काठमाडौं । अमेरिकामा बस्दै आएका नारायण अधिकारीले नेपाली चलचित्रकर्मीका लागि स्थापित चलचित्रकर्मी कल्याणकारी कोषमा एकलाख पाँच हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।
चलचित्र विकास बोर्ड अन्तर्गत रहेको कोषमा उनले बुधबार बेलुका बोर्डमै पुगेर सहयोग गरेका हुन् । बिपन्न चलचित्रकर्मीहरुलाई स्वास्थ्य उपचारमा सहयोग पुगोस भनेर कोषकी अध्यक्ष बसुन्धरा भुसालको अनुरोधमा आफुले सहयोग गरेको अधिकारीले बताए ।
अमेरिकामा रहेर पनि आफुले नेपाली चलचित्र हेर्दै आएको र कलाकारहरुको लागि यसरी सहयोग गर्न पाउँदा खुसी लागेको पनि अधिकारीले बताए । उनले नेपाली चलचित्रकर्मीको सहायता स्वरुप कल्याणकारी कोषमा थप सहयोग जुटाउन आफ्नो सक्रियता रहने पनि बताए । चितवनमा जन्मेका अधिकारीले आफू विगत चौध बर्षदेखि अमेरिकाको पेन्सिलवेनियामा रही व्यावसाय गर्दै आएको पनि जानकारी गराए ।
सो सहयोग प्रदान समारोहमा कोषका तर्फबाट अधिकारीलाई कदर पत्र प्रदान गरियो । कोषकी संयोजक बसुन्धरा भुषालले कोषलाई सहयोग गर्दा एकपटक मात्र नभई जुग जुग सम्मलाई सहयोग हुने बताईन् । बोर्ड अध्यक्ष भुवन केसीले सहयोगदाता अधिकारीले मनदेखि सहयोग गर्नु कल्याणकारी कार्य भएको बताए ।
सहयोग प्रदान कार्यक्रमममा बोर्ड सदस्यहरु राजु केसी, केएल बुढाथोकी, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुलीलगायतले अधिकारीको सहयोगको प्रसँसा गरे ।






