लन्डन । स्पेन तथा इंग्लिस क्लब म्यानचेस्टर युनाइेटडका गोलरक्षक डेभिड डी गेयाले कोरोना भाइरसविरुद्ध लड्नका लागि ३ लाख युरो सहयोग गरेका छन् ।
स्पेनमा पछिल्लोपटक झन् आक्रामक रूपमा बढिरहेको कोरोना भाइरस (कोभिड–१९) विरुद्ध लड्नका लागि गेयाले ३ लाख युरो सहयोग गरेका हुन् । यो रकम चिकित्सकीय सामान र कमजोर आर्थिक अवस्थाका परिवारलाई रहने बताएका छन् । स्पेनिस क्लब एट्लेटिको मड्रिडका पूर्वस्टार डेभिडको सहयोगमा कम्युनिटी अफ मड्रिडका अध्यक्ष इसाबेल डियाज एयुसोले विशेष धन्यवाद व्यक्त गरिन् । ‘धन्यवाद गेया जी । तपाईंको म्याड्रिडको समुदायलाई प्रदान गर्नुभएको ठूलो मद्दतले कोरोनासँग लड्नका लागि महŒवपूर्ण हुनेछ । सदा कृतज्ञ, हामी गौरवान्वित छौं ।’ उनले ट्वीट गरेकी छन् ।
यस्तै, उनको क्लब म्यानचेस्टर युनाइटेडले पनि कोरोनाविरुद्ध सहयोग गरेका छन् । म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओला र स्पेसिन क्लब बार्सिलोनाका कप्तान लियोनल मेस्सीले पनि स्पेनको क्याटलान क्षेत्रमा सहयोग गरेका छन् । पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो पनि आफ्नो देशका लागि सहयोग गरेका छन् । कोरोनाका कारण स्पेनमा ४ हजार ३ सय ६५ जनाले ज्यान गुमाइसकेका छन् । करिब ५८ हजारमा यसको लक्षण देखिएको छ । विश्वमा साढे ५ लाखको हाराहारीमा कोरोनाको संक्रमण फैलिएको छ । जसमा ज्यान गुमाउनेको संख्या करिब २४ हजार नाघिसकेको छ ।






