काठमाडौं । लामो समयसम्म सेन्सरबोर्डको झमेला सहेर चलचित्र ‘सिमानामा काँडेतार’ हालै सेन्सर पास भएको हो । यो चलचित्रलाई एउटा संस्थाले सामाजिक कार्यका लागि आर्थिक संकलन गर्न शनिबार बेलुकीपख काठमाडौंको चावहिलस्थित विकाश बोर्डको हलमा विशेष शो राखेको थियो ।
सिनेमा प्रदर्शन हुन लाग्दै थियो । बिकाश बोर्डको प्राँगनमा संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्री सुदन किरातीको गाडी रोकियो । गाडीबाट झेरर मन्त्री किराती २५ सय रुपैयाँको टिकट देखाउँदै हलभित्र प्रवेश गरे । अनि उनले पुरै समयबसेर सिनेमा हेरे । सो सिनेमा प्रदर्शन सुरु भएको केही क्षणमै संघीयमामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी पनि चलचित्र विकाश बोर्डको प्राँगनमा आए । उनी पनि टिकट देखाउँदै हलभित्र छिरे । संस्कृति मन्त्री किरातीसँगै संघीयमामिला मन्त्री मोदीले पनि चलचित्र सिमानामा काँडेतार पुरा अवधि हेरे ।
फिल्म हेरेपछि संस्कृति मन्त्री किरातीले राजधानीसँग भने,‘लामो समयदेखि नेपाली चलचित्रमा योगदान दिँदै आउनु भएको नवल खड्काको चलचित्र काँडेतरको विशेष शो हुँदैछ भन्ने साथीहरुबाट जानकारी पाएपछि टिकट लिएर म यहाँ फिल्म हेर्न आएको हुँ । सिनेमा अत्यन्त राम्रो र देशप्रेमले ओतप्रोत रहेछ ।’ शनिबार शनिबार बिदा भएकाले पनि आफु व्यक्तिगत रुपमा यो चलचित्र हेर्न आएको बताउँदै उनले भने,‘आगामी फागुन १५ मा रिलिज हुने यो चलचित्रलाई म त्यतिबेला फेरी हेरेर सिनेमाको ’boutमा बोल्नेछु । यहिले यतिमात्र भन्छुकी यस्ता राष्ट्रियताको विषयमा बनेका सिनेमाहरुलाई हामीले हेरेरसाथ दिनुपर्छ ।’
अर्का मन्त्री मोदीले चलचित्र सिमानामा काँडेतर आफ्नो क्षेत्रमा छायाँकन भएको र आफ्नो क्षेत्रका धेरैले यो चलचित्रमा अभिनय गरेका कारण हेर्न पाएको बताए । सिनेमा आफुले सोचेको भन्दै धेरै राम्रो र राष्ट्रभक्तले ओतप्रोत भएका कारण आफुलाई मन परेको बताउँदै उनले भने,‘म अलिक ढिला आईपुगेकाले केही दृष्यहरु छुट्यो । यो चलचित्रलाई म फेरी हेर्नेछु र तपाईहरुलाई त्यसपछि सिनेमाले उठाएको बिषयमा थप कुरा गर्नेछु ।’
दुबैजना मन्त्रीलाई आफ्नो सिनेमाको दर्शकको रुपमा पाउँदा यो फिल्मका निर्देशक तथा अभिनेता नवल खड्का चकित परे,‘उहाँहरु आउनु हुन्छ भन्ने मलाई जानकारी थिएन । तर टिकट नै किनेर उहाँहरु आएर मेरो चलचित्र हेरिदिनु भएकामा हामीलाई सो सिनेमा प्रदर्शनी प्रति अझ हौसला बढेको छ ।’ आफ्नो सिनेमालाई विभिन्न सामाजिक कार्यका लागि च्यारिटी शो गरेर बल्ल १५ फागुनबाट रिलिज गर्ने उनले बताए ।






