इलाम । पानीको समस्याका कारण मध्य साउन सम्म पनि किसानले रोपाइँ गर्न सकेका छैनन् । पानी पर्न छाडेपछि इलामका धेरैजसो ठाउँमा आलिकाटेका खेत बाँझै छन् । खोलाको पानी नपुग्ने र धेरै दिन यता आकाशबाट पानी नपरेको कारण खेत रोप्न समस्या भएको हो । पानी अभावका कारण रोपाइँ हुन नसकेपछि धानको बीउ बुडिने अवस्था रहेको किसान बताउँछन् ।
इलामको फाकफाेकथुम गाउँपालिका सात एकतप्पामा खेत आलीकाटेर बाँझै रहिरहेका छन् । आकाशबाट पानी नपर्नु र कुलामा आउने पानी पनि सुख्खाको कारण खेतमा नसर्ने भएको हुँदा राेपाइँ गर्न समस्या भइरहेको स्थानीय पञ्च याेङहाङ बताउँछन् । ‘अझै पनि दाेकानडाँडा मुनि धेरै खेत राेपाइँ हुन बाँकि नै छ पानी आउन सकेको छैन टन्टलापुर घाम लागेर धुलो उड्न थालिसकेको छ’ याेङहाङले भने, ‘कुलोको पानी पालो सिस्टममा लगाएर थोरै थोरै राेपाइँ त हुँदैछ तर आकाशको पानी नभएपछि कति पनि नहुँदो रहेछ ।’
खोल्सा नजिकका केही खेत रोपाइँ भए पनी खोल्सा आसपास बाहेकका खेत पानीको समस्याका कारण रोपाइँ हुन सकेका छैनन् । त्यस क्षेत्रको एकातिर देउमाई खोलो र अर्को तिर फाकफाेक खाेला बगे पनि खोलो गहिरो ठाउँमा रहेको हुँदा खेतीकालागि पानी प्रयाेग गर्न सकिँदैन । खाेलाकाे पानी पनि नआउने र आकाशबाट पनि पानी नपरेको कारण खेती किसान समस्यामा रहेका छन् । रोपाइँ हुन नसकेपछि आकाशबाट पानी पर्छ कि भनेर किसान आकाश हेरेर दिन बिताइरहेका छन् ।
फाकफाेकथुममा मात्र होइन इलाम नगरपालिका नौ मा पनि धेरै खेत बाँझै छन् । कुलो नलाग्ने र खोल्साको सानु पानीको भरमा खेती गर्नुपर्ने हुँदा खोल्सै सुक्ने अवस्था भएपछि रोपाइँ हुन नसकेर खेत बाँझै छन् । साउन लागे यता पानी पर्न नसक्नु र बर्खामा खडेरी लागेको कारण रोपाइँ हुन नसके पछि मानु खाएर मुरी उब्जाउने समयमा किसान आकाश हेरेर बस्न बाध्य छन् । लामो समय देखि पानी पनि नपरेको र चर्को घामले खोल्साको सानो पानीमा दुखले रोपिएको ठाउँमा पनि धान मर्न थालेको छ । रोपेपछि सिँचाइ हुन नपाएपछि रोपिएको धान डढ्न थालेको हो ।
जिल्लामा ६९ प्रतिशत राेपाइँ भएकाे कृषि ज्ञान केन्द्रले जनाएको छ । समथर जिल्लाको माई नगरपालिका र चुलाचुली गाउँपालिकामा सबैभन्दा धेरै खेती हुने र उक्त क्षेत्रमा रोपाइँ भइसकेको कारण ६९ प्रतिशत देखिए पनि अन्य पालिकामा राेपाइँ हुन सकेको छैन । चुलाचुली र माईका क्षेत्र तराइसँग जाेडिएकाे र खोलाको पानी प्रयोग गर्न सकिने भएको कारण धेरैजसो रोपाइँ भइसकेको छ तर पहाडी भेगका पालिकाका खेतीमा भने रोपाइँ हुन सकेका छैनन् ।
कृषि ज्ञान केन्द्र इलामका प्रमुख टाेनी वर्देवाले जिल्लाको सबैभन्दा बढी धान उत्पादन हुने माई नगरपालिका र चुलाचुली गाउँपालिकामा धेरै रोपाइँ भए पनि अन्य पालीकामा पानीको समस्याका कारण रोपाइँ हुन नसकेको बताए । उनले अन्य पालिकाको तल्लो भेगमा पनि रोपाइँ भइरहेको छ तर केही ठाउँमा रोपाइँ हुन नसकेको बताए ।
गत आर्थिक वर्षमा १४ हजार आठ सय १५ हेक्टरमा धान खेती भएको कृषि ज्ञान इलामको केन्द्रको तथ्याङ्क छ । माई र चुलाचुलीमा उन्नत जातको रञ्जित र सानु मन्सुली धान रोप्ने गरेका छन् भने अन्य पालीकामा स्थानीय बिउनै रोप्ने गरेको वर्देवाकाे भनाइ छ ।






