयको कमजोर प्रस्तुति, अव्यवस्थित बजार व्यवस्थापनजस्ता कारण सहरसहरजस्तो हुन सकेको छैन । दुई चार ठाउँको तार काटेर वा दुई चार ठाउँमा भ्वाङ परेको ठाउँमा बाटो टालेर क्षणिक लोकप्रियता हासिल गर्न त सकिएला यसले स्थायित्व दिँदैन । सीमित ठाउँका तार काटेर अस्थायी विकल्प खोज्नुभन्दा स्थायी उपाय खोज्ने हो भने महानरपालिकाको प्रतिष्ठा मात्रै आर्जन हुनेछैन सर्वसाधारणले पनि राहतको अनुभूति गर्नेछन् ।






