काठमाडौं । भारतीय नागरिकलाई लुट्ने एक जना प्रहरीसहित तीन जना पक्राउ परेका छन् । राजधानीको न्युरोडमा सुन पसलमा कालीगढको रुपमा काम गर्दै आएका भारतीय नागरिकलाई नरदेवीबाट लुटपाट गर्ने प्रहरी हवल्दार प्रदिप रानासहित धादिङका नरमान तामाङ र पेमान तामाङलाई जनसेवा प्रहरीले पक्राउ गरेको हो ।
राना प्रहरी प्रधान कार्यालय सुरक्षा महाशाखा नक्सालमा कार्यरत रहेका प्रहरी हवल्दार हुन् । उनी प्रधान कार्यालयबाट ड्युटी सकेर महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेमा सुत्न जाने गरेका थिए ।
जनसेवाका डीएसपी सुनिलजंग शाहका अनुसार पीडित पक्षले तीन तोला सुन लुटिएको उजुरी दिएका छन । तर उनीहरुको साथबाट एक तोला सुन मात्रै बरामद भएको डीएसपी शाहले जानकारी दिए ।
पक्राउ परेका सबैलाई अदालतबाट म्याद थप गरेर अनुसन्धान जारी राखिएको बताइएको छ । उनीहरु पहिले पनि लुटपाटमा संलग्न रहेको वा नरहेको ’bout समेत अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।