लम्पी स्किनले गण्डकीमा २ हजार पशुवस्तु मरे

पोखरा । मनाङको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख नारायण कुसुमले हालै फेसबुक स्टाटस पोस्टाए । जसमा लेखिएको थियो–लम्पी स्किनबाट मनाङ पनि अछूतो रहन सकेन ।

उनले अगाडि लेखेका छन्, ‘चामे गापा वडा २ स्थित एक गोरूमा लम्पी स्किन रोग भएको स्थलगतरूपमा परीक्षण गर्दा बुझिएको छ । रोग नियन्त्रणको लागि आजैबाट अभियानरूपमा खोप सेवा सुरू भएको छ । नासों र चामे गापामा छिटोभन्दा छिटो खोप कार्य सम्पन्न गरिने छ ।’ मनाङको चामेस्थित थान्चोकका किसानले पालेको गोरुमा पहिलो पल्ट लम्पकी स्किन देखा परेपछि नियन्त्रणको लागि अभियानै सुरु भएको छ । कार्यालय प्रमुख कुसुमले रोग फैलिन नदिन खोप अभियानलाई अहिले मनाङका गाउँगाउँमा जारी राखेको बताए ।

हिमालपारिको अर्को जिल्ला मुस्ताङमा यो संक्रमण फैलिइसकेकोमा अर्को जिल्ला मनाङमा पनि देखा परेको हो । योसहित गण्डकीका ११ वटै जिल्लामा बाच्छाबाच्छी, गाई, गोरु, पाडा÷पाडी, राँगो लगायतमा अहिले लम्पी स्किन महामारीरुपमा फैलिएको छ । गण्डकीका ८५ पालिकामध्ये ८० पालिकामा संक्रमण फैलिएको हो ।

एक तथ्यांक अनुसार गण्डकी प्रदेशमा लम्पी स्किनले बाच्छाबाच्छी, गाई, गोरु, पाडा÷पाडी, राँगो समेत गरी करिब २ हजार पशुचौपाया मरेका छन् । हालसम्म ४८ हजार संक्रमित भएकोमा १ हजार ८ सय १ पशु चौपाया मरेका हुन् ।

मरेकामध्ये गण्डकीको नवलपुर जिल्लामा सबैभन्दा बढी छन् । जहाँ ४ सय ८ वटा अर्थात् ६.८५ प्रतिशत पशुचौपाया लम्पी स्किनले मरेको गण्डकी प्रदेश पशु सेवा निर्देशनालयले जनाएको छ ।

संक्रमण भने सबैभन्दा धेरै गोरखाका पशुवस्तुमा देखा परेको छ । गोरखामा १३ हजार ८ सय ३६ पशुचौपायाँ संक्रमित छन् ।

गण्डकीमा लम्पी स्किनले मरेकामध्ये सबैभन्दा बढी गाई मरेका छन् । गाई मात्र ८ सय ४९ तथा गोरु ७ सय मरिसकेका हुन् । मुस्ताङमा बाच्छाबाच्छी १३ र गाई २० गरी ३३ वटा संक्रमित छन् । संक्रमितमध्ये मुस्ताङमा ४ गोरु मरे । सन् २०१९ मा मान्छेमा फैलिएको कोरोना संक्रमणजस्तै पशुमा अहिले लम्पी स्किन फैलिएको हो ।

समयमै यो रोग नियन्त्रण र रोकथाम गर्न नसके देशभर २५ लाखभन्दा बढी पशुमा संक्रमण फैलिने र १ लाख गाईभैंसी मर्ने अनुमान पशुविज्ञले गरेका छन् । यसबाट झन्डै १ खर्ब २६ अर्ब क्षति हुने चेतावनी छ । गण्डकीका ८५ पालिकामध्ये ८० पालिकामा संक्रमण फैलिएको छ । गण्डकीमा लम्पी स्किनका कारण १० करोड हाराहारी नोक्सान भएको अनुमान छ ।

पशुविज्ञका अनुसार लामखुट्टे, टोक्ने झिँगा र किर्नाजस्ता कीराको टोकाइबाट यो रोग सर्छ । संक्रमित गाईभैंसीको ओसारपसार, सामुदायिक चरणक्षेत्र वा गर्भाधान र सुईको प्रयोगबाट पनि फरक पशुलाई रोग सर्न सक्छ । यो रोग लागेका गाईभैंसीको छालामा १ देखि ५ सेन्टिमिटरको साह्रा र गोला गाँठा हुने गर्दछन् । विज्ञहरूका अनुसार लम्पी स्किन पशुबाट मान्छेमा सर्दैन । लम्पी स्किनबाट ठूलो क्षति बेहोरे पनि सरकारले कुने सहयोग नगरेको किसानहरुको गुनासो छ । पशुबिमा गराएका किसानले भने त्यहींबाट क्षतिपूर्ति रकम पाउने छन् ।

लम्पी स्किन रोग पहिलो पटक अफ्रिकी मुलुक जाम्बियामा देखिएको थियो । नेपालमा २०७७ साउनमा पहिलो पटक मोरङमा लम्पी स्किन भित्रिएको हो ।

तपाइको प्रतिक्रिया
(Visited 108 times, 1 visits today)

epaper

ताजा समाचार

कलैया नगरप्रहरीको ज्यादती