सर्लाही । सर्लाहीको चन्द्रनगरका कृषकले कृषि मिटरको लाभ लिइरहेका छन् । पर्याप्त वर्षा नभएका कारण तनावमा रहेका कृषकले कृषि मिटरको प्रयोग गरेर धमाधम रोपाइँ गरिरहेका छन् ।
केही दिनअघिसम्म चन्द्रनगरका खेतहरू पूर्णरूपमा सुख्खा तथा धुलाम्मे अवस्थामा थिए । तर, हालको अवस्थामा प्रायजसो किसानका खेत हराभरा छन् । गाउँपालिकाले कृषि मिटरको महसुल निःशुल्क गरिदिएकाले यतिबेला किसानहरू खेतीका लागि २४सै घण्टा पानी तान्ने मोटरको प्रयोग गरिरहेका देखिन्छन् ।
वडा–१ का किसान रामदयाल महतो भने, ‘सिँचाइको अन्य विकल्प नहुँदा डिजेलबाट चल्ने पम्पसेटबाट खेती सिँचाइ गर्नुपर्ने अवस्था थियो । यसको लागत पनि धेरै नै थियो । अब भने मोटरको प्रयोग गर्न पाएका छौं, कम खर्चमा नै खेती हुने गरेको छ ।’
आफूले कृषि मिटरको लाभ लिएर १ बिघा खेत रोपाइँ गरिसकेको उनले सुनाए ।
यसैगरी वडा–७ का किसान शिवजी साहले गाउँपालिकाले नै कृषि महसुल तिरिदिने भएकाले आफूले पनि कृषि मिटर जडान गरेको सुनाए । उनले भने, ‘अहिले गाउँपालिकाबाट चौरचौरमा कृषि विद्युतीकरण भइरहेको छ र किसानले धमाधम कृषि मिटर लिएर खेतमा पानी तान्ने मोटरको प्रयोग गरी सिँचाइ गर्ने गरेका छन् । गाउँपालिकाले कृषि मिटरको महसुुल तिरिदिने कार्य उदाहरणीय त छँदै छ, यसबाट चन्द्रनगरका किसानले धेरै फाइदा पाएका छन् ।’
त्यस्तै, अर्का किसान रवीन्द्र साहले यसअघि पम्पसेटबाट खेतमा सिँचाइ गर्दा घण्टाको ३ सय रुपैयाँ तिर्नुपरेको भए पनि अहिले कृषि मिटर जडान गर्दा निःशुल्क रूपमा सिँचाइ गर्न पाएको बताए । ‘गाउँपालिकाबाट जसरी किसानको हितका लागि कृषि मिटरको महसुल निःशुल्क बनाइएको छ त्यसरी नै मलखादको पनि गाउँपालिकाबाट व्यवस्था भए धेरै राम्रो हुने थियो,’ साहले भने ।
त्यसो त विगतका वर्षमा किसानले हुक लगाएर पानी तान्ने मोटरको प्रयोग गर्दा विद्युत् चुहावट हुने गरेको थियो । यसले राज्यलाई घाटा त पु¥याएकै थियो, असुरक्षितरूपमा विद्युत् प्रयोग गर्दा किसानको ज्यान पनि जाने गरेको थियो । तर, अहिले किसान नै खोजी खोजी कृषि मिटरको प्रयोग गर्छन् । कृषि मिटरको व्यवस्थाका कारण हुकिङका दृश्य अहिले देखिँदैनन् । यसले विद्युत् चुहावट शून्यमा झरेको चन्द्रनगर गाउँपालिकाले दाबी गरेको छ ।
चन्द्रनगर गाउँपालिकाले १३ चैत २०७९ सालदेखि नेपाल विद्युत् प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालय मलंगवा वितरण केन्द्रको समन्वयमा चन्द्रनगरमै ५ सय जना बढी किसानलाई कृषि मिटर वितरण गरेको थियो । सो समयमा नेपाल विद्युत् प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालय मलंगवा वितरण केन्द्र नै चन्द्रनगरमा आएर कृषि मिटर वितरण गरी ३ महिनासम्मको समय लगाएर किसानको खेत खेतमै मिटर जडान गरेका थिए ।
आर्थिक वर्ष २०७९-८० मा कृषि विद्युतीकरण र किसानको बिल भुक्तानीका लागि गाउँपालिकाले एक करोड ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । २९ पुस २०७९ मा सम्पन्न १२औं गाउँसभा बैठकबाट किसानले खेत सिँचाइ गर्दा उठेको महसुल गाउँपालिकाले तिरिदिने निर्णय गरेको थियो । सोहीअनुरूप विद्युत् चुहावट अन्त्य गर्न चन्द्रनगर गाउँपालिकाले कृषि मिटरको महसुल गाउँपालिकाले तिरिदिने निर्णय गरेको गाउँपालिका अध्यक्ष राजकुमार महतोले बताए ।
३८ हजार जनसंख्या रहेको यस पालिकामा ९९ प्रतिशत नागरिक कृषि पेसामा आबद्ध छन् । कृषि विद्युतीकरणबाट सिँचाइ गर्दा कम लागतमा धेरै सिँचाइ गर्न सकिने भएकाले यो अवधारण ल्याइएको गाउँपालिका अध्यक्ष महताले बताए ।
सिँचाइ क्षेत्र विस्तार हुँदा सहज सिँचाइ हुने, कृषि उत्पादन बढ्ने र किसानको लागतसमेत घट्ने भएकाले विद्युत् महसुल गाउँपालिकाले बेहोर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष महतोले सुनाए ।






