इलाम । व्यवसायलाई व्यवस्थित बनाउने उद्देश्यले निर्माण गरिएका जुनसुकै व्यावसायिक भवनको प्रांगणमा ठाउँ राखिएको हुन्छ । व्यावसायिक भवनको अगाडि खाली ठाउँ छोड्नुको उद्देश्य त्यहाँ आउने ग्राहकको पार्किङका लागि सहज होस् भनेर नै हो । देशका विभिन्न ठाउँमा बनेका यस्ता भवनको अगाडि पार्किङ गर्दा न शुल्क लाग्छ न त कसैले यहाँ होइन पार्किङ स्थलमा लैजा भनेर नै भन्छ । तर, इलाममा भने व्यावसायिक भवनको अगाडि पार्किङ शुल्क उठाउन नपाउने भएपछि ठेकेदार र नगर प्रहरीले व्यसायिक भवनको अगाडि मोटरसाइकल प्रवेश गर्न रोकी पार्किङ स्थलमा पठाउन थालेका छन् ।
ठेक्कै नलागेको स्थलमा पार्किङ शुल्क उठाइरहेको ठाउँमा शुल्क उठाइरहेको समाचार आएपश्चात त्यहाँबाट ठेक्का लागेको ठाउँमा जबरजस्ती मोटरसाइकल पठाएर शुल्क उठाउने गरिएको छ । नगर प्रहरी र शुल्क उठाउने व्यक्ति सिटी मार्ट प्रवेशको प्रवेशद्वारमा नै लामबद्ध बसी ठेक्का परेको पार्किङस्थलमा मोटरसाइकल पठाउन थालेका हुन् ।
केही महिनाअघि नगरपालिकाले नै मोटरसाइकल पार्किङलाई व्यवस्थित बनाउन इलाम चोक बजार र सिट मार्ट अगाडि पार्किङस्थलका लागि रेखा कोरेरै व्यवस्थित बनाउन खोजेको थियो । तर, त्यो रेखा मेटिन नपाउँदै सिट मार्ट अगाडि पार्किङ गर्न नदिई ठेक्का लगाएको भवनतिर नगर पालिका नै मोटरसाइकल पठाउनमा लाग्नुले नगरपालिकाले ठेकेदारलाई नियममा ल्याउनुभन्दा जनतालाई दुःख दिनुतिर लागेको प्रस्ट देखिन्छ ।
ठेक्का खुलाउँदा भवनको लागि भनेर खुलाउनु र ठेक्का लिनेले पनि त्यही भवनको पार्किङ शुल्क उठाउँछु भनी ठेक्का पारे पनि नगरपालिका र ठेकेदार मिलेर मार्टको अगाडि पार्किङ नै गर्न छेक्दै जनतालाई दुःख दिइरहेका छन् ।
सिटी मार्टको पार्किङस्थलमा मोटरसाइकल प्रवेशमा रोक लगाउन थालेपछि त्यहाँका व्यवसायीले आपत्ति जनाएका छन् । यहाँको पार्किङ स्थलमा पार्किङ गर्न नपाएपछि अर्को ठाउँमा मोटरसाइकल पार्किङ गरी ग्राहक यहाँसम्म नआउने भएको हुँदा हाम्रो व्यवसायमा असर पुग्ने सिटी मार्टका व्यसायीको गुनासो छ ।
सिट मार्ट रेड रोज सञ्चालन गरिरहेका प्रकाश चापागाईंले यहाँ आउने ग्राहकले यहा पार्क गर्न पाएनन् भने यहाँको व्यवसायमा समस्या आउने भन्दै तत्काल नगरपालिकामा गई समस्या राखेको बताए ।
त्यस्तै, त्यही कपडा पसल सञ्चालन गरिरहेका सहदेव खनालले हतारमा हानिरहेका ग्राहक ज्याकेट किन्न यहाँ आउनुप¥यो भने पार्किङ स्थलमा मोटरसाइकल पार्किङ गरी यहाँ नआउने र हामीले यहाँको पार्किङका लागि सुविधा पाउनेगरी भाडा तिरेको बताउँछन् ।
नगरपालिका र व्यवसायीसँगको छलफलमा दुई÷चार दिन १ घण्टाभन्दा बढी मोटरसाइकल पार्किङ गर्ने मोटरसाइकललाई पार्किङ लिने र १ घण्टासम्म शुल्क नलिने सहमति भएका भन्दै व्यवसायी चापागाईंले यो पनि नगरपालिकाले मापदण्ड नबनाउन्जेलका लागि हो नगरपालिकाले पार्किङ शुल्कका लागि छलफलै बसेर मापदण्ड बनाउने सहमति भएको बताए ।
पार्किङ व्यवस्थित बनाउने खाका कोर्दै नगरपालिका
इलाम बजारको मोटरसाइकल पार्किङलाई व्यवस्थित बनाउन नगरपालिकाले खाका तयार गरेरै काम गर्ने भएको छ । बजारमा हुन अव्यवस्थित पार्किङलाई व्यवस्थित बनाउन बजारका व्यवसायी, उद्योग वाणिज्य संघसँग छलफल गरेर खाका तयार गर्न लागिएको हो । खाका तयार नहुन्जेलसम्म नगरपालिकाले सिट मार्ट अगाडि १ घण्टाभन्दा बढी मोटरसाइकल पार्किङ गर्नेलाई शुल्क लिने सिट मार्टका व्यवसायीसँग सहमति भएको इलाम नगरपालिका प्रमुख प्रशासकीय अधिकृत गणेशकुमार खड्काले बताए ।
पार्किङलाई व्यवस्थित बनाउन पसल अगाडि केही समयसम्म रोक्न मिल्नेगरी ठाउँ तयार गर्ने र लामो समयसम्म राखेमा शुल्क लाग्नेगरी व्यवस्था गर्न नगरपालिका लागिरहेको उनको भनाइ छ । त्यस्तै, इलाम चोक बजारमा हुने अव्यवस्थित पार्किङलाई पनि व्यवस्थित बनाउन पनि खाका तयार गरेरै लाग्नुपर्ने देखिएको खड्काको भनाइ छ ।
नगरपालिकाले आर्थिक वर्ष २०८०÷८१ का लागि ट्याक्सी स्टेनछेउको मासु पसल पछाडि मोटरसाइकल पार्किङका लागि ठेक्का लगाएको छ । मासु पसलसँगैको भवनमा भ्याटबाहेक ४४ हजार ३ सय रुपैयाँमा मोटरसाइकल पार्किङ सेवा शुल्कका लागि ठेक्का लगाएको हो । अन्य ठाउँमा पनि पार्किङ व्यवस्थित कसरी बनाउने भन्ने विषयमा नगरपालिकाले काम थालिसकेको बुझिएको छ ।






