गुल्मी । गुल्मीका स्थानीय सरकारमा नयाँ जनप्रतिनिधिले शपथ ग्रहण गरेको एक बर्ष पुगेको छ । गत बर्षको वैशाख २९ गते सम्पन्न निर्वाचनमा विजयी उम्मेदवारहरुले जेठ ६ गते शपथ ग्रहण गरेका थिए । एक बर्षको अवधिमा जिल्लाका कतिपय पालिकाले उदाहरणीय काम गरेका छन् । पालिकाहरुले नीतिगत निर्णय मार्फत नागरिकलाई रहत दिने प्रयास गरिरहेका छन् । रेसुङ्गा नगरपालिकामा मेयर र उप–मेयरले पदभार ग्रहण गर्दाको दिन जन्म र मृत्यु दर्ता प्रमाण–पत्र घर–घरमै पु-याउने, विपन्न नागरिकको आँखाको निःशुल्क शल्यक्रिया गर्ने लगायतका निर्णयहरु ग-यो ।
स्थानीय सरकारका एक बर्ष
अहिले जन्म र मृत्यु दर्ता प्रमाण–पत्र घर–घरमै पुगेको छ । विपन्न नागरिकको मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया गरिएको छ । त्यसका साथै नगरपालिकाले तम्घास बजारको रि–पिचको काम सुरु गरेको छ । रेसुङ्गा बिमानिस्थल सुचारु गरेको छ । एसईमा ३.२ जिपिए भन्दा बढी अंक ल्याउने विद्यार्थीहरुको लागि कक्षा ११ र १२ मा नगरपालिकाभित्रैका विद्यालयमा अध्ययन गर्दा मासिक चार हजार उपलब्ध गराउने निर्णय गरेको छ । भने रेसुङ्गा बहुमुखी क्याम्पसलाई एक करोड उपलब्ध गराएको मेयर खिलध्वज पन्थीले जानकारी दिए ।
धुर्कोट गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षले पदभार ग्रहण गर्दाकै दिन प्रत्येक घरको बीमा गर्ने, गरिब, द्धन्द्धपीडित तथा विपन्न निश्चित विद्यार्थीको अध्ययन खर्च गाउँपालिकाले व्यहोर्ने एवम् अभिभावक गुमाएका बालबालिकाहरुलाई कक्षा १२ सम्म गाउँपालिकाले पढाउने निर्णय गरेका थिए । अहिले घरको बीमा गर्ने काम संचालन भइरहेको छ । अभिभावक गुमाएका बालबालिकाहरुलाई पाञ्चायन माध्यमिक विद्यालयमा अध्यापनको व्यवस्था मिलाइएको पालिका अध्यक्ष भूपाल पोखरेलले बताए । त्यसका साथै पालिकाले धुर्कोट कोतमा भौतिक संरचना निर्माण, पदमार्ग निर्माण, सेउघा–सिमाघाट–बर्बोट सडकलाई पक्की गर्नेमा पहलकदमी लगायतका काम पनि गरेको छ ।
इस्मा गाउँपालिकाले कक्षा १२ सम्म मासिक शुल्क नलिने गरी निर्णय गरेको छ । यसभन्दा पहिले कक्षा १० सम्मका परीक्षा शुल्क छुट गरिएको अहिलेका जनप्रतिनिधिहरुले कक्षा ११ र १२ को मासिक शुल्क समेत छुट गरेका हुन् । शिक्षिका सुत्केरी भएमा वा एक हप्तासम्म शिक्षकको उपस्थिति नरहेमा स्वयम् सेवक शिक्षकमार्फत शिक्षकको परिपूर्ति गर्ने व्यवस्था पालिकाले मिलाएको छ । नागरिकको सहजताका लागि पालिकाको कार्यालयमा नागरिक सहायता कक्षको स्थापना गरिएको छ भने सबै नागरिकको मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया गर्ने व्यवस्था मिलाइएको अध्यक्ष भगत सिंह खड्काले बताए । इस्माले ५५ बर्षभन्दा माथिका एक पुरुषहरुलाई भत्ता दिएको छ ।
चन्द्रकोट गाउँपालिकाले एक बर्षको अवधिमा पालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरेको छ । विपन्न ९८ परिवारलाई निःशुल्क मिटर बक्स उपलब्ध गराएको सूचना अधिकारी शिव ज्ञवालीले जानकारी दिए । चन्द्रकोट उज्यालो पालिका घोषणा गर्ने अन्तिम तयारीमा रहेको छ भने शान्तिपुर स्वास्थ्य चौकीमा मेडिकल अफिसर स्तरको डाक्टरमार्फत सेवा प्रवाह भइरहेको प्रवक्ता घनश्याम खरेलले बताए । विपन्न नागरिकलाई ५० प्रतिशत छुटमा स्वास्थ्य बीमा गराउने कार्यक्रमअन्तरगत हालसम्म तीन सयभन्दा बढीले सेवा लिएको गाउँपालिकाले जनाएको छ । पालिकामै सुत्केरी हुन नसक्ने महिलाहरुको लागि पनि पालिकाले निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेको छ । भने एउटा निःशुल्क स्वास्थ्य शिविर पनि सम्पन्न गरेको छ ।






