कृतघ्नताको प्रायश्चित सम्भव छैन

प्रधानमन्त्री पुष्पकमल दाहालको ‘प्रितम सिंह पटकपटक दिल्ली गए’ भन्ने अभिव्यक्तिले नेपालको राजनीतिक क्षेत्र तरंगित भएको छ । भारतको कुनै तेस्रो दर्जाको नेता, कुनै ‘उदाउँदो लेखक’ वा कुनै युवा कलाकारको प्रमाणित वा अप्रमाणित भनाइले समेत नेपाली समाज उद्वेलित हुन्छ भने स्वयं नेपालका प्रधानमन्त्रीले यस्तो अभिव्यक्ति दिएपछि तरंग पैदा हुनु अस्वाभाविक भएन । नेपालमा प्रधानमन्त्री वा मन्त्री बनाउने कुरो छोडौं, कुनै गाउँपालिकाको वडाध्यक्ष निर्वाचित हुनसमेत छिमेकीको आशीर्वाद चाहिन्छ भनेर विश्वास गर्नेहरूको ठूलै जमात छ । यो ‘विश्वास’का पछाडि कतिको सत्यता छ ? केही हदसम्म हीन भावनाले पो काम गरेको छ कि ? त्यो सत्यको सानो अंश र हीन भावनाको सम्मिश्रणले भ्रम मात्र होइन भ्रमजालो नै विकसित भएर नेपाली मन मस्तिष्कमा जरो गाडेको छ कि ? तर, स्वयं प्रधानमन्त्रीको अभिव्यक्तिले प्रत्यक्ष वा परोक्ष रूपमा के स्विकारेको छ भने नेपालमा प्रधानमन्त्री बन्न छिमेकको शुभेच्छा मात्र होइन आशीर्वाद नै चाहिन्छ । उनले शव्दालंकारायुक्त आवरणले जति नै छोप्न वा सुधार्न कोसिस गरे पनि यो ‘कलंक’को दागबाट छुट्कारा पाउन सजिलो छैन ।

किन सिधै कलंक नलेखी ‘कलंक’ लेखिएको भन्ने प्रश्न उठ्न सक्छ । यो कलंक यदि अपरिहार्य आशीर्वाद हो भने त यसलाई कसरी कलंक भन्ने † रोग प्रतिरोधात्मक खोपलाई त अनिवार्य आवश्यकता मान्नुप¥यो, स्वयंमा रोग होइन । यस्तो हो भने प्रधानमन्त्री पुष्पकमल दाहाललाई धन्यबाद दिनुपर्छ किनकि उनले कटुसत्य उजागर गरिदिएका छन् । अब पालो नेपालका जिम्मेवार राजनेताहरू र त्यसमा पनि विशेषतः सत्ता सम्हालिसकेका जीवित पूर्वप्रधानमन्त्रीहरूको हो । उनीहरू सबैले अत्यन्तै निर्मम ढंगले आमजनताले बुझ्ने भाषामा नेपाली जनतालाई बताइदिनुपर्छ कि आआफ्नो प्रत्येक पटकको ‘राज्याभिषेक’मा कुनकुन दिशा र कोणबाट के कसरी अभिषेकरूपी आशीर्वचन प्राप्त गरेका थिए † सिंहासनरूढ हुन आशीर्वाद प्राप्त गर्ने क्रममा कोको ‘प्रितम सिंह’ कुनकुन मात्रामा प्रयुक्त भएका थिए भनेर किटान साथ नेपाली जनतालाई खुलाइदिनुपर्छ । ‘मचाहिँ विशुद्ध नेपालीको चाहना र इच्छाअनुसार बनेको हुँ’ भन्ने छुट कसैलाई छँदै छैन । त्यसो भनियो भने सफेद झूठ हुनेछ । वर्तमान प्रधानमन्त्रीले ‘मेरा यी भनाइ फगत आतिथेयको प्रशंसामा खर्चिएका आलंकारिक शब्द हुन्’ भन्छन् र त्यसलाई हाल जीवित पूर्वप्रधानमन्त्रीहरूले अनुमोदन गर्छन् भने त धेरै विश्लेषण र व्याख्याको आवश्यकता नै नपर्ला ।

यस क्रममा सरदार प्रितम सिंहलाई नजानिँदो पाराले तानिएको छ र विस्तारै ‘खलनायक’का रूपमा चित्रण गर्ने प्रयास भइरहेको देखिन्छ । गत दुई दिनमा वयोवृद्ध प्रितम सिंह स्वयं प्रतिरक्षाका लागि उत्रनुपरेको बाट उनी आहत भएको स्पष्ट बुझिन्छ । प्रितम सिंहलाई विवादमा तानेर अपमानित गर्दा पश्चिमी मूलका फादर लुड्विग स्टिग्लर, रुसी मूलका बोरिस, भारतीय मूलका चिमारिया र रामलाल गोल्छा अनि इन्द्रचोकका महाराजजी र हलखोरी रामजस्ता पात्रहरूलाई पनि अपमान गर्दै छौं भन्ने हेक्का राख्नु जरूरी छ । यी सबै पात्र निश्चित रूपमा विदेशी मूलका थिए तर यी सबैले आफ्नो क्षेत्रमा नेपालको जग बसाल्ने काम गरेका थिए र कालान्तरमा नेपाली बनेका थिए । यी व्यक्तिले बौद्धिक क्षेत्र, संगठित उद्योग, होटल, आधुनिक मिठाई पसल र कपडा व्यवसायको जग बसालेका हुन् । सरदार प्रितम सिंहले नेपालको सार्वजनिक सडक यातायातको जग नै बसालेका हुन् । उनले सुरूमा ल्याएका तीनवटा ट्रक र त्यसपछि बाइरोडको बाटोमा गुड्ने नेपाल पब्लिक मोटर सर्भिस (एनपीएमएस) बाट सार्वजनिक यातायातको सुरुवात भएको हो । सरदार प्रितम सिंह अपमानित हुँदा परोक्ष रूपमा सूर्यविक्रम ज्ञवाली र अम्बर गुरुङ पनि अपमानित हुन्छन् भन्ने नबिर्सौं । विस्तारै विदेशी नै रहेर पनि नेपाललाई अत्यधिक माया गर्ने इटालियन नागरिक टोनी हेगन र न्युजिल्यान्डका नागरिक एडमन्ड हिलारी पनि अपमानित हुन्छन् भन्ने हेक्का राखौं । शास्त्रका दृष्टिले पनि मातृहत्या, पितृहत्या, बन्धुहत्या वा गोत्रहत्या जस्ता अपराधको पनि प्रायश्चित सम्भव छ, तर कृतघ्नताको प्रायश्चित भने सम्भव छैन ।

तपाइको प्रतिक्रिया
(Visited 163 times, 1 visits today)

epaper

ताजा समाचार

नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ