किन चल्दैनन् विदेशमा बनेका नेपाली चलचित्र

काठमाडौं । कोभिड–१९ अघि नेपाली चलचित्र विदेशमा छायांकन गर्ने लहरै चल्यो । त्यसक्रममा अस्ट्रेलियामा ‘ऋती’, ‘ह्याप्पी न्यु इयर’लगायत छायांकन गरिए । तर, यी चलचित्र ‘बक्स अफिस’मा असफल भए ।

हालसम्म अस्ट्रेलियामा निर्माण भएका आधा दर्जनमध्ये ‘सुनकेसरी’ले जेनतेन लगानी उठाउन सक्यो । बाँकी सबै ‘फ्लप’मा सूचीकृत भए । यसपछि पनि अस्ट्रेलियाबाट नेपाली चलचित्र निर्माण प्रयास त भयो । तर, कोभिडपछि निर्माणक्रम सुस्ताएको छ । अस्ट्रेलियामा मात्र होइन, अन्य मुलुकमा निर्माण भएका चलचित्र पनि नेपालमा व्यावसायिक रूपमा सार्थक भएका छैनन् ।

त्यस्तै, अमेरिकाबाट ‘राघव’, ‘लाइफ इन एलए’, ‘सफर’लगायत केही चलचित्र निर्माण भए । तर, ती पनि बक्स अफिसमा पटक्कै रुचाइएनन् । तीन दशकअघिदेखि बेलायतमा पनि नेपाली चलचित्र निर्माण गरियो । त्यतिबेला निर्मित ‘कस्तुरी’ले चर्चा कमाए पनि त्यसपछि बेलायतबाट निर्माण भएका चलचित्रले व्यावसायिक जादू छर्न सकेका छैनन् ।

पछिल्लो समय कोभिडकालमा बेलायतमा ‘कैदीको पत्र’, ‘हेल्लो जिन्दगी’लगायत निर्माण भए । यी नेपालमा पनि रिलिज गरियो । तर, व्यावसायिक सफलता हासिल गर्न सकेनन् ।

युरोपियन देशमा निर्माण गरिएका नेपाली चलचित्रको व्यावसायिक हालत पनि निराशाजनक नै रह्यो । ठूलो बजेटमा युरोपमा छायांकन गरिएका ‘लप्पनछप्पन’, ‘लप्पनछप्पन–२’, ‘द विनर’जस्ता चलचित्रलाई समेत दर्शकले रुचाएनन् ।

विदेशमा छायांकन गरेर अथवा विदेशी हाईफाई जीवनशैली समेटेर चलचित्र निर्माण गर्दा दर्शकले रुचाउँछन् भन्ने विश्वास थुप्रै निर्मातामा थियो । सोही विश्वासस्वरूप कोरोनाअघि विदेशबाट धमाधम चलचित्र निर्माण भए । विदेशमा छायांकन गरेर तयार चलचित्रले न नेपालमा दर्शकको मन जित्यो, न त विदेशमै रहेका नेपालीलाई हलसम्म तान्न सक्यो । सोही कारण पनि कोरोनाकालपछि विदेशबाट नेपाली चलचित्र निर्माणक्रम सुनसानजस्तै छ ।

विदेशमा नेपाली मौलिक चलचित्र बढी रुचाइएपछि त्यहाँ छायांकन तथा निर्माण भएकाभन्दा नेपालमै छायांकन एवं निर्माण भएका नेपाली चलचित्रलाई नै विदेश प्रदर्शनमा वितरकले महत्व दिन थालेका छन् ।

अस्ट्रेलियामा जानवी इन्टरटेनमेन्ट कम्पनी स्थापना गरेर नेपाली चलचित्र रिलिज गर्दै आएका विनोद पौडेलको कथनमा अस्ट्रेलियामा रहेका नेपाली मौलिक चलचित्र नै हेर्न रुचाउँछन् । पछिल्लो समय अस्ट्रेलियामा ‘जारी’ चलचित्र सर्वाधिक रुचाइनुको कारण पनि मौलिकता नै भएको उनको कथन छ ।

‘जारी’अघि अस्ट्र«ेलियामा ‘कबड्डी’का चारवटै शृंखला, ‘छक्का पञ्जा’का चारवटै शृंखलासहित ‘छ माया छपक्कै’, ‘जात्रा’का दुवै शृंखला, ‘महापुरुष’जस्ता चलचित्र विश्वव्यापी चल्नुमा मौलिक चलचित्र नै भएको देखिन्छ ।

अमेरिकाको नेपाल इलेभन इन्टरटेनमेन्ट अध्यक्ष प्रतीक सुवेदीले पनि मौलिक नेपाली चलचित्रलाई महत्वसाथ अमेरिका, क्यानडा र बेलायतमा रिलिज गर्दै आएको छ । त्यहाँ पनि नेपाली मौलिक चलचित्रले राम्रो व्यापार गरेको उनको कथन छ ।

दुबईमा रहेका रमेश ढकाल निप फिल्म्स्मार्फत मध्यपूर्वका, मलेसियालगायत देशमा नेपाली चलचित्र प्रदर्शन गर्छन् । उनी पनि विदेशमा निर्माण भएका चलचित्रभन्दा नेपालमै छायांकन गरिएका मौलिक चलचित्रले राम्रो व्यापार गर्ने जिकिर गर्छन् ।

यतिबेला जानवी इन्टरटेनमेन्ट, इलेभन इन्टरटेनमेन्ट र निप फिल्म्स्ले संयुक्त रूपमा सेभेन सिज इन्टरटेनमेन्ट कम्पनी सुरु गरेका छन् । विश्वव्यापी नेपाली चलचित्र अभियानसहित अब उनीहरूले मौलिक नेपाली चलचित्रलाई संयुक्त रूपमा किनेर नेपालसहित एकसाथ रिलिज गर्ने भएका छन् ।

यसै साता ‘पशुपति प्रसाद–२ ः भस्मेडन’को विश्वव्यापी रिलिज अधिकार उनीहरूले सेभेन सिज इन्टरटेनमेन्टमार्फत लिएका छन् । यसअघि ‘पशुपतिप्रसाद’ले निकै राम्रो व्यापार गरेको र यसपटक पनि ‘पशुपतिप्रसाद–२ ः भष्मे डन’ मौलिक चलचित्र बनेका कारण आफूहरूले विश्वव्यापी रिलिज अधिकार लिएको उनीहरूले बताएका छन् ।

विदेशी हाईफाई जीवनशैली समेटेर निर्माण गरिएका भन्दा नेपालमै बनेका मौलिक नेपाली चलचित्र संसारभर रहेका नेपाली दर्शकले रुचाउने गरेको यी वितरकको दाबी छ । त्यसैले, मौलिक स्वादकै चलचित्र निर्माणका लागि उनीहरू जोड दिन्छन् ।

तपाइको प्रतिक्रिया
(Visited 270 times, 1 visits today)

epaper

ताजा समाचार

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री रायमाझी, खाँण र पूर्वसचिव पाण्डे दोषी ठहर (फैसलासहित)