काठमाडौं । काठमाडौं महानगरपालिकाले कपन खहरे खोला खोल्न सुरु गरेको छ । काठमाडौं महानगर र बूढानीलकण्ठ नगरपालिकाका प्रतिनिधिबीच ३ बुँदे सहमति भएपछि खहरे खोला खोल्न महानगरले डोजर चलाएको हो । काठमाडौं महानगरपालिका–७ र बूढानीलकण्ठ नगरपालिका–१० को सीमानामा पर्ने कपन खहरे खोला खोल्न अहिले दुई वटा डोजर प्रयोग भएको छ ।
धोवी खोलादेखि साततल्लेसम्मको बुनपा–१० र कामनपा–७ सीमा भागमा नापजाँच भइ पर्खाल लगाइ सकिएको हुँदा उक्त भागको सतहमा रहेको पुरानो खहरे खोलामा राखिएको ह्युम पाइप निकाल्ने साथै आवागमन गर्ने स्थानः १. धोविखोला करिडोर, २. पाथिभरा बस्ती, ३. समता टोल जाने बाटो, ४. सात तल्लेका चोक जस्ताको त्यस्तै राख्ने वा आवश्यकता अनुसार कामनपाले बेलीब्रिज निर्माण गर्ने सहमतिको पहिलो बुँदामा उल्लेख छ ।
सहमतिको दोस्रो बुँदामा सात तल्ले चोकदेखि माथि बुनपा–१०, १२ र कामनपा ६ मा दुवै तर्फका जग्गा धनीको नक्सा पूर्जा अनुसार जग्गा छुट्याइ बाँकी भएको जग्गा खहरे कायम गरी महानगर र नगरपालिकाको सीमाना खहरे भाग रेखांकन गरी छुट्याउन सहमति भएको छ ।
यस्तै नापजाँचबाट नगरपालिकाको सीमा एकीन गरी खहरे भाग समेत छुट्याइएपछि दीर्घकालीन समस्या समाान हुने गरी योजना बनाइ खहरे तथा बाटो व्यवस्थापन गर्ने सम्बन्धमा दुवै स्थानीय तहको सम्बन्धित वडाध्यक्षहरुको लिखित सहमतिमा दोस्रो चरणको काम सुरु गर्ने । दुवैतर्फबाट काम सहजीकरण गरी विवाद निरुपण गर्ने सहमति भएको छ ।
सहमतिमा काठमाडौं महानगरपालिका वडा नं. ७ का अध्यक्ष विमल होडा र ६ का अध्यक्ष भुवन लामा तथा बुढानीलकण्ठ नगरपालिका वडा नं. १० का अध्यक्ष नवराज भट्टराई र १२ का अध्यक्ष शुम्भप्रसाद भट्टराईले हस्ताक्षर गरेका छन् ।
महानगरले बिहीबार नै सो क्षेत्रमा डोजर चलाउन खोज्दा बूढानीलकण्ठका जनप्रतिनिधि र स्थानीयले विरोध गरेपछि महानगरको टोली पछि हटेको थियो । शुक्रबार चावहिलस्थित नापी कार्यालयमा नक्सा सहित दुवै पक्षको उपस्थितिमा बसेको बैठकमा खहरे खोला खोल्ने विषयमा सहमति भएको हो ।
