किन पोखराबाट लेखनाथ टुक्र्याउन खोजिँदै छ ?

पोखरा । लेखनाथ नगरपालिका पुनस्र्थापना माग गर्दै लेखनाथवासीले हस्ताक्षर अभियान सुरु गरेका छन् । लेखनाथ उद्योग वाणिज्य संघको स्थापना दिवस अवसरमा बुधबार आयोजित समारोहबीच सो हस्ताक्षर अभियान सुरु भएको हो । संघ स्थापना दिवस अवसरमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको पनि उपस्थिति थियो । उनकै सामुन्ने लेखनाथवासीले अभियान सुरु गरेका हुन् ।

पोखरा महानगरपालिकाबाट छुट्याएर साबिकको लेखनाथ नगरपालिका पुनस्र्थापनाको माग गर्दै आफूहरूले अभियान सुरु गरेको सो अभियानका एक सदस्य सन्दीप पौडेलले बताए ।

विकास निर्माण तथा बजेटमा पोखरा महानगरपालिकाले लेखनाथ क्षेत्रलाई सधैं पछि पारेकाले आफूहरू साबिकको लेखनाथ पुनस्र्थापनाको मागसहित अघि बढेको उनी बताउँछन् । पोखरा महानगरमा गाभिएपछि स्रोत, जनसंख्या र भूगोलको आधारमा बजेट एवं कार्यक्रममा पटकपटक चरम बेवास्ता गरिएको र पछिल्लो समय लेखनाथलाई डम्पिङ साइट बनाइएको लेखनाथवासीको गुनासो छ ।

पोखरा महानगरपालिका बनेपछि सात तालको वाटिका भनेर चिनिने लेखनाथ उपेक्षामा पर्न थालेको लेखनाथवासीको सधंैको गुनासो रहँदै आएको छ । लेखनाथलाई छुट्टै पालिका बनाउन सके यहाँका तालहरूको संरक्षण, पर्यटन प्रवद्र्धन र योजनाबद्ध विकास निर्माण हुन सक्ने उनीहरू बताउँछन् ।

लेखनाथ उद्योग वाणिज्य संघ अध्यक्ष छत्रधर आत्रेयले पनि विगतमा लेखनाथ नगरपालिकाको नामबाट चिनिएकोमा महानगरमा गाभिएपछि पोखरा महानगर त बन्यो तर विकास, बजेट र कार्यक्रममा पछि परेको बताउँछन् । उनले महानगर भइसकेपछि जुनरूपमा विकास निर्माणको लागि योजना पर्नुपर्ने हो त्यसअनुसार पर्न नसकेकोले अभियान जाजय रहेको बताए । लेखनाथवासीले विगतका फोरममा पनि यसखालको माग राख्दै आएको उनले स्मरण गरे ।

लेखनाथ नगरपालिका पुनस्र्थापना अभियानमा १ लाख हस्ताक्षर संकलन गर्ने लक्ष्य छ । पहिलो दिन करिब ३ हजार हस्ताक्षर संकलन भएको जनाइएको छ । हस्ताक्षर संकलन अभियान प्रत्येक शनिबार विभिन्न चोकचोकमा हुनेछ । यसअघि पनि पटकपटक लेखनाथलाई छुट्टै पालिका बनाउन माग गर्दै उनीहरूले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइसकेका थिए । पोखराबाट लेखनाथलाई छुट्याएर लेखनाथ नगरपालिका बनाउने अभियानमा उद्योग वाणिज्य संघले नेतृत्वमा रहेको छ । संघका बहुसंख्यक सदस्य महानगरबाट लेखनाथ टुक्र्याउनुपर्ने बताउँछन् ।

विगतमा भरतपोखरी सिंगो गाविस थियो । वडा ३३ मा अन्तर्गत पर्ने भरतपोखरी पोखरा महानगरपालिकामा गाभिएको हो । यो वडा क्षेत्रफल हिसाबले पनि ठूलो छ । पोखराको न्युरोड र भरतपोखरी समान आँखाले हेरिनुपर्ने अभियन्ताको माग छ । साथै लेखनाथ क्षेत्रको छिमेकी रुपा गाउँपालिकाको बर्सेनि ठूलो परिणामको बजेट पेस गर्दा लेखनाथलाई पोखरा महानगरेले ओझेल पारेकोले टुक्रिनुपर्ने लेखनाथवासीको माग छ ।

१८ वटा वडा रहेको लेखनाथ नगरपालिका पोखरा महानगरमा गाभिँदा हाल पोखराका ८ वटा वडा (वडा २६ देखि ३३) त्यसअन्तर्गत पर्दछन् । २०५८ सालमा स्थापना भएको लेखनाथ नगरपालिकाका पहिलो नगर प्रमुख शालिकराम पौडेल हुन् । देशकै सबैभन्दा ठूलो क्षेत्रफल रहेको पोखरा महानगर ४६४ दशमलव २४ वर्ग किमीमा फैलिएको छ । यहाँ हाल ३३ वटा वडा छन् । लेखनाथ पोखरामा गाभिएर ‘पोखरा लेखनाथ महानगरपालिका’ बनेसँगै २७ फागुन, २०७३ मा ‘पोखरा महानगर’ घोषणा गरिएको थियो । साबिकको पोखरा उपमहानगरपालिका, लेखनाथ नगरपालिका, मौजा, चापाकोट, भदौरेतामागी (वडा ३, ९), कास्कीकोट, माझठाना (वडा १, ४, ९), कालिका (वडा १, ५) र पुनन्चौर गाविस समेटेर पोखरा महानगर बनेको हो ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिच्छेद २ मा गाउँपालिका तथा नगरपालिकाको संख्या, सिमाना तथा केन्द्रसम्बन्धी व्यवस्था छ ।

यता, पोखरा महानगरपालिका प्रवक्ता मोती तिम्सिना तत्कालीन समयमा पुनर्संरचना हुँदा साबिकको लेखनाथ नगरपालिकाका पोखरा महानगरसँग जोडिँदा सबैले सही निर्णय भनेकामा अहिले भावनामा बग्नु न्यायोचित नभएको बताउँछन् ।

पोखरामा पछि जोडिएका वडाहरू तथा लेखनाथलाई बढी नै प्राथमिकता दिएर बजेटलाई प्राथमिकता दिएको हो । त्यो नीतिमै छ,’ उनले भने, ‘सहरी योजना आयोगलाई पनि लेखनाथमा लैजाने भन्ने छ । स्वास्थ्य महाशाखालगायत केही महाशाखालाई लेखनाथमा लैजाने भन्ने नगर सभाले निर्णय गरिसकेको छ ।’ यसमा दुविधा नहुन पनि पोखरा महानगरपालिकाले सम्पूर्ण लेखनाथवासीलाई अनुरोध गरेको महानगर प्रवक्ता तिम्सिनाले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 233 times, 1 visits today)

epaper

ताजा समाचार

नारायणी अस्पतालको आकस्मिक सेवा बन्द, बिरामी प्रभावित