काठमाडौं । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ब्यँुताउन आवाज उठेको छ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा ब्यँुताउन सकिने जनाएका छन् ।
प्रचण्ड–माधव तयार, ओली प्रतिक्रियाविहीन
प्रधानमन्त्री प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष नेपालले हालै विभिन्न चार पार्टीलाई मिलाएर ‘समाजवादी मोर्चा’ गठन गरेको केही दिन नबित्दै ‘नेकपा’ ब्युँताउन सकिने बताएका हुन् । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली तयार भए नेकपा ब्युँताउन सकिने प्रचण्ड र नेपालको भनाइ रहेको छ ।
नेकपा ब्युँताउन प्रचण्ड र नेपाल सहमत भएको र सार्वजनिक रूपमै त्यसका लागि आह्वान गरे पनि एमाले अध्यक्ष ओलीले त्यसमा कुनै प्रतिक्रिया जनाएका छैनन् । यद्यपि एमालेभित्रको ठूलो पंक्ति नेकपा ब्युँताउन भने तयार रहेको छ ।
एमाले र माओवादी केन्द्रबीच एकीकरण भई ३ जेठ २०७५ मा नेकपाको घोषणा भएको थियो । तर, तीन वर्ष नबित्दै नेताहरूको सत्ता एवं कुर्सी मोहका कारण नेकपा विघटन भयो । २३ फागुन २०७७ मा नेकपा खारेज गरेर साबिकको एमाले र माओवादी केन्द्र ब्युँताउने सर्वोच्च अदालतको फैसला आयो ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले तत्कालीन नेकपालाई पुनः एकताबद्ध गर्नुपर्ने बताएका छन् । नेकपामा रहेका बेला भएका त्रुटि सच्याएर अघि बढ्नुपर्ने बताउँदै उनले समाजवाद स्थापनाका लागि कम्युनिस्ट पार्टीहरू एकीकृत हुनुपर्नेमा जोड दिए ।
आइतबार भक्तपुरमा आयोजित नारायणविलास जोशीको ३४औं स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले समाजवादी मोर्चा बनाएर वामपन्थीलाई एकताबद्ध गर्ने पहल सुरु भइसकेको बताए । गत २७ जेठमा भक्तपुरमा पुगेका एकीकृत समाजवादीका अध्यक्ष नेपालले नेकपा ब्युँताउन प्रस्ताव गरेको केही दिनपश्चात् भक्तपुरमै पुगेका प्रचण्डले समेत नेकपा ब्युँताउन प्रस्ताव गरेका हुन् ।
समाजवादी मोर्चा घोषणाको बेलामा पनि एकीकृत समाजवादीका अध्यक्ष नेपाल र आफूले फेरि नेकपातिरै फर्किनुपर्ने र फेरि पार्टीलाई एकताबद्ध गर्नुपर्ने प्रचण्डले उल्लेख गरे । कम्युनिस्ट शक्तिलाई एकताबद्ध गर्दा देशमा समाजवादको एउटा नयाँ यात्रा अघि बढ्न सक्छ भन्ने ठानेर आफूले तत्कालीन एमालेका अध्यक्ष ओलीसँग कम्युनिस्टलाई एकताबद्ध गरेको प्रचण्डले बताए । प्रधानमन्त्री प्रचण्डले सबै कम्युनिस्टले आफ्ना त्रुटि सच्याएर अघि बढ्नुपर्ने बताए ।
‘म अहिले कसैलाई दोषारोपण गर्न उभिएको छैन, कमरेड नारायणविलास जोशीप्रति श्रद्धा र सम्मान प्रकट गर्दै गर्दा हामीले एकपटक असफल भए पनि हामीले फेरि त्यसबाट शिक्षा लिएर अघि बढ्ने उद्देश्य राख्नुपर्छ । एकपटक असफल भयो भन्दैमा विश्वभरकै कम्युनिस्ट आन्दोलनको इतिहास, विश्वभरकै समाजवादी आन्दोलनको इतिहास, एकता, संघर्ष, विभाजन, फेरि रूपान्तरण, फेरि एकता फेरि संघर्ष यस्तैमा गुज्रिँदै अघि बढेको छ । नेपालको कम्युनिस्ट आन्दोलन पनि त्यही नियमअनुसार नै अघि बढेको छ,’ प्रचण्डले भने, ‘आज हामीले फेरि एकपटक विचार गर्नुपरेको छ । सबैले चिन्तन गर्नुपर्छ कि हिजो के कारणले एकीकृत भएको कम्युनिस्ट आन्दोलन बच्न सकेन । त्यहाँ विचारमा कहाँ त्रुटि थियो, राजनीतिमा कहाँ त्रुटि थियो, आचरण र संस्कृतिमा भावनामा कहाँ त्रुटि भयो ? के प्रकृतिका कारणले हाम्रो विभाजन भयो भन्ने कुराको गम्भीर समीक्षा गरेर त्यसबाट शिक्षा लिएर अघि जाने हामीले जमर्को गर्नुपर्छ । अहिले कमरेड माधवकुमार नेपाल, मलगायत कमरेड विप्लव र उपेन्द्र यादवसमेतले फेरि समाजवादी मोर्चा बनाएर वामपन्थीलाई एकताबद्ध गर्ने पहल सुरु गरेका छौं । त्यतिबेला हामीले, माधवजीले पनि मैले पनि के भनेका छौं भने फेरि नेकपातिरै फर्किनुपर्छ । फेरि पार्टीलाई एकताबद्ध गर्नुपर्छ भन्नेकुरा भनेका छौं ।’
तत्कालीन नेकपा ब्यँुताउनमा प्रचण्ड र नेपालको स्वर एउटै रहेको छ । गत २७ जेठमा एकीकृत समाजवादी भक्तपुरको प्रथम जिल्ला अधिवेशनमा सहभागी हुन भक्तपुर पुगेका नेपालले तत्तकालीन नेकपा ब्यँुताउन आफू तयार रहेको बताए ।
नेपालले तत्कालीन नेकपा ब्युँताउन आह्वान गर्दै प्रचण्ड र ओली तयार भए तत्कालीन नेकपा ब्युँताउन सकिने बताए । अध्यक्ष नेपालले नेपालको राजनीति प्रतिगामी दिशामा लैजाने कोसिस भइरहेको बताउँदै राजावादीले टाउको उठाउने कोसिस गरे पनि सफल हुन नदिइने उल्लेख गरे ।
‘हाम्रो पार्टी अर्को कुनै पार्टीमा गएर विलय हुनेवाला छैन । कसैकसैलाई लागेको छ, एमाले, एमालेमा त आफैं रुवावासी चलिरहेको छ । हामी हुन्छ भने पुरानो पार्टी फेरि ब्युँताउँछौं, प्रचण्डजीलाई भन्छु म आउनुहोस्, हामी तयार हुन्छौं, केपीजी तयार हुन्छन् ? नेपाल कम्युनिस्ट पार्टी नेकपा फेरि ब्युँताऔं,’ नेपालले भने ।
एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले कम्युनिस्ट पार्टीबीच एकताको सम्भावना रहेको बताए । तर, विचारहीन, निजी स्वार्थमा हिँड्ने, दक्षिणपन्थीलाई पछ्याउने, स्वार्थका लागि जे पनि गर्न तयार हुने स्वार्थीसँग, विचारै नभएको पार्टीसँग एकता गर्नुको कुनै अर्थ नभएको थापाले बताए ।
‘विचारहीन, निजी स्वार्थमा हिँड्ने, दक्षिणपन्थीलाई पछ्याउने, स्वार्थका लागि जे पनि गर्न तयार हुने स्वार्थीसँग, विचारै नभएको पार्टीसँग एकता गर्नुको अर्थ छैन’ थापाले राजधानीसँग भने, ‘कम्युनिस्ट पार्टीबीच एकताको सम्भावना छ तर केपी ओलीमाथि प्रचण्डले लगाएको आरोेप उनले के गर्ने ? भाडभैलो मचाउने अनि एकताको रटान रटेर एकता हुन सक्दैन ।’
एमाले स्थायी कमिटी सदस्य एवं प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले प्रचण्डलाई अप्ठ्यारो परेको बेलामा बेमौसमको बाजा बजाउने गरेको टिप्पणी गरेका छन् । आफूलाई अप्ठ्यारो पर्दा प्रचण्डले कहिले नेकपा त कहिले समाजवादी मोर्चाको कुरा गर्ने गरेको उनले बताए ।
‘नेकपा ब्युँताउने कुरा सुन्दा सारै कर्णप्रिय छ तर नेकपा निर्माण गर्दा वैचारिक, नीति, सिद्धान्त, संगठनलगायतका विषयमा छलफल बहसको आवश्यकता छ,’ गौतमले भने, ‘नेकपा ब्युँताउने बेमौसमको बाजा हो, जबजब प्रचण्डलाई अप्ठ्यारो पर्छ, सरकारलाई अप्ठयारो पर्छ अनि समाजवादी मोर्चा बनाउने, नेकपा ब्युँताउने कुरा प्रचण्डले गर्नुहुन्छ ।’