बर्दिया । कोरोना भाइरसको महामारीबाट सुरक्षित रहन यहाँका पालिकाहरुले विभिन्न किसिमका उपायहरु अपनाउन थालेका छन् । गाउँगाउँमा गएर भारतलगाएत अन्य मुलुकबाट आएका व्यक्तिहरुको खोजी गर्ने कार्यसँग अब एक पालिकाबाट अर्को पालिका जोडने सिमा पनि पालिकाहरुले बन्द गर्न थालेका छन् ।
गाउँघरमा लकडाउनको अवज्ञा गर्दै केही मानिसहरु एक ठाउँबाट अर्को ठाउँमा आवतजावत गरिरहेको हुँदा पालिका प्रवेशको सिमा नै बन्द गर्नु परेको बताइएको छ । जिल्लाको मधुवन नगरपालिकाले ठाकुरबाबा नगरपालिकासँगको सिमा बन्द गरेको छ । मधुवन नगरपलिकाको वडा नं १ ले डल्ला गाउँ प्रवेश गर्ने सडकमा बार लगाएर आवतजावत ठप्प पारेको छ । ठाउँठाउँमा सडकमा मुढा तेर्साइएको छ । मधुवन नगरपालिका वडा नं १ का अध्यक्ष प्रर्शुराम चौधरीले समाजिक सञ्जालमार्फत आफनो वडामा प्रवेश गर्ने सिमा बन्द गरिएको जनाएका छन् ।
यसैगरि बारबर्दिया नगरपालिकाले एउटा पुलमा ताला लगाएर दुई पालिकाबिचको सिमा लक गरेको छ । बारबर्दिया नगरपालिका वडा नं ४ ले कुसुम्माघाटको झुलुंगे पुलमा ताला लगाएर आवागमन बन्द गरेको छ । यो पुलले बारबर्दिया नगरपालिका र मधुवन नगरपालिकालाई जोडने गर्छ । आवश्यक परे आफनो नगरपालिका जोड्ने अन्य नाका पनि बन्द गरिने बारबर्दिया नगरपालिकाले जनाएको छ । जिल्लाका अन्य पालिकाहरुले पनि आवतजावतमा कडाइ गरेका छन् । अत्यावश्यक काममा हिडेका वाहेक अन्य व्यक्तिलाई आवतजावतमा रोक लगाइएको छ ।
राजापुर नगरपालिकाका विभिन्न सडकमा पनि बार लगाएर आवतजावतमा रोक लगाइएको छ । कोरोना भाइरसको महामारीलाई फैलन नदिन आवागमनमा कडाई गर्नु परेको पालिकाहरुले जनाएका छन् । पालिकाहरुले नागरिकहरुलाई अनावश्यकरुपमा त्रासमा नरहन, सरकार तथा पालिकाहरुले जारी गरेको आदेश पालना गर्न, अनावश्यक भ्रम नफैलाउन आग्रह गरेका छन् ।
सामाजिक सञ्जालमार्फत स्थानिय सरकार प्रमुखहरुले यो महामारीविरुद्धको लडाईमा सबैले साथ दिन र सजगता आग्रह गर्ने गरेका छन् । नगरबासीको स्वास्थ्य प्रति निकै आफुहरु निकै संवेदनशिल रहेको र सोही अनुसार काम गरिरहेको ठाकुरबाबा नगरपालिकाका प्रमुख घननारायण श्रेष्ठले बताएका छन् ।
कोरोनाविरुद्ध लड्न सजकता अपनाउनुबाहेक अरु कुनै उपाय नरहेका रेडक्रसकर्मी प्रदीप भण्डारी बताउँछन् । संकमण आउन नदिनका लागि लकडाउनको नियम सबैले मान्नु पर्ने उनले बताए ।






