जनताले खबरदारी नगर्दा नेताहरू बिग्रिए: दयाहाङ राई

काठमाडौं । अभिनेता दयाहाङ राई सोमबार क्यानडाको टोरन्टो फिल्म फेस्टिभलमा सहभागी हुन टोरन्टो जाँदै छन् । दयाहाङको मुख्य भूमिका रहेको चलचित्र ‘गाउँ आएको बाटो’ टोरन्टो फिल्म फेस्टिभलमा चयन भएको छ । एक साताको टोरन्टो बसाइपछि उनी नेपाल फर्केर अर्को चलचित्र रंगेली ग्याङको छायांकनमा सहभागी हुनेछन् ।

त्यसो त उनले अभिनय गरेको नयाँ चलचित्र ‘नांगो गाउँ’ यही २९ भदौबाट देशव्यापी रिलिज हुँदै छ । क्यानडा जानुअघि आइतबार सञ्चारकर्मीसँगको भेटघाटमा दयाहाङले अहिलेको राजनीतिक विसंगतिलाई सुधार्न आपूmले नांगो गाउँमा नेताको भूमिका निर्वाह गरेको बताए । यसमा उनले गरिव नेताको भूमिका निर्वाह गरेका छन् । अहिले नेता बनेर चुनाव जित्न महँगो बजेट खर्च हुने हुँदा पैसाबिना पनि चुनावमा सफलता हासिल गर्न सकिन्छ भन्ने सन्देश यी अभिनेताले नेता बनेर यो फिल्ममार्फत दिने बताएका छन् ।

दयाहाङले नेताको भूमिका यसअघि चलचित्र ‘कबड्डी–३’ निर्वाह गरेका थिए । त्यसपछि आपूmले दोस्रोपटक चलचित्र ‘नांगो गाउँ’मा नेताको भूमिका निर्वाह गरेको यी अभिनेताले बताएका छन् । सञ्चारकर्मीसँगको कुराकानीमा अभिनेता दयाहाङ राई राजनीतिक विषयमा निकै गफिए । उनले अहिलेको राजनीतिक अवस्था’bout भने, ‘मूलतः अहिले मुलुकको राजनीतिक अवस्था बिग्रनुमा नेताहरू जति दोषी छन्, कार्यकर्ता पनि त्योभन्दा पनि बढी दोषी छन् । थोरै प्रलोभनमा परेर हामीले जनताले नेता चयन गर्ने र त्यो नेताले नराम्रो काम गर्दा पनि आफ्नो पार्टीको भन्दै खबरदारी नगर्ने प्रचलनले नेपालको राजनीतिक अवस्था बिग्रिएको हो,’ उनले अगाडि थपे, ‘यसो भन्दामा म सबै नेतालाई खराब मान्दिनँ । अहिले शीर्ष स्थानमा रहेका कतिपय नेताले आफ्नो पूरा जीवन नै देशको उन्नतिका लागि राजनीतिमा समर्पण गरेर आपूmलाई सच्चा राजनीतिज्ञका रूपमा पनि उतार्नुभएको छ ।’ तर अहिलेको परिवेश, गलत सल्लाहकार र गलत कार्यकर्ताका कारण नेता पनि बिग्रिरहेको समेत उनले बताए ।

चलचित्र नांगो गाउँमा समाजमा राम्रो काम गर्ने व्यक्तिले पैसाबिना पनि चुनाव जित्न सक्छ भन्ने सन्देश दिएको पनि यी अभिनेताले बताएका छन्, ‘कयौं नयाँ नेताहरू आफ्नो कुशल कामकै कारण पैसा खर्च नगर्दा पनि चुनाव जितेर सांसद बनेका छन् । तर, दोस्रोपटक आफ्नो जिम्मेवारी बिर्सेर भ्रष्ट रूपमा नांगिएपछि उसले चुनाव हारेको यहाँ कयौं उदाहरण छन् ।’ अभिनेता दयाहाङ राईले अगाडि थपे, ‘हामी किन केन्द्रको कुरा गर्नु, राजनीतिक विकृति त गाउँगाउँमै छ । आजकाल कुनै पनि काम गर्नुपर्दा गाउँमै राजनीतिक भनसुन गराउने तथा आर्थिक लेनदेनमा विश्वास गर्ने क्रम हामीजस्ता जनतामै बढेका कारण पनि राजनीतिक पद्धति बिग्रिएको हो ।’

चलचित्र नांगो गाउँलाई पत्रकार तथा निर्देशक दीपेन्द्र लामाले निर्देशन गरेका हुन् । जसमा दयाहाङ र मिरुना मगर मुख्य भूमिकामा छन् । राजनीतिक चेत भएका निर्देशक दीपेन्द्रले यो चलचित्रको स्क्रिप्टमा तल्लोदेखि माथिल्लो तहसम्मकै राजनीतिक समस्यालाई उठान गरेकाले आपूmले नांगो गाउँमा अभिनय गरेको पनि दयाहाङ राईले बताए, ‘अहिलेको समाज, गाउँ नै गाउँ नरहेको र सहर बन्न नसकेको बस्तीको कथा, बाँजा रहेका खेतबारीको अवस्था र युवापुस्ताहरू पलायनको जुन अवस्था छ । चलचित्र नांगो गाउँले पनि सोही कथा प्रस्तुत गरेको छ,’ दयाहाङले भने ।

राजनीतिक विसंगतिसँगै अन्य कारणले गाउँ नांगिँदै गएको चिन्ता उनले फिल्ममा व्यक्त गरेको बताएका छन्, ‘खासमा म गाउँमा हलो जोत्नको अल्छीले सहर भागेको मान्छे हुँ । त्यो मैले छोडेको मेरो गाउँ अब पहिलोको जस्तो मौलिक गाउँ रहेन, खराको छानेको ठाउँमा टिनको छानो र काठको घरको ठाउँमा पक्की घरको कारण त्यो अब अर्कै भइसकेको छ,’ उनले थपे, ‘हामीले सात दिन लगाएर ढाकरमा लत्ताकपडा, नुन तथा आवश्यक बोकेर गाउँ लैजान्थ्यो तर अहिले घरमै रोड पुगेका कारण गाडीबाटै सबै सामान आँगनमा पुग्छ ।’ त्यो पहिलाको अग्र्यानिक गाउँमा आजकाल अग्र्यानिक केही कुरा पनि नपाइने अनुभव उनले सुनाए । आफ्नो मात्र हुन, मुलुकका कैयौं गाउँ यसैगरी परिवर्तन भएकाले ती गाउँको कथा यो चलचित्रमा प्रस्तुत गरिएको पनि उनले बताए ।

अभिनेता दयाहाङले अर्को चलचित्र दिमाग खराबमा पनि नेताको भूमिका निर्वाह गरेका छन् । राजनीतिक चेतका लागि धेरैभन्दा धेरै चलचित्र राजनीतिक समस्यामा केन्द्रित भएर बन्नुपर्ने उनको कथन छ, ‘जीवनमा म नेता बन्ने योजनामा छैन । तर चलचित्रमा नेताको भूमिकामार्फत समाज रूपान्तरणका लागि निरन्तर लागिरहेनछु,’ अभिनेता दयाहाङले भने, ‘राज्य चलाउन कुशल नीति नै राजनीति हो । जबसम्म मुलुकको राजनीतिक अवस्था राम्रो हुँदैन, तबसम्म त्यो मुलुकको भविष्य उज्ज्वल नहुने हुँदा हामीले राजनीतिक विकृतिविरुद्ध खबरदारी गरिरहनुपर्छ र चलचित्र नांगो गाउँले पनि यस्तै खबरदारी गरेको छ ।’

तपाइको प्रतिक्रिया
(Visited 159 times, 1 visits today)

epaper

ताजा समाचार

ह्यारी केनलाई ब्यालन डी’ओर