काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को जारी केन्द्रीय समिति बैठकमा सुन तस्करी प्रकरण चर्किदै गएको छ । सुन तस्करीमा पार्टीकै नेताहरु संलग्न भएको भनेर सूचना सार्वजनिक भईरहेको बेला बैठकमा छानविन गरी कारवाही गर्न माग उठेको छ ।
महरा र पुनमाथि छानविन हुनुपर्ने माग
शुक्रबार बसेको केन्द्रीय समितिको बैठकमा सुन तस्करीमा पार्टीका उपाध्यक्ष एवं पूर्व सभामुख कृष्णबहादुर महरामाथि छानविन हुनुपर्ने माग उठेको छ । महरा सुन तस्करीमा संलग्न रहेको भनेर सार्वजनिक रुपमा प्रश्न उठेपछि उनीमाथि छानविन हुनुपर्ने माग बैठकमा उठेको हो ।
प्रतिनिधि सभाका सदस्य समेत रहेका केन्द्रीय सदस्य लेखनाथ दाहालले सार्वजनिक रुपमा प्रश्न उठेकाले महरामाथि पनि छानबिन गरिनुपर्ने माग बैठकमा गरेका छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदनमाथि टिप्पणी गर्दै उनले माओवादी केन्द्रको नेतृत्वमा सरकार रहेको समयमा पार्टीको उपाध्यक्ष पदमा रहेका व्यक्तिमाथि सुन तस्करीको आरोप लागेको अवस्थामा यसलाई छानबिन गरेर प्रष्ट पार्नुपर्ने दाहालको माग छ ।
यदि अहिले छानबिन नगर्ने हो भने पार्टीले उन्मुक्ती दिएको भनि सधैं प्रश्न उठ्ने भएकाले त्यसको निवारणका लागि पनि छानबिन हुनुपर्ने दाहालले तर्क रहेको छ । अनुसन्धानबाट ‘किल्न चिट’ नपाएसम्म प्रश्न उठ्ने र आरोप लाग्नेक्रम चलिरहने भएकाले छानबिनबाटै यसको किनारा गर्नुपर्ने उनले बताए ।
केही समय अगाडि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इलेक्ट्रक सिगरेट (भेप)मा लुकाएर ल्याइएको तस्करीको सुन प्रकरणमा माओवादी उपाध्यक्ष महरा र उनका छोरा राहुल महराको नाम जोडिएको थियो । सुन तस्करीमा संलग्न रहेका भनिएका चिनियाँ नागरिकसँग महरा र उनका छोरा राहुलको पटक पटक टेलिफोन सम्पर्क भएको विषय सार्वजनिक भएको थियो ।
प्रचण्ड र श्रेष्ठले छोराछोरी, ज्वाईलाई स्वकीय सचिव राखेकोमा आलोचना भएपछि प्रतिवादमा उत्रिन गंगाको अभियान
उक्त सुन प्रकरणका आरोपीविरुद्ध काठमाडौं जिल्ला अदालतमा दर्ता भएको अभियोग पत्रमा पनि महरा र उनको छोराको चीनियाँ नागरिकसँग सम्पर्क तथा सम्बन्ध भएको र विमानस्थल भन्सार कार्यालयमा पनि लिलामीको ’boutमा चासो राखेको उल्लेख थियो । तर उक्त प्रकरणमा उनीहरुमाथि बयान समेत नलिइ अभियोग पत्र दायर भएपछि अहिले सार्वजनिक प्रश्न उठिरहेको छ ।
यस्तै सुन तस्करी प्रकरणमा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको नाम समेत जोडिदै आएको छ । यधपी महरा र पुनले आफूहरु तस्करीमा संलग्न नभएको प्रष्टीकरण दिदै आएका छन् । दुबै नेताले सुन तस्करी प्रकरणको उच्चस्तरीय छानविन हुनुपर्ने सुझाव पार्टीमा राख्दै आएका छन् ।
यसैगरी पूर्व सभामुख समेत रहेका उपाध्यक्ष अग्नी सापकोटाले पार्टीभित्र गम्भीर प्रश्नहरु देखिएको बताए । बैठकमा शीर्ष नेतृत्वदेखि कार्यकर्तासम्म र पार्टीको गतिविधिका सन्दर्भमा समेत प्रश्न उठेको भन्दै सापकोटाले प्रश्न उठेपछि समाधान पनि खोज्नुपर्ने बताए ।
शुक्रबारको बैठकमा अध्यक्ष प्रचण्डको राजनीतिक एवं सांगठनिक प्रतिवेदनका साथै समसामयिक राजनीतिको ’boutमा नेताहरुले आफ्नो धारणा राख्ने क्रम जारी रहेको सचिव दिनानाथ शर्माले बताए ।
यसैबीच पार्टी अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्ड, उपाध्यक्ष एवं उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ सहितका नेताहरुले सचिवालयमा छोराछोरी, ज्वाई राखेको र यिनिहरुका कारण पार्टीले बदनामी खेप्नुपरेको कुरा उठेपछि त्यसको प्रतिवाद गर्न प्रचण्ड पुत्री गंगा दाहालले अभियान चलाएकी छन् ।
प्रधानमन्त्री प्रचण्डले आफ्नै छोरीलाई स्वकीय सचिव नियुक्त गरेको र बालुवाटारमा छोरी–ज्वाइँ हाबी भएको भन्दै केन्द्रीय सदस्यहरूले आलोचना गर्न थालेपछि गंगाले आफूनिकट नेताहरूलाई प्रतिरक्षा गर्न आग्रह गरेकी छन् ।
केन्द्रीय कमिटी बैठकमा अध्यक्ष प्रचण्ड, आफू र श्रीमान जीवन आचार्यमाथि चर्को टिकाटिप्पणी भइरहेकोमा असन्तुष्टी पोख्दै प्रतिरक्षामा उत्रिन आफूनिकट केन्द्रीय सदस्यलाई भेटेर, फोनबाट र ह्वाट्स एपमा सन्देश पठाइरहेको एक केन्द्रीय सदस्यले बताए ।
‘बैठकको सुरुमै केही साथीहरूले हेडक्वार्टर र छोरी–ज्वाइँमाथि प्रश्न उठाए । त्योक्रम दोस्रो दिनको बैठकमा पनि जारी रहयो । दोस्रो दिनको साँझबाट गंगा दाहालले हेडक्वार्टर र सचिवालयको रक्षा गर्नु पर्यो भन्न थाल्नु भएको छ । भेटेर, फोनमै र म्यासेज गरेर लविङ गरिरहनुभएको छ’ एक केन्द्रीय सदस्यले भने ।
बैठकको पहिलो दिनमै केन्द्रीय सदस्य तथा प्रवास कमिटीका सह–इन्चार्ज लक्ष्मण पन्तले अध्यक्ष प्रचण्डले छोरीलाई सचिवालयमा राखेकोमा चर्को आलोचना गरेका थिए ।
‘अध्यक्ष आफैँ रुपान्तरण नभई माओवादी पार्टी बन्दैन । अध्यक्ष र वरिष्ठ उपाध्यक्षले आफ्ना छोरी र भतिजोलाई लुटको आतंक मच्चाउन र लेनदेनको हिसाब मिलाउनका लागि सचिवालयमा राखेका हुन् । यस्तो होइन भने माओवादीमा धेरै नेता कार्यकर्ता छन् । किन प्रमुख स्वकीय सचिव बनाउनु हुन्न ?’ पन्तले बैठकमा भने ।
त्यसपछि अर्का केन्द्रीय सदस्य तथा प्रवास कमिटी अध्यक्ष ओम शर्माले प्रचण्डले प्रधानमन्त्री भएर राम्रो काम गरिरहे पनि छोरी–ज्वाइँले त्यो सबै खाइदिएको टिप्पणी गरेका थिए । शर्माले माओवादी पार्टी प्रचण्डका छोरी–ज्वाइँले सिध्याएको आरोपसमेत लगाएका थिए ।
‘ज्वाइँलाई रोएको भरमा मन्त्री बनाउने ? जनताका छोराछोरी संगठन बनाउन गाउँ–गाउँ जाने । तपाईंका ज्वाइँ–छोरी मुगुमा पार्टी बनाउन जान्छन ? म जान तयार छु । तपाईं र माओवादी नेताहरूको सम्पत्ति छानबिन गर्न तयार हुनुहुन्छ कि हुनुहुन्न ?’ शर्माले प्रश्न गरेका थिए ।
बैठकमा सहभागी एक नेताका अनुसार ‘गंगा दाहालको अभियानको प्रभाव बैठकमा देखिन थालेको छ । केही साथीहरू एजेन्डाभन्दा बाहिर गएर गुणगान गाउन थाल्नु भएको छ । तर, धेरै साथीहरूले नेतृत्वको आलोचना नै गरिराख्नु भएको छ । आलोचना पार्टी सुधार्न हो, प्रचण्डलाई सुधार्न हो । प्रचण्ड र पार्टी सक्न होइन । तर, छोरी–ज्वाइँले यो कुरा बुझ्दैनन ।’
२२ नेतृ केन्द्रीय सदस्यमा मनोनित
यसैबीच माओवादी केन्द्रको केन्द्रीय समितिमा २२ जना महिला नेतृ थपिएका छन् । योसंगै माओवादी केन्द्रको केन्द्रीय समिति ४ सय ७ सदस्यीय भएको छ । माओवादी केन्द्रको केन्द्रीय समितिमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व गराउँन उनीहरुलाई मनोनित गरिएको हो ।
आङदावा शेर्पा, इन्दिरा अधिकारी, उमा कपाली, उर्मिला विक, गंगा खड्का, गीताकुमारी कँडेल चौलागाईं, गीता शाही, छमकुमारी खनाल, दिलमाया बूढामगर, नीरमाया श्रीस, निशा न्यौपाने, पार्वती थापा, भगवती तिवारी, मोतिकला चलाउने, लालकुमारी पुन, लिला शर्मा, सपना परियार, सीता दाहाल, सुशीला घिमिरे, सुशीला पौडल, सूर्यकुमारी विक, सरू चौधरी केन्द्रीय सदस्यमा मनोनित भएका हुन् ।
माओवादी केन्द्रका सचिव गणेश साहले बैठकमा अध्यक्ष प्रचण्डको राजनीतिक एवं सांगठनिक प्रतिवेदन, सरकारको कामको समिक्षा, पार्टी सुद्धृढीकरणका लागि तीन महिने अभियान, मंसिरमा विधान महाधिवेशन, त्यसको तीन महिना पछि हुने विशेष महाधिवेशन, विधान संशोधन, नेताहरुको जिम्मेवारी बाँडफाँड लगायतका बिषयमा छलफल चलिरहेको बताए । तीन दिनका लागि भनिएको बैठक पाँच दिनसम्म चल्ने बताइएको छ ।