प्रहरीका लेखापालको पदावधि पुनः ६ वर्ष

काठमाडौं । एक वर्षअघि तत्कालीन प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले बढाएको नेपाल प्रहरीका लेखापालहरूको पदावधि फेरि घटाइएको छ । वर्तमान प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले आफूभन्दा अघिका महानिरीक्षक सिंहले लेखापालहरूको पदावधि दुई वर्ष बढाउने भनी गरेको निर्णय उल्ट्याएका हुन् ।

२७ असार २०७९ मा सिंहले लेखापालहरूको पदावधि ६ वर्षबाट बढाएर आठ वर्ष पु¥याएका थिए ।

प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले नेपाल प्रहरीको नीतिगत निर्णय गर्ने निकाय नीति समन्वय समिति (पिसिसी)ले लेखापालहरूको पदावधि पुनः ६ वर्ष गर्ने निर्णय गरेको र पिसिसीको निर्णय कार्यान्वयनका लागि सर्कुलरसमेत जारी भइसकेको बताए । आठवर्षे पदावधिलाई निरन्तरता दिँदा पुराना लेखापालहरूले अवसर पाइरहने र नयाँले नपाउने अवस्था देखिएपछि यसअघिको निर्णय परिवर्तन गरिएको प्रहरी प्रवक्ता कडायतको भनाइ थियो ।

धीरजप्रतापको निर्णय आइजिपी कुँवरले एक वर्षमै उल्ट्याए

स्रोतका अनुसार, प्रहरी प्रधान कार्यालय मानव स्रोत विकास विभागका अतिरिक्त महानिरीक्षक (एआइजी) सन्दीप भण्डारीले लेखापालहरूको पदावधि घटाउन महत्वपूर्ण भूमिका खेलेका थिए । उनले आठवर्षे पदावधि रहिरहँदा लेखा तालिम गरेका नयाँले अवसर नपाउने र पुरानाकै हालिमुहाली रहिरहने भन्दै घटाउनैपर्ने भनी उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसमक्ष ‘लबिइङ’ पनि गरेका थिए । यस्तै, लेखापाल तालिम गरेर पनि जिम्मेवारी नपाएका जुनियर अधिकृतहरूले पनि गृहमन्त्री श्रेष्ठलाई भेटेर ८ बाट ६ वर्षमा झार्दा राम्रो हुने सुझाव दिएका थिए ।

‘नयाँ व्यवस्थाले लेखा तालिम लिएर पनि जिम्मेवारी नपाएकाहरूले अवसर पाउनेछन्, त्यसका लागि पनि पदावधि घटाइएको हो,’ प्रहरी प्रवक्ता डिआइजी कडायतले भने ।

त्यसो त शैलेश थापा क्षेत्रीको कार्यकालमा २०७८ सालमा प्रहरी प्रधान कार्यालयले कार्यावधिलाई घटाएर ५ वर्ष बनाउनेगरी गृह मन्त्रालयमा नयाँ मापदण्ड प्रस्ताव गरेको थियो । तर, गृहमन्त्रालयले त्यस’bout कुनै निर्णय लिएन । गृहले अन्तिम निर्णय नलिइरहेको अवस्थामा एक वर्षअघि असारमा तत्कालीन महानिरीक्षक सिंहले उल्टै कार्यावधि बढाइदिएका थिए ।

नेपाल प्रहरीमा प्रहरी मुख्यालय मातहत बजेट चल्ने ५ सय ११ वटा युनिटमा लेखापालको दरबन्दी छ । ती प्रहरी युनिटलाई ‘क’देखि ‘घ’सम्म वर्गीकरण गरिएको छ । लेखा अधिकृतको जिम्मेवारी दुई–दुई वर्ष कायम गरिएको छ भने प्रहरी सहायक निरीक्षक (असई) लेखापाल हुने कार्यालयमा भने वर्ग लागू गरिएको छैन ।

लेखा अधिकृतमा प्रवेश गरेपछि तोकिएको समयसम्म सो समूहबाट बाहिर पनि जानुपर्दैन । नेपाल प्रहरीमा लेखापालको दरबन्दीलाई आकर्षक पोस्टिङका रूपमा लिइन्छ । राम्रा पोस्टिङमा पठाउन शक्तिकेन्द्रको समेत धेरै नै चासो हुने गरेको छ । शक्तिकेन्द्रको स्वार्थका कारण लेखापालको हरेक सरुवा विवादित पनि बन्ने गर्छ । शक्तिकेन्द्रको स्वार्थ नमिल्दा कहिलेकाहीँ नियमित सरुवा हुन नसकेका दृष्टान्त पनि छन् ।

बालकृष्ण खाण गृहमन्त्री हुँदा लेखापाल सरुवामा सिफारिसको चाङ लागेपछि गृहमन्त्री खाणले एकपटक सरुवा रोक्न प्रहरी महानिरीक्षकलाई आदेश नै गर्नुपरेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 279 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बीपी र पुष्पलालले हेरिरहेका छन् कि ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पोखराका १५ औं मेयर आचार्यको इतिवृतान्त यस्तो छ