नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिए । समय छँदै उनले अरूलाई पालो दिए । यो निर्णय लिनु उनका अनुसार सजिलो भने थिएन । यही खेलले उनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा चिनाएको थियो तथापि उनले यही मौकामा सन्न्यास लिनु उचित ठाने । यो उनका लागि, उनका सहपाठीहरूका लागि र खेल जगतका लागि न्यायिक थियो । खेल जगत वैयक्तिक होइन, यो सार्वजनिक र आमजनताको चासोको क्षेत्र पनि हो । सार्वजनिक चासोको क्षेत्र भएको हुनाले उनले देश, काल र परिस्थितिलाई ख्याल गर्नुपर्ने कुरा र जिम्मेवारी पनि आयो । उनले यसै मौकामा सही निर्णय गरे र अन्तर्राष्ट्रिय खेल जीवनबाट बिदा लिए, यो सराहनीय कुरा हो । सार्वजनिक जीवन नितान्त व्यक्तिगत र वैयक्तिक स्वार्थका लागि मात्र पनि हुँदैन । यो जीवन नेपाल र नेपालीको चासो र प्रतिष्ठाको विषय पनि हो । सबैले ज्ञानेन्द्र मल्लले ठीक गरे भनेर मूल्यांकन गरिहेका छन् । मल्ल आफैले पनि यो कुरा स्वीकार गरिरहेका छन् ।
नेपालमा अहिले यस्ता धेरै क्षेत्र छन्, जहाँ बिदा, स्वेच्छिक अवकाश र सन्न्यास अति जरूरी छ । समय र परिस्थितिले निकै कोल्टे फेरिसक्यो । समाज रूपान्तरणको गतिमा परिवर्तन आइसक्यो । जनताले चाहना गर्ने विषय र क्षेत्रमा आकाश–पातालको बदलाव आइसक्यो । तर, सिंगो समाजको गतिअनुरूप यसको नेतृत्व गर्ने राजनीतिक शक्ति अकर्मण्य र यथास्थितिवादी बनेर बाटोमा गजधुम्म परेर बसिरहेको छ । देश, काल, परिस्थिति कहाँ पुग्यो ? नेतृत्वले अनुमान लगाउनुपर्ने अवस्था छ । थाहा पाएर, जानेर, बुझेर, नेतृत्व गरेर अघि बढ्ने अवस्था त छँदै छैन । त्यसैले, नेपाली राजनीतिमा यथास्थिति र पश्चगमनको ढोल निकै बजिरहेको छ । राजनीतिक पार्टीहरूमा स्वेच्छिक बिदा, अवकाश आदिका कुरा त छँदै छैन । झन् सन्न्यास भन्ने कुराले त ठाउँ पाउने भन्ने कुरै भएन ।
पार्टीका शीर्ष नेताहरूमा ‘पूर्व’को कहालीलाग्दो ताँती छ । यो लहरो पूर्वअध्यक्ष, पूर्वमहासचिव, पूर्वप्रधानमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद गरी निकै जेलिएको र गुत्थिएको छ । हरेक काममा ‘टेस्टेड’ र ‘फेलर’को परिणाम छ । तर, ‘पूर्व’, ‘टेस्टेड’, ‘फेलर’ आदि पाललैपालो, घुमीघुमी देशको नेतृत्व गर्ने र गर्न पाउने ‘लाइसेन्स’ बनिरहेको छ । यो ठूलो दुर्दशा र विडम्बनाको कुरो हो । यसको शुद्धीकरणका लागि पटकपटक आवाज नउठेको पनि होइन । तर, विकल्परहित बनेका वा बनाइएका पार्टीका शीर्ष नेताहरूलाई शुद्धीकरणको हावाले छुन सकिरहेको छैन । बरू युवा नेतृत्व काँटछाँटमा परेका छन्, खुम्चिएका छन्, ‘साइज’मा ल्याइएका छन् । नेताहरूमा त्याग, सन्न्यास र अवकाश भन्ने कुराले छुनेसम्म पनि गरेको छैन । नेपालको वर्तमान राजनीति र यसको सकसपूर्ण यात्रालाई नियाल्ने हो भने सन्न्यास र अवकाशको ढोका खोल्न ढिला भइसकेको छ । यसैका कारण भ्रष्टाचार, तस्करी, कालोबजारी, महँगी र कमिसनको राज फैलँदै र जब्बर हुँदै गइरहेको छ । आफ्नो निश्चित कार्यकालपछि अवकाश वा सन्न्यास निकै जरूरी भइसकेको छ । ढिलै भए पनि राजनीतिक क्षेत्रमा क्रिकेटर मल्लको सन्न्यासलाई आवश्यकताका आधारमा पछ्याऔं !






