काठमाडौं । नेपाली चलचित्र हेर्न जाने दर्शकले चलचित्र मोबाइलबाट खिचेर टुक्राटुक्रा पारेर टिकटक तथा फेसबुकको स्टोरीमा हाल्ने क्रम मौलाएको छ । यसरी पुरै सिनेमाको टुक्रा सामाजिक सञ्जालमा दर्शकले राख्न थालेपछि निर्माताले यो क्रियाकलाप बन्द गर्न हल सञ्चालक र चलचित्र विकास बोर्डलाई दबाब दिँदै आएका थिए ।
यतिबेला भने चलचित्र विकास बोर्ड यस्तो पाइरेसी रोक्न तात्तिएको छ । चलचित्रका दृश्य सिनेमा हलमा खिचेर सामाजिक सञ्जालमा राख्नेलाई अब प्रतिलिपि अधिकार उल्लंघनका रूपमा कानुनी कारबाही गरिने चलचित्र विकास बोर्डका प्रवक्त केएल बुढाथोकीले बताएका छन् ।
सिनेमा हलमा सिनेमा खिचेर सामाजिक सञ्जाल तथा युट्युब च्यानलबाट राख्ने कार्यलाई रोक्न एउटा विज्ञापनिक भिडियो नै निर्माण गरेर बोर्डले सबै सिनेमा हललाई पठाएको छ । फिल्म देखाउनुअघि त्यो विज्ञापन अनिवार्य प्रसारण गर्न नेपाल चलचित्र संघमार्फत सबै हल सञ्चालकलाई निर्देशन दिएको छ ।
‘हामीले बिहीबार देशभरका चलचित्र हल सञ्चालकको छाता संगठन नेपाल चलचित्र संघलाई औपचारिकपत्र काट्दै हरेक हलमा पाइरेसी रोक्न यो सामग्री प्रदर्शनको व्यवस्था गर्न निर्देश गरेका हौं,’ बोर्डका प्रवक्तासमेत रहेको सदस्य बुढाथोकीले भने ।
प्रियंका कार्की, रुबि श्रेष्ठ, डिक्की गुरुङलगायतका कलाकारले यो भिडियोमा पाइरेसी रोक्न अपिल गरेका छन् । भिडियोमा लालबहादुर बस्नेत र नेपाल प्रहरीका डीआईजी कुबेर कडायतले पाइरेसीसम्बन्धी कानुनी प्रावधान’bout बोलेका छन् ।
नेपाली चलचित्रलाई खिचेर सामाजिक सञ्जालमा जस्ताको जस्तै राख्ने क्रम बढेपछि आपूmहरूले यो जनचेतनाको अभियान सुरु गरेको अध्यक्ष केसीले बताएका छन् । यो सूचना हलमा हेरेर पनि सिनेमालाई खिचेर प्रसारण गर्ने जो कोहीलाई अबका दिनमा आपूmहरूले सोझै कानुनी कारबाहीमा ल्याउने अध्यक्ष केसीको कथन छ ।






