सिद्घार्थ गौतमले राजसी सुख सयल, घर, परिवार छोडेर हिँडे । उनी लोभ, लालच, राजषी सुख, सयलजस्ता कुरालाई छाड्न नसकेको भए उनको जीवन सार्थक हुने थिएन । विश्व जगतमा बुद्घ धर्मको स्थापना हुने थिएन । बुद्घ जन्मिएको देश भनेर नेपाललाई संसारले चिन्ने थिएन । बुद्घ दर्शनबाट समाज वञ्चित हुने थियो । गौतम बुद्घका अनुसार तृष्णा वा आशक्ति दुःखको कारण हो । हाम्रो व्यावहारिक जीवनमा पनि बुद्घको दर्शन उपयोगी छ । तृष्णाकै कारण भ्रष्टाचार गरेर अकुत सम्पत्ति जोड्नेहरू कालो कोठरीमा गएका छन् । जाँदै छन् । समाजमा कुपात्रका रूपमा दर्ज भएका छन् । देशको सुशासन र विकासका बाधक भएका छन् । त्यसैले सम्पत्ति कमाउने बाटो गलत भएमा सुख होइन, दुःख निम्तिन्छ । जीवन निरर्थक हुन्छ ।
हाम्रो देशको सन्दर्भमा सम्पत्ति जोड्न घुस लिने र दिनेहरूको नेक्सस व्यापक छ । व्यापारी, ठेकेदार, कर्मचारी, बिचौलिया, तस्करबाट घुसपैठ हुने गरेका समाचार आउने गरेका छन् । समाजको शिक्षित भनिएको सचेतवर्गसमेत स्वार्थका लागि सत्ता र शक्तिको पुजारी भएको देखिन्छ । पैसा दिएर पदमा जानेहरू पनि सम्पत्ति जोड्नकै लागि मरिहत्ते गर्छन् । पृथ्वी नारायण शाहले भ्रष्टाचार गर्नेहरू देशका शत्रु हुन् भनेका छन् । हाम्रो देश भ्रष्टाचारका कारण माथि उठ्न सकेन । शासक, प्रशासक पद, पैसा र शक्तिमा रमाउने गरेको देखिन्छ । लोभ विनासको बाटो हो । दुःखको कारण हो ।
लोभले लाभ, लाभले विलाप भन्ने उखानले पनि लोभको परिणाम दुःख हो भन्ने अर्थ दिन्छ
लोभले लाभ, लाभले विलाप भन्ने उखानले पनि लोभको परिणाम दुःख हो भन्ने अर्थ दिन्छ । तर, पनि मानिस लोभ, लालचको दलदलमा फसेको छ । सम्पत्ति आर्जनमा साम, दाम, दण्ड भेद अपनाएको पाइन्छ । सम्पत्तिकै कारण घर, परिवार, दाजुभाइ तथा आफन्तजनसँगको सम्बन्ध चिसिएका थुप्रै घटना सुनिन्छ । पैसा भनेपछि महादेवका पनि तीन नेत्र भन्ने उक्ति हाम्रो समाजमा चरितार्थ भएको छ । त्यसो त पैसाको आवश्यकता अस्वीकार गरेर जीवन चल्दैन । पैसा चाहिन्छ तर मेहनत गरेर कमाउनुपर्छ । आप्mनै क्षमतामा रमाउनुपर्छ भन्ने हो । पैसाका लागि जस्तोसुकै कर्म गर्न पनि अग्रसर हुनुहुँदैन भन्ने हो । अहिले समाजमा ठगी, तस्करी, चोरी, भ्रष्टाचार, कमिसनतन्त्रको अर्थनिति फस्टाएको छ । जिउनका लागि पैसा चाहिए तापनि पैसाकै लागि एकले अर्कोलाई ठग्ने, ढाँट्ने वा लुट्ने काम गर्नुहँुदैन ।
भौतिक सम्पत्ति जोडेर ऐस, आराम, सुख, समयलको जीवन जिउने इच्छा प्रायः सबैलाई हुन्छ । मेहनतगरी सम्पत्ति जोड्नेहरू कर्मयोगी हुन् । इमानदार हुन् । मेहनतको फल मिठो हुन्छ । तर, आजको मानिसले मिहेनत गरेर जीवन चलाउनुभन्दा पनि सजिलो आयआर्जनको बाटो अपनाएको देखिन्छ । भौतिक सुखसुविधाका लागि भ्रष्ट हुन पनि तयार छ । व्यक्तिगत फाइदाका लागि साम, दाम, दण्ड, भेद जे पनि जायज ठान्छ । देशको ढुकुटी र सुविधालाई संस्थागत गरी दोहन गर्ने राजनीतिक अभ्यास छ । प्रशासनतन्त्रमा त्यस्तै भ्रष्टाचार छ । कालो बजारी, तस्करी, चेलीवेटी बेचबिखन, बिचौलिया, दलाली, खाद्यान्नमा मिसावट, दूधमा पानी, महमा चास्नी, बेसारमा पिठो, तरकारी र फलपूmलमा विषादी आदि इत्यादि कर्म सम्पत्ति जोड्ने धन्दाकै कुकर्म हुन् । अधर्म हुन् । पेसागत अमर्यादित क्रियाकलाप हुन् ।
हाम्रो देशमा सुशासन र विकास हुन नसक्नुको मुख्य कारण सत्ता र शक्तिमा भएकाको लोभ हो । पदको लोभ । पैसाको लोभ । सम्पत्ति जोड्ने लोभ । सरकार भत्काउने र बनाउने खेल पनि यस्तै लोभी इच्छाशक्तिबाट सिर्जनाको कुकर्म हो । त्याग र वलिदानबिना देश बन्दैन । भूपि शेरचनको कवितामा ‘हँुदैन बिहान मिर्मिरेमा तारा झरेर नगए, बन्दैन देश दुई–चार सपूत मरेर नगए’ भन्ने कविता लेखे । देशमा प्रजातन्त्र ल्याउन र देश बनाउन दुई–चार सपूत मात्र होइन । नेपाल आमाका धेरै सपूत मरेर गए । तर, देश बनेन । बाँचेकाहरूले बनाउन सकेनन् । हाम्रा सहिदहरूले सम्पति मात्र होइन, देशका लागि जीवन नै छाड्न सके । धर्मभक्त, गंगालाल, शुक्रराज शास्त्री, दशरथ चन्दलगायतले सम्पूर्ण कुरा त्यागे । उनीहरूले जन्मलाई सार्थक बनाए । तर, उनीहरूको सपनालाई पूरा गर्न सक्ने सक्षम व्यक्ति मुलुकले पाउन सकेन । सुशासन र देश विकास गर्ने मुख्य ठाउँमा रहेका शासक प्रशासक लोभबाट मुक्त हुन सकेनन् ।
१९९७ सालको शहीद प्रकरण पछाडि पनि इतिहासका विभिन्न कालखण्डमा देशको लागि धेरै मानिस ज्यान दिएका छन् । व्यवस्था बदल्न ठूलो योगदान गरेका छन् । तर, लोकतान्त्रिक व्यवस्था सञ्चालक लोभ, लालच र जालझेलबाट बाहिर आउन सकेनन् । त्यसो त इतिहासमा सम्झनलायक त्यागी व्यक्ति एवं व्यक्तित्व पनि छन् । बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, मनमोहन अधिकारीलगायतको योगदान सम्झनलायक छ । उनीहरू पछाडि शक्ति र सत्तामा आएकाहरू सम्पत्ति जोड्नतर्फ लागे । घर, गाडी, बैंक ब्यालेन्स वा सुखसयलको जीवनलाई नै सार्थक ठाने । सत्ता खोस्न र आफन्तजन पोस्नमा नै समय बिताए । सत्ता र भत्तामा रमाए । देश र समाजलाई उल्लेख्य योगदान दिन चुके । अहिले समाजका हरेक क्षेत्रमा असल काम गरेर योगदान पु¥याउनेभन्दा आप्mनो स्वार्थको रोटी सेक्नेहरूको बिगबिगी छ ।
व्यापार, व्यवसाय, प्रशासन, समाज सेवालगायतका ठाउँमा भ्रष्ट मति, लोभ, लालच, भएकाले हरेक क्षेत्र कमजोर हुन पुगेका छन् । वर्तमान समाजमा देखापर्ने घटनाले मानिस बदनाम हुनबाट डराउन छाडेको भान हुन्छ । लोकलज्जा त्यागेको अनुभूति हुन्छ । जीवन र जगतको मूल्य बुभ्mनेका लागि सम्पत्ति जोड्न मात्र ठूलो कुरा होइन । कसले कति सम्पत्ति जोड्यो भन्ने विषय सभ्य एवं सचेत समाजको चासोको विषय होइन । बरू कसले समाज र देशका लागि योगदान दिन सक्यो भन्ने कुराले दीर्घकालीन अर्थ राख्छ ।
कालो बजारी, तस्करी, चेलीबेटी बेचविखन, बिचौलिया, दलाली, खाद्यान्नमा मिसावट, तरकारी फलफूलआदिमा विषादी सम्पत्ति जोड्ने कुकर्म हुन्
त्यसो त समाजमा असल मानिस पनि छन् । सत्कर्म गर्ने पनि छन् । सुनाम, कुनाम र बदनामको भेद छुट्याउन सक्ने पनि छन् । तथापि, व्यक्तिगत स्वार्थका लागि जस्तो पनि कर्म गर्नेहरूको संख्या बढिरहेको छ । भौतिक सुख प्राप्तिलाई उपलब्धि सोच्नेहरूका लागि सम्पत्ति ठूलो होला । पैसा सबैथोक होला । यस्तो चिन्तन र चरित्र बोकेका ऐस, आराम र पदमा मैमत्त भएर आपूmलाई अरूभन्दा फरक वा ठूलो सम्झने गर्लान् । परन्तु, तिनीहरू जुनकिरीजस्ता हुन् । न त तिनीहरूले समाजलाई केही योगदान दिन सक्छन्, न त सम्झन लायक कुनै काम नै गर्न सक्छन् ।
हरेक वर्ष सरकारले ल्याउने बजेटबाट जनताले राहात पाउनुको सट्टा आहात पाउने गरेका छन् । अहिले सर्वहारा दल भनिने माओवादीको नेतृत्वमा रहेको सरकारको बजेटले सर्वसाधारणको पेटमा लात हानेको भन्नेहरू धेरै छन् । सरकारले नेपालीहरूको चुलोमा आवश्यक पर्ने सामग्रीमा कर लगाएर जनतालाई महँगीको मारमा पारेको छ । तरकारी र फलपूmलमा भ्याट लगाएको छ । देशमा उत्पादन गरेर सहज बनाउनुपर्नेमा विदेशबाट किनेर खानुपर्ने वस्तुमा समेत कर बढाएर अमानवीय व्यवहार देखाएको छ । अति गर्नु अत्याचार नगर्नु भनिन्छ । अब त नेपाली जनतामाथि अत्याचार भयो भन्ने सामाजिक आक्रोश बढेको छ ।
अन्त्यमा, देश बदल्ने हो भने नेपाली जनताले सोच बदल्न जरुरी छ । जनताले राजनीतिक दलप्रति रहेको अन्धभक्त चिन्तन भत्काउन आवश्यक छ । देशमा सुशासन र विकास चाहने हो भने नागरिकहरूले राजनीतिक दलका पछाडि लागेर होइन, दलीय आस्था छोडेर स्वतन्त्र नागरिक बन्न सुरु गरौं । गुण र दोषका आधारमा हरेक विषयको मूल्यांकन गर्न सिकौं । ‘जननी जन्म भूमिश्च स्वर्गादपि गरीयसी’ अर्थलाई मनन गरांै । यो जन्मभूमिलाई फुलाउने, फलाउने, संरक्षण गर्ने क्रममा हामी कमजोर भयौं । देशका लागि सचेत नागरिकको भूमिका निर्वाह गर्न सकेनौं । अब ढिला भइसकेको छ । पद र पैसाको लोभमा कालोलाई सेतो र सेतोलाई कालो नभनौं । जसरी व्यवस्था बदल्न एक ठाउँमा उपस्थित भएका थियौं त्यसैगरी देशको विसंगति र विकृतिका सर्जकका विपक्षमा सबै एक ठाउँमा जुटांै ।






