बझाङ । एक वर्ष अघिसम्म झनानादेखि थलारा गाउँपालिकाको कार्यालयसम्म पुग्न निकै समस्या थियो । सडकभरी ठूलाठूला ढुंगा र खाल्डाखुल्डी मात्रै थिए ।
तर, अहिले न सडकमा खाल्डाखुल्डी छन् न त ठूला ठूला ढुंगा नै । अहिले खाल्डाखुल्डी पुरेर र ठूला ठूला ढुंगा हटाएर सडक चिटिक्क पारिएको छ । एउटै पालिकासम्म पुग्ने सडक मात्रै नभई सबै वडामा पुग्ने शाखा सडकसमेत चिटिक्क पारिएको छ । यसका लागि ठाउँ ठाउँमा दक्ष जनशक्तिसमेत राखिएको छ ।
वडा नम्बर २ देखि ९ सम्म सबै वडामा शाखा सडक विस्तार गरिसकिएको छ । तीमध्ये वडा नम्बर २ देखि ८ सम्मका सबै शाखा सडकमा शाखा सडक सफा गराउने उद्देश्यले १८ जना व्यक्ति राखिएको थलारा गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर रोकायाले बताए । उनले भने, ‘वडा नम्बर १ मा सडक विस्तार हुन सकेको छैन । वडा नम्बर ९ मा सडक सफा गर्नका लागि मानिस राखिएको छैन, तीबाहेकका सबै वडामा सडक सफा गर्न मानिसहरू परिचालन गरेका छौं । वडा नम्बर २ मा ४ जना, वडा नम्बर ३ र ४ मा तीन–तीन, वडा नम्बर ५, ६, ७, ८ मा दुई–दुई जना व्यक्ति राखिएको छ ।’
उनले थपे, ‘एक जनाले तीन किलोमिटर सडक सफा गर्नुपर्ने हुन्छ । यसको निगरानी पालिकाले गर्ने गरेको छ । यसरी सडक सफा गर्ने मानिस राखेका कारण अहिले सडकमा खाल्डाखुल्डी पनि त्यति छैनन् । पहिला सडकमा ससाना ढुंगाहरु थुप्रै हुन्थे । सडकभरि खाल्डाखुल्डी समेत त्यत्तिकै हुन्थे । जसका कारणले सवारीका साधन दुर्घटना हुन सक्ने खतरा थियो । अहिले त्यस्तो छैन । सबै शाखा सडक सफा र चिटिक्कै परेका छन् ।’
त्यसो त त्यस क्षेत्रमा जिप चलाउँदै आएका गणेशबहादुर पाण्डेले पहिलेको भन्दा अहिले शाखा सडक राम्रो भएको प्रतिक्रिया दिए । उनले भने, ‘पहिला गाउँपालिकाका शाखा सडकमा फोरह्वल हाल्नुपर्ने, गाडीको पट्टा टुट्ने अवस्था थियो । तर, अहिले त्यो अवस्थाको अन्त्य भएको छ । अहिले सडकमा खाल्लाखुल्डी छैनन् । सडकमा हुने ढुंगा पनि हटाइएको छ । पहिले ढुकढुक भएर सवारी साधन चलाउनुपथ्र्यो तर अहिले ढुक्क भएर सवारी साधन चलाउन पाइएको छ ।’
शाखा सडक सफा गर्न कार्यपालिकाले निर्णय गरेर मानिस परिचालन गरेको हो ।
थलारा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिद्धराज पण्डितले भने, ‘हामीले शाखा सडक सफा गर्ने मानिसलाई प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत रहेर राखेका हौं । एक जना व्यक्तिले सय दिन काम गर्नुपर्ने हुन्छ । सय दिनसम्म दैनिक आठ घण्टा काम गर्नुपर्ने नीति रहेको छ । अथवा एक दिनमा ४ घण्टा काम गरेर अर्को दिनमा ४ घण्टा पनि काम गर्न सक्छन् । एक दिन काम गरेवापत ६ सय ८० रुपैयाँका दरले पारिश्रमिक पाउने व्यवस्था रहेको छ । यसको निगरानी पालिकाका प्राविधिक, जनप्रतिनिधि तथा वडा सदस्यले समेत गर्न सक्नेछन् । लामो समय भारतमा मजदुरी गरेर घर फर्केकाहरू अहिले शाखा सडक सफा गर्ने काममा आबद्ध रहेका छन् ।’
सडक सफा गर्ने काममा लागेका करण नेपाली केही वर्षअघि लामो समय मजदुरीका लागि भारत बसेका थिए । अहिले सामान्य काम घरमा नै पाएपछि आफू भारत नगएको उनी बताउँछन् ।
‘एक छाक खानाको जोहो हुने भएपछि को जान्छ विदेश ? आफ्नो जन्मभूमि, जन्मदिने बुबा, आमा, जीवन संगिनी, छोराछोरीलाई छोडेर भारतमा जाने कुरो हुँदैन । विदेश जानु भनेको रहर नभएर बाध्यता हो । यसरी गाउँघरमा नै काम पाए कसैले पनि बिदेसिनु पर्दैन,’ नेपालीले भने ।