अवसरको ध्रुवीकरणमा नेपाली राजनीति

लोकतन्त्रको सदृढीकरण र राजनीतिक प्रक्रियालाई सुचारु गर्ने संवाहक भनेकै राजनीतिक दल हुन् । लोकतान्त्रिक राजनीतिक व्यवस्थामा शासन सञ्चालन गर्न राजनीतिक दल नै अपरिहार्य हुन्छन् । दलको विकल्पमा लोकतान्त्रिक राजनीति अघि बढ्न सक्दैन । लोकतन्त्रको जीवनरेखा, इन्जिन एवं ऊर्जा रहेका राजनीतिक दलले लोकतन्त्रका सर्वमान्य मूल्य मान्यताको राम्ररी पालना र अवलम्बन गर्नुपर्छ । यसमा पनि सरकारमा रहेर शासन गरिराखेको दल अत्यन्त संवेदनशील र गम्भीर हुनु जरुरी हुन्छ । राजनीतिक दलमा ध्रुवीकरण नभई राष्ट्रिय मुद्दामा सदैव एकता प्रदर्शन गर्न सक्दा लोकतन्त्र र देशको समृद्धिमा सहयोग पुग्छ । दलमा देखिने ध्रुवीकरणले लोकतान्त्रिक मूल्य र मान्यतामा अनावश्यक सम्झौता गरी संकुचन ल्याउँछ । राजनीतिक ध्रुवीकरंले संवैधानिक मर्यादा नाघ्दै अघि बढ्ने अवस्था सिर्जना हुँदा लोकतान्त्रिक शासन प्रणालीमा ठूलो क्षति अथवा अस्तव्यस्तताको अवस्था आइपुग्छ । नेपालका राजनीतिक दल निर्वाचनको समयमा र सरकार परिवर्तनको खेलमा पटकपटक अपवित्र गठबन्धन गर्दै अघि बढिराखेका छन् ।

ध्रुवीकृत हुँदै जाने क्रममा पछिल्लोपटक नेपालमा एमाले र माओवादी केन्द्र दुवै राष्ट्रियता, लोकतन्त्र र समृद्धिका लागि एक भएको दाबी गरिरहँदा प्रतिपक्षी नेपाली कांग्रेसले यो एकता र गठबन्धनलाई लोकतन्त्र समाप्त पार्ने साम्यवादी सर्वसत्तावादको रूपमा व्याख्या गरिराखेको छ । राजनीतिक दलबीच ध्रुवीकरण लोकतन्त्रको पक्षमा हुनुपर्छ । लोकतन्त्रलाई कमजोर बनाउने गरी हुनु हुँदैन । नेपालका राजनीतिक दलका बीचमा भइराखेको ध्रुवीकरणवाट नेपालको लोकतन्त्र, राष्ट्रियता र राष्ट्रिय स्वाभिमान नराम्ररी प्रभावित हुन गएको सन्दर्भमा यसको विश्लेषण जरुरी हुन गएको छ ।

नेपालको राजनीतिक इतिहास अध्ययन गर्ने हो भने लामो समयदेखि विशुद्ध अवसर प्राप्त गर्ने र अल्पअवधिमा आफू आफ्नो समूह र दलको स्वार्थपूर्तिमा मात्र अर्जुनदृष्टि लगाउने गरेको पाइन्छ । राष्ट्रिय स्वार्थ, रास्ट्रिय स्वाभिमान, राष्ट्रियता र देशको समुन्नतिमा खासै चासो र चिन्ता देखिएको अवस्था पाउन सकिएन । यसको तथ्य प्रस्तुत गर्न राणाकालसम्म पुग्नुपर्छ । राणाले इस्ट इन्डिया कम्पनीलाई आफ्नो पक्षमा राखी उनीकै कठपुतली बनेर लामो समय तानाशाहीतन्त्र चलाए, त्यसबखत नेपाल अघोषित रूपमा ब्रिटिसको उपनिवेशसरह नै थियो । नेपालका राजा यस समयमा आतंकित अवस्थामा रहे, राजतन्त्र आफ्नो शक्ति पुनप्र्राप्तिको चाहना राख्थ्यो तर यसलाई अभिव्यक्तसम्म पनि गर्ने हैसियतमा थिएन । कोतपर्वको पुनरावृत्तिको सम्भावना मनमस्तिस्कमा भएकाले राजाको अवस्था अत्यन्त दयनीय थियो । ब्रिटिसविरुद्ध स्वतन्त्रताको संग्राम चलाइराखेका भारतीयलाई समर्थन नगर्नु र भारतको सिपाही विद्रोहमा नेपाली सेना पठाइ दमन गर्नु राणाको ब्रिटिस कम्पनीप्रतिको चाकरी थियो ।

राजनीतिक दलमा ध्रुवीकरण नभई राष्ट्रिय मुद्दामा सदैव एकता प्रदर्शन गर्दा लोकतन्त्र र देशको समृद्धिमा सहयोग पुग्छ

भारतमा स्वतन्त्रता आन्दोलन सफलतापछि ब्रिटिस कम्पनी फर्किएलगत्तै राणाको रणनीति संकटमा परेका बेला राजासमेतको समर्थनमा नेपालका लोकतन्त्रवादीले चलाएको आन्दोलनले सफलता प्राप्त ग¥यो । राणा शासन अन्त्य भयो र राजतन्त्रले आफ्नो शक्ति फिर्ता पायो तथापि लोकतन्त्रवादी र राजाको स्वार्थ पृथक् देखियो । राजामा निरपेक्ष राजतन्त्रात्मक शासन गर्ने लालसा देखियो भने प्रजातन्त्रवादीमा जनतामा अधिकारनिहित शासन गर्ने अडान देखियो । गन्तव्य पृथक् हुनुका कारण राजा त्रिभुवनको अवसानपश्चात् दुवै खेमामा सशक्त नेतृत्व राजा महेन्द्र र जननेता वीपी कोइराला देखिए । व्यक्तित्वको संघर्षले चरम रूप लिँदै गयो । जननिर्वाचित प्रधानमन्त्री बीपी विदेशी शक्तिसँग झुक्न चाहेनन् । उता भारतले आफ्नो पक्षमा पूर्ण रूपमा परिचालन गर्न नपाएकामा बीपीप्रति असन्तुष्टि पाल्दा राजा महेन्द्रले भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूको समर्थनमा नेपालको प्रजातन्त्र समाप्त पारी जननेता बीपीलाई काराबासको कठोर दण्ड दिए । यसपछि २०४६ सालसम्म निरपेक्ष राजतन्त्रले एकछत्र शासन सञ्चालन गर्दै गयो । लोकतान्त्रिक संस्थाभित्र राजा रहेकाले राजा सच्चिनुपर्ने र प्रजातन्त्रका लागि राजा र जनता एकै ठाउँमा उभिनुपर्ने नेपाली कांग्रेसको एजेन्डालाई राजाले महŒव दिएनन् । नेता बीपी र राजा महेन्द्रमा राष्ट्रियता राम्रोसँग अनुभूत गर्न पाइए पनि यी दुवै मिलेर अघि बढ्न नसक्दा राष्ट्रले ठूलो क्षति बेहोर्नुपरेको इतिहास साक्षी छ ।

राजतन्त्रलाई संवैधानिक बनाएर जनतालाई सार्वभौम नागरिक बनाउने काम २०४६ सालको आन्दोलनले ग¥यो । तर, यो राजनीतिक परिवर्तनपश्चात् नेपालका राजनीतिक दलमा सिद्धान्तविहीन ध्रुवीकरण पटकपटक भए । प्रकट रूपमा २०४६ सालदेखि हालसम्म भएका यस्ता गठबन्धन र ध्रुवीकरण लोकतन्त्रका लागि कति उत्पादक वा अनुत्पादक देखिए ? दुई भिन्न आदर्श र सिद्धान्त बोकेका नेपाली कांग्रेस र साम्यवादी दल २०४६ सालको आन्दोलनमा एक भएर होमिए । यी दुवैको गन्तव्य पृथक भए पनि निरंकुुश पञ्चायती निर्दलीयतालाई समाप्त पारी प्रजातन्त्रको पुनर्वहाली गर्न योे गठबन्धन बनेको थियो । त्यसपछि २०६३ सालमा राजा ज्ञानेन्द्रले आफंैले शासन सम्हाली लोकतन्त्रको सर्वमान्य सिद्धान्त र मूल्य मान्यताविपरीत अघि बढ्दा यसविरुद्ध संसद्वादी र साम्यवादी एक ठाउँमा भए । २००७ सालमा राजा र जनताका प्रतिनिधिलाई एक बनाउन मित्र राष्ट्रले भूमिका निर्वाह गर्दा यी दुई राजनीतिक शक्तिबीचको ध्रुवीकरणले सकारात्मक संदेश प्रवाह गरी निरंकुशतन्त्र समाप्त गरेको थियो । २०४६ सालपश्चात् सत्ता परिवर्तनको खेलमा धेरैपटक नेपालमा राजनीतिक ध्रुवीकरण हुँदै गयो । यो ध्रुवीकरण दलभित्र र दलबीच दुवै प्रकारको देखियो ।

२०६३ मा माओवादी शान्ति प्रक्रियामा आएपश्चात् प्रायः सबै दल संसद्वादीमा रूपान्तरण भएका छन्

२०४८ सालमा नेपाली कांग्रेसभित्र समूह निर्माण गर्दै दुई समूहका बीचको द्वन्द्वले उत्कर्षस्वरूप ग्रहण गर्दा किसुनजी निर्वाचनमा पराजित हुनुभयो र गिरिजाबाबु प्रधानमन्त्री हुने परिस्थिति निर्माण भयो । दलभित्र ठूलो आन्तरिक दरार पैदा गर्दै समूह निर्माण प्रक्रिया अस्वस्थ रूपमा अघि बढ्यो । विजयी किसुनजी र पराजित किसुनजीका बीच देशको लोकतान्त्रिक आन्दोलनमा ठूलो अन्तर पर्ने स्थितिलाई गौण आकलन गरियो । यो राजनीतिक परिघटनाले नेपालको लोकतन्त्र पछि पर्न गयो । स्थिति बिग्रँदै जाँदा राजनीतिक दलमा विधिवत् विभाजनसमेत हुन पुग्यो । तत्पश्चात् लोकतन्त्रवादीमा आएको यो विचलनको फाइदा एमालेले लियो र २०५१ सालको निर्वाचनमा पहिलो दल हुने नतिजा आई अल्पमतको सरकार नौ महिनासम्म सञ्चालन गर्न पुग्यो । अल्पअवधिमा फुटेको कांग्रेसले प्रतिपक्षमा बस्ने अवस्थाको सामना गर्नुप¥यो । यसपछि आन्तरिक रूपमा ध्रुवीकृत एमाले फेरि फुट्न गयो । यसबाट नेपाली कांग्रेसलाई फाइदा हुन पुगी जुटेको कांग्रेसले फुटेको एमाले÷मालेलाई परास्त गरी बहुमत स्थान हासिल गर्न पुग्यो । यो अवधिमा २०४८ सालको निर्वाचनमा केवल नौ स्थान मात्र विजयी हुन सकेको दल सशस्त्र संघर्षको घोषणा गरी सिंगो देशलाई द्वन्द्वमा रूपान्तरित गर्न पुग्यो ।

संस्थापन पक्ष र द्वन्द्वरत पक्ष दुवै हार्ने लडाइँमा राष्ट्रले ठूलो धनजनको क्षति बेहोर्नुप-यो । २०६३ सालमा माओवादी शान्ति प्रक्रियामा आएपश्चात् अब यो देशमा प्रायः सबै संसद्वादी मात्र बनेका छन् । कम्युनिस्ट दलप्रति जनताको रुचि कम भएको छ । सत्तासमीकरणमा समूहगत लडाइँ सबै दलले पटकपटक गर्दै गए । पूर्वपञ्चसँग गठवन्धन गर्नेदेखि लोकतन्त्रवादी र साम्यवादीसमेत सत्ताको चास्नीमा अपवित्र गठबन्धन र ध्रुवीकरण गर्दै डुबुल्की मार्दै रहे । यो क्रम अहिले पनि निरन्तरता छ । परिणाम हो तुलनात्मक रूपमा नेपालका कम्युनिस्टमा अल्पअवधिमा प्रशस्त मात्रामा फुट र ध्रुवीकरणको राजनीति देखियो भने नेपाली कांग्रेस पनि यसबाट अछुतो रहन सकेन । फुटको आधारशीला निर्माण गर्न तल्लीन कम्युनिस्ट ब्रान्डमा राजनीति गर्नेहरू संसदवादी बने । उता लोकतन्त्रका हिमायती दलमै लोकतन्त्रको अभाव देखियो । समग्रमा नेपालको बहुदलीय राजनीतिमा देखिएको यस प्रकारको ध्रुवीकरणबाट नेपालको लोकतन्त्रको सुदृढीकरण गर्ने कुरा अत्यन्त कमजोर भएको छ । सत्तामा रहने र प्रतिपक्षमा रहने सबैको परीक्षण भइसकेको छ । जनताका नजरमा हाल राष्ट्रियस्तरमा अस्तित्वमा रहेका कुनै पनि दल स्वीकार्य छैनन् र विकल्प पनि पाएका छैनन् । यो अवस्थाबाट नेपालको राजनीति ध्रवीकरणबाट मात्र अघि बढ्दै सबै राजनीतिक दलहरू ध्रुवीकरणको पर्याय बनेका छन् । यस अवस्था भनेको नेपालको लोकतन्त्रका लागि प्रत्युत्पादक सिद्ध हुनेमा सन्देह छैन ।

तपाइको प्रतिक्रिया
(Visited 228 times, 1 visits today)

epaper

ताजा समाचार

कमजोर बन्यो अमेरिकी डलर