कपिलवस्तु । राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा बिहिबार कपिलवस्तुको बुद्धभूमि नगरपालिका ८ बनकट्टिमा रहेको बेलवा सामुदायीक वनमा वृक्षारोपण गरी दिवस मनाइएको छ । “सन्ततीका लागि सोचौ, समृद्धि र हरियालीका लागि रुख रोपौ” भन्ने नाराका साथ सब डिभिजन वन कार्यालय कपिलवस्तु गौतमबुद्धको आयोजनामा वृक्षारोपण गरिएको हो।
वृक्षारोपण गर्दै लुम्बिनी प्रदेश सभा सदस्य नवराज लामिछानेले प्रकृतीको संरक्षण तथा वातावरणलाई स्वच्छ राख्न बृक्षारोपण गर्नुपर्ने बताए। वन संर्वद्धन, प्रर्वद्धन र जलवायु परिवर्तन न्युनिकरणमा समेत टेवा पुग्ने भएकाले वृक्षारोपण आवश्यक रहेको बताउदै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।
कार्यक्रममा सब डिभिजन वन कार्यालय कपिलवस्तु गौतमबुद्धका डिविजन वन अधिकृत बेसिन्दराज सुवेदीले २६ हेक्टर क्षेत्रफलमा वृक्षारोपण गरिएको र त्यस मध्य १० हेक्टर जग्गा अतिक्रमणबाट प्रभावित क्षेत्रलाई समावेस गरिएको बताए। पछिल्लो समय स्थानीय सार्वजनिक जग्गा अभावका कारण बन क्षेत्र अतिक्रमण गरि विभिन्न संरचना बनाउने कार्य बढ्न थालेको बताउदै उनले बन भित्र कुनै पनि किसिमको संरचना तथा अतिक्रमणका कार्य हुन नदिन सबै सचेत हुनुपर्ने बताएका थिए ।