खुला व्यायामशालाका कन्तबिजोग

यहाँ प्रस्तुत १२ मध्ये ३ र ९ तस्बिर ललितपुर गोदावरी नपाका झरुवारासी तथा चापागाउँमा निर्माण गरिएका ‘खुला व्यायामशाला’का हुन् । झरुवारासी १३ र चापागाउँ ११ वडामा पर्छन् । यीमध्ये

झरुवारासी पार्कमा निर्मित व्यायाशालाको तीन ‘इक्युपमेन्ट’ भाँचिदिइएका र चापागाउँ धार्मिक वनभित्रको व्यायाशालाका थोरैमात्र ‘इक्युपमेन्ट’ सद्दे अवस्थामा छन् ।

झरुवारासीमा निर्माण गर्नुअघि १५ साउन २०७८ मा गोदावरी नगरप्रमुख गजेन्द्र महर्जनबाट चापागाउँको पहिलो सार्वजनिक व्यायामशाला शुभारम्भ गरिएको थियो । अहिले सो व्यायामशाला दयनीय अवस्थाबाट गुज्रिरहेको छ । सर्वसाधारण भँचाइएका ‘इक्युपमेन्ट’मा जसोतसो शरीर तन्काइरहेका देखिन्छन् । स्थानीयका अनुसार ‘केही उच्छृंखल मानसिकता’ भएका व्यक्तिबाट व्यायामशालाका सामग्री तोडफोड भएका हुन् । ‘रातको समय जाँड–रक्सी पिएपछि यहीँ आएर होहल्ला गर्दै डाङडुङ गर्छन्,’ एक प्रत्यक्षदर्शी भन्छन्, ‘चारैतिर अँध्यारो हुन्छ, जसले जे पनि गर्न सक्ने अवस्था छ ।’

रातको समय बज्रबाराही मन्दिर परिसरबाहेक वन क्षेत्र अन्धकारप्रायः रहने भएकाले पनि ‘उच्छृंखल तत्व’ सक्रिय हुने गरेको स्थानीय बुझाइ छ । सुरक्षाको दृष्टिकोणले वनभित्र बाटो पर्ने क्षेत्रमा ठाउँठाउँमा बत्ती तथा सीसीटीभी क्यामरा राख्नुपर्ने आवश्यकता देखिन्छ ।

उता, बज्रबाराही धार्मिक वन संरक्षण अधिकारप्राप्त निकाय ज्योतिदय संघ अध्यक्ष बद्री देशारका अनुसार व्यायामशालाका भँचाइएका सामग्री मर्मत क्रममा छन् । ‘पहिले पनि मर्मत गरेका थियौं, तर वेल्डिङ गर्न बिजुलीको पावर नपुगेकोले त्यति बलियो भएन,’ उनी भन्छन्, ‘अब भने पहिलेभन्दा बलियोसँग मर्मत गर्दै छौं ।’

‘केही उच्छृंखल व्यक्ति’ पत्ता लागे पनि प्रमाण नभएकाले कारबाही गर्न नसकिएको संघ अध्यक्ष देशार बताउँछन् । आगामी दिन भने सूचना बोर्ड, काँडेतारलगायत व्यवस्था गरेर मर्मतपछिका व्यायामशाला जोगाउन पहल गरिने उनले जानकारी दिए । ‘त्यसबाहेक आफैंमा चेतना नआएसम्म संरक्षण गर्न गाह्रै हुन्छ तर असम्भव भने छैन,’ देशार भन्छन् ।

तपाइको प्रतिक्रिया
(Visited 237 times, 1 visits today)

epaper

ताजा समाचार

मौलापुरमा ‘नगर मास्टर’ र ‘नगर डाक्टर’ कार्यक्रमलाई निरन्तरता