सर्लाही । सर्लाहीको हरिपुर्वा नगरपालिकामा विगत तीन महिनादेखि लागेको ताला अन्ततः आइतबार खुल्ने भएको छ । जिल्ला समन्वय समिति सर्लाहीका सभापति कौशल किशोर सिंहको नेतृत्वमा हिजाे शुक्रबार नगरपालिकामा लागेको ताला खुलाउने विषयमा ५ बुँदे सहमति भएपछि गत चैत्र १५ गतेदेखि लागेको ताला आइतबार खुल्ने निश्चित भएको हो ।
नेकपा एमालेका नेता विकाउ रायको नेतृत्वमा सर्वदलिय संघर्ष समितिले विभिन्न ९ बुँदे माग राख्दै नगरपालिकामा तालाबन्दी गरेको थियो । नगरपालिकामा ताल्चा लागेपछि सामाजिक सुरक्षा भत्ता वितरण, शिक्षक कर्मचारीको तलब भत्ता तथा नगरपालिकाको अन्य अत्यावश्यक काम समेत ठप्प भएको थियो ।
त्यति मात्रै हैन योजनाका कामहरु समेत अलपत्र परेका थिए । जसका कारण करोडौंको योजना समेत फ्रिज हुने अवस्थामा पुगेको छ । असार १० गते सम्म स्थानीय तहहरुले बजेट, नीति तथा कार्यक्रमहरु सार्वजनिक गर्नुपर्ने प्रावधान भएपनि नगरपालिकामा तालाबन्दी भएपछि चालू योजनाहरु समेत सम्पन्न हुन सकेनन् । योजनाहरु अलपत्र हुँदा नगरपालिकालाई ठुलो घाटा लागेको छ ।
नगरपालिकामा लागेको ताला खुलाउने विषयमा आफूले पटक पटक पहल गरेको जिल्ला समन्वय समिति सर्लाहीका सभापति कौशलकिशोर सिंहले बताए । उनले भने,‘नगरपालिकामा लागेको ताला खुलाउने विषयमा यसअघि पनि पटकपटक गरी तिन पटक छलफल भएको थियो । तर आजको छलफलमा सहमति जुटेको छ । आज मेरै नेतृत्वमा प्रदेश सांसदहरु जंगीलाल राय, कौशल किशोर राय, नगर प्रमुख, संघर्ष समितिका संयोज, नयाँ आएका प्रमुख प्रशासकीय अधिकृत सहितको छलफलबाट सहमति जुटेको हो ।’
जिसस प्रमुख सिंहले भने,‘सहमिति अनुसार आइतबार १० बजे नगरपालिकामा लागेको ताला खुलाउने, संघर्ष समितिले राखेको मागका सम्बन्धमा मेरै नेतृत्वमा बनेको पाँच दलिय कार्यदलले अध्ययन गरी प्रतिवेदन तयार गर्ने लगायतका रहेका छन् ।’
लामो समयदेखि नगरपालिकामा ताला लागेको कारण सेवाग्राहीहरु मारमा परेको भन्दै आइतबार ताला खुलाउन आफूहरु तयार भएको संघर्ष समितिका संयोजक विकाउ रायले बताए । उनले भने, ‘हामी हाम्रो मागबाट अलिकति पनि पछि हटेका छैनौं । तर सामाजिक सुरक्षाभत्ता, शिक्षकहरुको तलब, कर्मचारीहरुको तलब रोकिएको कारण हामी ताला खुलाउन सहमत भएका हौं ।’
यता नगरप्रमुख विनोद कुमार साहले नगरपालिकामा लागेको ताला खुलाउने विषयमा सहमति भएको बताए । उनले नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत आउने जाने भएको कारणले पनि ताला खुलाउन ढिला भएको बताए । उनले संघर्ष समिति समेत लचक नभएकोले पनि तालाबन्दी खुलाउने विषयमा ढिला भएको बताए । ‘उहाँहरुले राख्नुभएको माग पुरा गर्ने विषयमा हामीले पहिला पनि भनेका छौं, कि हामी क्रमशः माग पुरा गछौं । तर उहाँहरुले ताला खुलाउने कुरामा गम्भीर हुनु नै भएन । अहिले ढिलै भएपनि सहमति भएको छ । अब आइतबार ताला खुल्ने कुरामा म विश्वस्त छु ।’
पटक पटक तीन जना प्रमुख प्रशासकीय अधिकृत फेरिपछि हरिपुर्वा नगरपालिकामा भर्खरै उपसचिव भएका निमेष मिश्रलाई प्रमुख प्रशासकीय अधिकृत तोकियो । तर उनी नगरपालिकाको ताला नखुले सम्म हाजिर नहुने अडानमा रहे । शुक्रबार विहानै पनि प्रमुख प्रशासकीय अधिकृत मिश्र नगरपालिकामा हाजिर हुने कुरा थियो ।
तर नगरपालिकामा लागेको ताला नखुलेको र खुलाउनका लागि वार्ता भइरहेकोले उनी शुत्रबार हाजिर भएनन् । ताला खुलाउने विषयमा भएको बार्तामा सहमति जुटेपछि उनी आइबार हाजिर हुने नगरपालिकाले जनाएको छ ।






