काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको गठबन्धन सरकारले अहिले विभिन्न भ्रष्टाचारका काण्डको छानबिन र कारबाही प्रक्रिया अगाडि बढाइरहेको छ । भ्रष्टाचारका ती पुराना फाइल खुल्दा राजनीतिज्ञ, कर्मचारी वृत्तका साथै संलग्नमा त्रास नै छाइरहेको छ ।
एकपछि अर्को भ्रष्टाचार काण्डका फाइल खुल्न थालेपछि भागाभाग पनि चलिरहेको छ । झापाको ‘गिरीबन्धु टि–स्टेट’मा पनि नीतिगत भ्रष्टाचार भएको चर्चा लामो समयदेखि चल्दै आएको छ । गिरीबन्धु टि–स्टेटको फाइल खुल्ने भय सबैभन्दा बढी एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमा रहेको कुरा उनका पछिल्ला अभिव्यक्तिबाट पनि अनुमान गर्न सकिन्छ ।
त्यसो त, प्रधानमन्त्री दाहाल स्वयंले गिरीबन्धु टि–स्टेटमा भएको भ्रष्टाचार काण्डको फाइल खुल्ने संकेत यसअघि नै गरिसकेकाले पनि ओलीमा त्रास छाएको हुन सक्छ । ’cause ओली प्रधानमन्त्री हुँदा गिरीबन्धु टि–स्टेट जग्गा काण्ड भएको हो । यति मात्र होइन, गोकर्ण रिसोर्ट, ओम्नीलगायतका प्रकरण पनि ओली प्रधानमन्त्री भएकै बेला भएको हो ।
गिरीबन्धु टि–स्टेटमा भएको भ्रष्टाचारको फाइल खुल्ने संकेत पाएपछि ओलीले सो फाइल खोल्न आवश्यक नभएको टिप्पणी यसअघि नै गरेका छन् । बिहीबार भक्तपुरमा नेपाल भुतपूर्व सैनिक तथा प्रहरी संगठनको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले सरकारले आफ्नो संलग्नता हुँदै नभएको गिरीबन्धु टि–स्टेटमा कुरा झिकेर भ्रम छर्न खोजेको बताए । गिरिबन्धु टि–स्टेटको ३ सय ४३ बिघा जग्गाको घोटालामा राष्ट्रिय सहमति भएको जस्तो देखिन्छ ।
भूमाफिया र जग्गा दलालको योजनामा झापाको अर्जुनधारा र बिर्तामोड नगरपालिकामा रहेको हदबन्दीभन्दा बढीको ३ सय ४३ बिघा जग्गा बेचबिखन गर्नकै लागि तत्कालीन प्रधानमन्त्री ओली सरकारले भूमि ऐनको १८औं संशोधन गराएको थियो । ऐन संशोधन भएपछि ओली सरकारले फास्ट ट्र्याकमा मन्त्रिपरिषद् बैठक बसेर गिरीबन्दु टि–स्टेटको जग्गा कौडीमा बेचबिखन गरेर नजिकैको पृथ्वीनगरमा चिया बगान स्थानान्तरण गर्ने निर्णय गरेको थियो ।
तत्कालीन भूमि सुधारमन्त्री पद्मा अर्याल र सचिव टेकनारायण पाण्डेले भूमाफियालाई फाइदा पुग्नेगरी निर्णय गराएकी थिइन् । मन्त्रिपरिषद् बाट निर्णय गराउन र ऐन ल्याउन भूमिका खेल्ने पूर्वमन्त्री अर्याललाई भूमाफियाले कोरियन ब्रान्डको २ करोड रुपैयाँको गाडी उपहार दिएको समेत चर्चामा आएको थियो । एमाले अध्यक्ष ओली, सचिव अर्याललगायतका नेता मुछिएपछि ओलीले त्यसमा आफ्नो संलग्नता नभएको प्रस्टीकरण दिएका हुन् । ओलीले यी काण्डको नाम नलिई आफूले कानुनअनुसार निर्णय गरेको भन्दै त्यसमा आफू नफस्ने टिप्पणीसमेत गरेका छन् ।
बिहीबार आयोजित कार्यक्रममा ओलीले आफूले कानुन पल्टाइपल्टाइ फैसला र निर्णय गरेको बताउँदै भने, ‘मेरा कामकारबाही म प्रधानमन्त्री हुँदा, परराष्ट्रमन्त्री हुँदा, गृहमन्त्री हुँदा मेरा कामकारबाही एक शब्द नचिप्लियोस् भनेर मैले कानुन पल्टाइपल्टाइ फैसला गरेको छु । निर्णय गरेको छु । त्यसमा कसैको इच्छाले केपी ओलीलाई फसाउन सक्दैन । माकुराको जालोमा भैंसी पर्दैन भन्ने यिनीहरूले बुझ्नुपर्छ ।’ ओलीले आफूलाई पञ्चायतकालमा फसाएजस्तै गर्ने भए बेग्लै कुरा भएको भन्दै अहिले आफूले कानुनअनुसारै काम गरेको तर्क गरेका छन् । ‘अब कसैकसैले छाप्न सक्छ, केपी ओलीलाई हत्कडी लायो, जेल भयो भनेर ।
कसैले मलाई गोली हान्न सक्छ आपत्ति छैन तर मलाई पञ्चायतकालमा जस्तै गरेर हुँदै नभएको कुरामा १० वर्ष कैद गर्ने १० वर्ष भुक्तान भइसकेपछि चार वर्ष यसै थुन्यो । अहिले पनि त्यस्तै गर्ने हो भने त बेग्लै कुरा हो ।’ उनले आफूलाई हत्कडी लगाउन सक्ने कुनै ठाउँ नभएको भन्दै आफू ढुक्क भएको बताए । ‘झुटैमा जाने हो भने कानुनले केपी ओलीलाई हत्कडी लगाउन सक्ने कुनै ठाउँ राख्दै राख्दैन । राखेकै छैन । केपी ओली ढुक्कले भन्छ । मलाई थाहा छ, विरोधीहरू छन्, तिनीहरूले सत्यका विरुद्ध काम गर्छन् । तिनीहरू हाम्रा विरुद्ध आइलाग्न सक्छन् । म सचेत छु, कानुनी रूपमा पनि कतै एक शब्द नचिप्लियोस्,’ उनले भने ।
‘कोशी प्रदेशमा प्रचण्ड र नेपालले साम्प्रदायिक हिंसा भड्काउन खोजे’
कार्यक्रममा अध्यक्ष ओलीले प्रधानमन्त्री दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा साम्प्रदायिक हिंसा भड्काउन खोजेको आरोप लगाएका छन् । उनले कोशी प्रदेशमा प्रधानमन्त्री प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष नेपालले जनजाति भिडाएर साम्प्रदायिक हिंसा भड्काउन खोजेको आरोप लगाएका हुन् । ‘अहिले पूर्वाञ्चलमामा उत्पात मच्चाउन कसका कार्यकर्ता छन् भन्दा माओवादी प्रचण्डजीका कार्यकर्ता छन् ।
कोशी प्रदेशमा आन्दोलन गर्नेहरूमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष नेपालका कार्यकर्ता रहेको दाबी ओलीको छ । उनले द्वन्द्व भड्काउन प्रचण्ड र नेपालले कार्यकर्ता भिडाउने काम गरेको भन्दै एमालेले द्वन्द्व मच्चिन नदिने बताए । ‘यी बाहुनले नुवाकोटमा हुन्छ एउटा खेल साँढे जुधाउने भन्ने । ती साँढेको केही दुस्मनी नै छैन । भेटेको पनि होइन, कहिल्यै । आफ्नो आफ्नो थलोबाट ल्याएर अखडामा भिडाउँछन् । अरू छेउमा बसेर ताली बजाउँछन् ।






