सुदूरपश्चिममा विकराल बन्दै लागूऔषध समस्या

लागूऔषधसहित पक्राउ परेका दुई जना युवा । तस्बिर सौजन्य : जिल्ला प्रहरी कार्यालय कैलाली ।

धनगढी । सुदूरपश्चिममा लागूऔषधको समस्या विकराल बन्दै गएको छ । विशेषगरी कैलाली र कञ्चनपुरका ग्रामीण क्षेत्रदेखि बजारसम्मै लागूऔषध प्रयोगकर्ता तथा ढुवानीकर्ताको बिगबिगीले समस्या विकराल बन्दै गएको छ । प्रहरीले दिनहुँ लागूऔषध सेवन, विक्रीवितरण र ओसारपसारमा संलग्नलाई पक्राउ गर्दै आए पनि समस्या हल हुन सकेको छैन ।

कञ्चनपुरबाट मात्र पछिल्लो चार वर्षमा ४ सय ७२ मुद्दामा ८ सय ११ जना लागूऔषधसहित पक्राउ परिसकेका छन् । जिल्लाभित्र चार वर्षको अवधिमा सबैभन्दा बढी चरेस ८० किलोग्राम बरामद भएको छ । त्यसैगरी, लागूऔषध, नाइट्राभेट, फेनारगन, रेक्सोजेसिक र डाइजेपामलगायतका लागूऔषध ठूलो मात्रामा बरामद भएको छ । पक्राउ परेका अधिकांश ३० वर्षमुनिका छन् ।

भीमदत्त नगरपालिकाको ब्रह्मदेवदेखि पुनर्वास नगरपालिकाको डोकेबजारसम्म १ सय २९ दशमलव ५ किलोमिटर सीमा भारतसँग जोडिएको छ । जुनसुकै ठाउँबाट पनि खुलेआम भारततर्फ पसेर लागूऔषध ल्याएर आउने बढेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रहरी नायब उपरीक्षक भरत चौधरीले लागूऔषध दुव्र्यसनी ठूलो समस्याका रूपमा देखापरेको बताए ।

लागूऔषधको जालो भत्काउन प्रदेश प्रहरी कार्यालय कठोर भएर लागेको उनले बताए । चालू आर्थिक वर्षको साउनदेखि अहिलेसम्म लागूऔषध मुद्दामा ७ सय ८८ जनालाई पक्राउ गरिएको छ । ७ सय २७ पुरुष र ६१ महिला छन् । साथै लागूऔषधका ४ सय ९३ मुद्दा दर्ता भएका छन् । सो अवधिसम्म गाँजा ४८ किलो बढी, चरेस १ सय ११ किलो बढी र एक किलोभन्दा बढी खैरो हिरोइन बरामद गरिसकेको छ । तर, लागूऔषधमा संलग्न दैनिक रूपमा पक्राउ पर्न थाले पनि न्यूनीकरण भने हुन सकेको छैन ।

पछिल्लो समय लागूऔषधमा फस्ने महिलाको संख्या पनि बढ्दै गएको प्रहरी उपरीक्षक चौधरीले बताए । हाल प्रहरीको हिरासतमा रहेका २ सय ६७ जनामध्ये ५० प्रतिशतभन्दा बढी अर्थात् १ सय ३७ जना लागूऔषध मुद्दाका छन् । प्रदेशका नौवटै जिल्ला कारागारमा १ हजार ५ सय ९० कैदीबन्दी रहेकोमा ३ सय ७७ जना लागूऔषध मुद्दाका रहेको प्रदेश प्रहरी कार्यालयको तथ्यांक छ ।

आर्थिक वर्ष २०७६÷७७ मा लागूऔषधसम्बन्धी मुद्दामा प्रदेशभरि १३ महिलासहित २ सय ७० जना पक्राउ परेकोमा चालू आर्थिक वर्षको ११ महिनामा ६ सय ७० जना पक्राउ परेको तथ्यांक छ । सोमध्ये ५३ जना महिला छन् । हार्ड ड्रग्स प्रयोगकर्ताको संख्या पनि पछिल्लो समय बढ्दो छ ।

हार्ड ड्रग्समा गाँजा, रक्सी पर्दैन । लागूऔषध सेवन गर्नेको भाषामा हार्ड ड्रग्स लिने व्यक्ति चरम लागूऔषध सेवनको नसामा फसिसकेका हुन्छन् । हार्ड ड्रग्स लिनेहरूको रोजाइँमा पर्ने गर्छ, कोरेक्स, ब्राउनसुगर, अफिम, सिरिन्ज हान्ने । लागूऔषध सेवन गर्नेहरूका लागि यो अन्तिम चरण रहेको स्वास्थ्यकर्मीको भनाइ रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 212 times, 1 visits today)

epaper

ताजा समाचार

ह्यारी–मेघनको शाही हैसियत यथावत्