जनता नझुकिऊन्

भुटानी शरणार्थी काण्डले नेपाल तातेको छ । भुटानबाट शरणार्थी आएर नेपाललाई ठूलो बोझ थपिएका कारणले होइन, अकल्पनीय रूपमा भुटानी शरणार्थीको भेषमा नेपाली नागरिक विकसित पश्चिमी संसारमा शरणार्थी बन्न र बनाउन नैतिकताको न्यूनतम हदभन्दा तल झरेका दृष्टान्त भेट्टिएका कारण आमनेपाली लज्जित हुन पुगे । र, आज भुटानी शरणार्थी भन्ने शब्दावली प्रत्येक नेपालीको जिब्रोमा नकारात्मक रूपमा झुन्डिएको छ । यहाँ आज उत्थान गर्न खोजिएको विषय चाहिँ चर्चित भुटानी शरणार्थी भ्रष्टाचार काण्ड होइन । आखिर भुटानमा के भएको थियो त ? दक्षिण भुटानमा पुस्तौंदेखि बसोबास गर्दै आएका नेपाली मूलका भुटानी नागरिकमाथि भुटानी शासकवर्गको पोसाक बख्खु र भाषा जोंखा अत्यन्तै बर्बबरतापूर्वक थोपरियो । प्रत्येक भुटानीले जोंखा नै बोल्नुपर्ने र बख्खु नै लगाउनुपर्ने बाध्यात्मक अवस्था सिर्जना गरियो । अनिवार्य ‘एउटै भाषा एउटै भेष’लाई भुटानी राष्ट्रियताको प्रतीकका रूपमा जबर्जस्ती स्थापित गरियो । त्यसविरुद्ध देखिएका नागरिकलाई ‘देशद्रोही’ घोषित गरियो । जेलनेल र चरम यातना दिइयो, मुलुक छोड्न बाध्य बनाइयो । झन्डै ७ लाख जनसंख्या भएको मुलुक भुटानबाट लगभग १ लाख २० हजार नेपाली मूलका नेपालीभाषी दक्षिण भुटानका बासिन्दा शरणार्थीका रूपमा नेपाल आइपुगे । यसै क्रममा तत्कालीन पञ्चायती व्यवस्थाका नेपाली शासकले भुटानी दमनविरुद्ध संघर्ष गर्दै नेपाल शरण लिन आइपुगेका टेकनाथ रिजाललाई झ्याइँकुट्टी पारेर भुटान सरकालाई बुझाए । त्यसपछि रिजालले कस्तो मृत्युतुल्य यातना सहनुप¥यो वर्णन गर्न शब्द भेटिँदैन । स्मरणयोग्य कुरो के हो भने त्यो समय नेपालमा राजाको शासन थियो । नेपालका राजा अत्यन्तै राष्ट्रवादी र नेपालको पहिचानप्रति सजग र सचेत मानिन्थे । स्वर्गीय राजा महेन्द्र र वीरेन्द्र दुवै नेपाली पहिचानप्रति अत्यन्तै सचेत र संवेदनशील मानिन्थे र अझै मानिन्छन् । स्वर्गीय राजा वीरेन्द्रले भारत भ्रमणमा हुँदा दक्षिण भारतस्थित तिरुपती बालाजीको मन्दिरमा विशेष पूजा गर्न खोज्दा त्यहाँको परम्पराअनुसार धोती लगाउनुपर्ने भयो । विदेशी भूमिमा धोती लगाउनुभन्दा पूजा नै नगर्ने उनले निर्णय गरे ।

राष्ट्रवादको अद्वितीय नमुना प्रस्तुत गरेको भन्दा फरक नपर्ला । यी दुवै राजा दौरासुरुवाल टोपी र नेपाली भाषालाई नेपाली राष्ट्रियताको प्रतीक मान्दथे भन्ने कुरोमा दुईमत नहोला । तर, राजा वीरेन्द्र स्वयंको ‘राष्ट्रिय पहिचानको प्रतीक’का खातिर कठोर संघर्ष गर्ने टेकनाथ रिजाल किन उनलाई पाच्य भएन र जबर्जस्ती भुटानी निरंकुश शासकलाई सुम्पियो ? नेपालको इतिहास र परम्परा हेर्ने हो भने स्वयं आपूmले दबाउन सघाएको लखनउ विद्रोहका विद्रोही नवाब बाजेद अलि शाहकी बेगम शरणागत हजरत महललाई जंगबहादुरले शरण दिएका थिए । उनको चिहान आज पनि काठमाडौं घण्टाघरबाट बागबजार मोडिने मूल सडकको किनारमा छ । यस्तो ‘शरणलाई मरण नगर्ने’ नेपालले नेपालको सान र पहिचानका लागि कठोर संघर्ष गर्ने शरणागत रिजाललाई भुटानी शासकका चंगुलमा किन पु¥याए ? प्रश्न पेचिलो छ भने जवाफ झनै अप्ठ्यारो हुन सक्छ । कुरो पोसाक वा भाषाको होइन रहेछ । सायदै तत्कालीन शासकहरूलाई दौरा सुरुवाल र नेपाली भाषाप्रति कुनै विशेष मोह थियो । उनीहरूलाई चिन्ता थियो ‘ एउटै भाषा एउटै भेष’का विरुद्ध भुटानी नागरिक र रिजालको संघर्षको वीरेन्द्रका पिता राजा महेन्द्रद्वारा प्रतिपादित ‘एउटै भाषा एउटै भेष’को रणनीति नै उनीहरूको निरंकुश शासन व्यवस्थाको सूत्रधार थियो । आफ्नो त्यस्तो ‘महान् सिद्धान्त’ पछ्याउने जिग्मे सिंघे वाङ्चुक प्यारो लाग्यो, पोसाक र भाषा होइन । पोसाक र भाषा त फगत रणनीतिक गोटी मात्र थिए । उर्दू भाषा र पठानी पोसाकलाई बढावा दिँदा आफूप्रति बफादारिता सुदृढ हुने भए त्यही पो गर्थे कि ? अहिले पुनः नेपालमा त्यही प्रवृत्ति हावी हुन खोजेको छ ।

‘राष्ट्रवाद’ स्थापित गर्ने प्रयास हुँदै छ, ‘एउटै भाषा एउटै भेष’को सूत्र नयाँ आवरणमा अवतरण भएको छ । मुलुकको ठूलो भूभागको उल्लेख्य जनता यो भुलभुलैयामा फँसेका पनि छन् । वास्तवमा यी ‘राष्ट्रवादी’को माया पोसाक वा भाषा होइन । परेको अवस्थामा यिनीहरू तत्काल रंग बदल्न तयार हुन्छन् । यिनको रणनीति त त्यो अत्यन्तै कारागर ‘सूत्र’मार्फत सोझा जनतालाई कजाउनु हो । यो ‘सूत्रमा विदेशी हस्तक्षेप’ को तड्काले झानेपछि त सोझा जनता झुक्किने भइहाले तर छोटो समयमै राजशाही झैं यी ‘राष्ट्रवादी’ पनि धराशायी हुनेमा कुनै शंका छैन । तर, यसबीच मुलुकलाई कुन हदसम्म घाइते बनाइने हो आँकलन गर्न गाह्रो छ

तपाइको प्रतिक्रिया
(Visited 247 times, 1 visits today)

epaper

ताजा समाचार

भदौमा भित्रियो सवा २ खर्ब रेमिट्यान्स