इटहरी । डेङ्गु रोगको महामारी फैलिएको धरानमा जनस्वास्थ्यको आपतकालीन घोषणा गर्न सरकारसँग माग गरिएको छ । जिल्ला विपत् व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले धरान उपमहानगरपालिकालाई आपतकालीन अवस्था घोषणा गर्न गृह मन्त्रालय तथा कोसी प्रदेश सरकारलाई आग्रह गरेको हो ।
डेङ्गु सङ्क्रमणले सुनसरीका १२ वटै स्थानीय तहहरुमा ८ हजार ४ सय ९२ जना बिरामी हुनुका साथै धरानमा मात्र ९ जनाको मृत्यु भएकोले आपतकालीन अवस्था घोषणा गर्न सङ्घीय र प्रदेश सरकारलाई आग्रह गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन् । डेङ्गु रोगको तीव्र सङ्क्रमण फैलिइरहेको हुनाले धरानलाई घोषणाका लागि जिल्ला विपत् व्यवस्थापन समितिलाई स्वास्थ्य कार्यालय सुनसरीले साउन २१ गते आग्रह गरेको थियो ।
उक्त आग्रहलाई सोही दिन बसेको जिल्ला सुरक्षा समितिको बैठकवाट समेत निर्णय भएकोले धरानलाई स्वास्थ्य आपतकालीन घोषणा गर्न सरकारलाई आग्रह गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताइन् ।