तिज पर्वको मौलिकता

नेपालमा १०औं शताब्दीपछि विभिन्न चाडबाड मनाउन थालिएको पाइन्छ । खासगरी लिच्छवीकालपछि हामीकहाँ विभिन्न चाडपर्व मनाउन थालिएको हो । एक वर्षको भित्तेपात्रो अगाडि राखेर हेर्ने हो भने हामीकहाँ चाडपर्व, मेला, जात्रा वा विभिन्न खालका उत्सव, दिवस नपरेको महिना वा दिन पाउन मुस्किल नै पर्छ । हरेक दिन कुनै न कुनै उत्सवका रूपमा देखिन्छन् । चाडपर्व त महिनैपिच्छे परेका नै हुन्छन् । कतिपय चाडबाड हामी हाम्रो संस्कृति, मौलिकता र परम्परागत शैलीमा मनाउँछांै भने कतिपय चाडबाड आधुनिकता दिने नाउँमा मौलिकता नै गुम्नेगरी मनाइएको पनि पाइन्छ । यस्ता विविध चाडमध्ये आशन्न तिज पर्व पनि एक हो ।

पर्व एक, नाम अनेक
हामीकहाँ चलिआएका विभिन्न चाडपर्वमध्ये तिज एउटा महत्वपूर्ण पर्व हो । आदिकालदेखि चल्दै आएको यो पर्व सुरुमा भाद्र शुक्ल द्वित्तीयादेखि पञ्चमीसम्म चार दिन मनाइने प्रचलन थियो । अहिले भने यसरी चार दिनमा तिजलाई खुम्चाउन नसकिने अवस्था छ । सुरुमा यो पर्व नेपालमा प्रायः क्षेत्री बाहुनले बढी मनाउने र आदिवासी, जनजातिले त्यति महत्व नदिने गर्थे । तर, अहिलेको मिश्रित बसाइका कारण सबैको साझा पर्वका रूपमा यसलाई लिने गरिएको पाइन्छ । नेपाली बृहत् शब्दकोशले तिजलाई ‘नारीहरूले समृद्धिका निम्ति धार्मिक परम्पराअनुसार शिव पार्वतीको उपासना र पूजा गर्ने दिन भनेर’ परिभाषित गरेको छ ।

भविष्य पुराणमा यसलाई हरितालिका भनिएको छ । पार्वतीको विवाह विष्णुसँग हुन लागेकोमा उनीसँग विवाह हुन नपरोस् महादेवसँग विवाह होस् भन्ने पार्वतीको चाहना सघाउन उनका सखीले उनलाई हरण गरेर जंगलमा लुकाएको हुनाले यसलाई हरितालिका भनिएको हो भन्ने पनि पाइन्छ । उनले जंगलमा खाएको कुरा कालान्तरमा हामीले दर भनी खाने गरिएको, तृतीयामा आर्य पार्वती र अनार्य शिवको बिहे भई शिवजीसमेत ताण्डव नृत्य गर्ने गरेकाले यस दिनको सम्झनामा नेपाली चेलीहरूले तिजको नाचगान गर्न थालेका हुन् भन्ने कहावत पनि पाइन्छ ।

चाडपर्व हाम्रा अमूल्य धरोहर हुन्, यिनको अस्तित्व निमिट्यान्न पार्नुहुँदैन

यसो त उहिल्यैदेखि मानी आएका पर्वमा तिजलाई नारी विशेषको पर्व र यस अवसरमा गाइने गीतलाई स्वास्नी मानिसले गाउने पर्वगीतका रूपमा हेरिएको छ । तिजकै अवसरमा गाइने हुँदा यस्ता गीतलाई तिजेगीत पनि भन्ने गरिएको छ । वर्षदिनसम्म मेलापात, घाँसदाउरा गर्दै दिन गुजार गरिरहेकी नारीले आफ्ना कथा, व्यथा र सामाजिक विकृति एवं विसंगतिलाई यही तिजको अवसर पारेर गीतका रूपमा अभिव्यञ्जना दिने गर्छन् । गीतमा उनीहरूले प्रयोग गर्ने शब्दशक्ति अभिधाभन्दा निकै पर लक्षणा र व्यञ्जनास्तरको हुन्छ । यसैकारण यस्ता गीत यथार्थपरक र सुधारोन्मुख हुन्छन् । व्यंग्यात्मक शैलीका यस्ता गीतमा सक्कली नेपालीपन पाइन्छ । नेपाली चेलीहरूको अन्तरमनको पीडाको प्रतिनिधित्वका हिसाबले यी गीत अब्बल मानिन्छन् ।

नारीप्रधान चाड
तिज नेपाली महिलाका निम्ति व्रत, उपवास र शिवजीको उपासनाको पर्व पनि हो । शिव पुराणमा शिवजीको महिमा वर्णन गरिएको छ । हिमालय पर्वतकी पुत्री पार्वतीले श्री महादेव स्वामी पाऊँ भनी कठोर तपस्या गरी महादेवसँग उनको विवाह भएको कुरा शिव पुराणमा उल्लेख गरिएको छ । कुमार सम्भव महाकाव्यमा कालिदासले पार्वतीको कठोर तपस्यालाई चर्चा गरेका छन् । पार्वतीले व्रत बसेर उनको मनोकामना पूर्ण भएकाले अरू महिला पनि आ–आफ्ना मनोकामनासहित (अविवाहित नारीले असल पति पाऊँ भनी तथा विवाहित नारीले पतिको चिरायूका लागि) व्रत बस्न थालेको जनश्रृति पनि पाइन्छ । व्रत वा उपासना आफैंमा नराम्रो पक्ष होइन । विज्ञानले समेत महिनामा एक दिन खालीपेटलाई राम्रै मान्छ ।

श्री श्री आनन्दमूर्तिद्वारा निर्देशित आनन्दमार्गमा समेत उपवास’bout चर्चा गरिएको छ र यस प्रकारको उपवास प्रत्येक एकादशीमा गर्नु उत्तम हुने तथा यसको आरम्भ र अन्त्य (उपवासको सुरु कसरी गर्ने र उपवास कसरी अन्त्य गर्ने) ’boutमा चर्चा गरिएको पाइन्छ । यस अर्थमा तिजमा हाम्रा महिलाले बस्ने ब्रतलाई सकारात्मक रूपमा लिन सकिन्छ । तर, उपवासका नाममा गरिने चेलीबेटीको व्रतको एकोहोरोपना, व्रत बस्ने दिनभन्दा अघिल्लो दिनको मध्यरातमा दरका रूपमा खाने अपाच्य खाना कति ठिक, कति बेठिक त्यसको समीक्षा अलग प्रसंगमा गरांैला ।

हराउँदो मौलिकता
हिजोका दिनमा जसरी तिजको सुरुवात भयो आज यसले विगतको विरासत धान्न सकेको छैन । हुनेले मिठो मसिनो नहुनेले पिठो मसिनो खाने पर्व थियो तिज । सात डाँडा पारी विवाह गरी पठाएका चेलीबेटीलाई बाबाआमा, दाजुभाइ लिन गएर घरमा जम्मा गरी मिठो मसिनो खाने खुवाउने दिन थियो तिज । असल भाइचाराको गाँठो कसिलो बनाउने पर्व थियो तिज । चेलीलाई माइती लिन जानुपर्ने, घर पक्षले अरूबेला नभए पनि यसबेला माइत पठाउनैपर्ने पर्व थियो तिज । सायद यसैकारण माइतीको महत्वबोध बढी हुन्थ्यो ऊबेला नेपाली चेलीहरूलाई ।

आज यो अवस्था रहेन । भाद्र शुक्ला द्वितीयादेखि सुरु हुने तिज असारको हिलो फाल्दा नफाल्दै सुरु हुन्छ । सांगीतिक तयारी हुनु स्वाभाविकै होला तर कम्तीमा पनि तिजे गीत गाउनलाई कृष्णाष्टमी कुर्नुपथ्र्यो अनि मात्र यसको महत्व हुन्थ्यो । कथित सहर बजारमा साउनको आरम्भसँगै भड्किला तथा उत्ताउला पहिरनसहित दिनहुँजसो पार्टी प्यालेसमा हुने भोज भतेर, नक्कली नै सही, प्रतिस्पर्धामा महिलाले पहिरने गरगहना, अनावश्यक र अस्वाभाविक शृंगारपटारजस्ता कुराले तिज महिलाको महान् चाड हो भन्ने कुरालाई बिर्साइदिएको पाइन्छ । हुने खानेहरूलाई त यसले राम्रै गर्ला अथवा नराम्रो गरे यसको फल उनैले भोग्लान्, जसले तिजै नआई तिज मनाउँछन् । तर, हुँदा खाने नेपाली समाजका अन्य महिलालाई भने यो अनावश्यक तडकभडक र देखासिकीले नकारात्मक असर पार्ने भयो । बुढी मरी भन्नुभन्दा पनि काल पल्केकोमा चिन्ता लिनुपर्ने भयो ।

तिजलाई भड्किलो र विकृत नहोस् भन्न यसपटक कतिपय जिल्ला प्रशासन कार्यालयले पार्टी प्यालेसलगायतका स्थलमा गरिने तिजे कार्यक्रमका लागि अग्रिम अनुमति लिनुपर्ने जनाएका छन् । यसबाट तिजै नआई तिज मनाउने र तडकभडकका साथ तिज मनाउने प्रवृत्तिमा विगतको तुलनामा कमी आएको छ । यो सकारात्मक पक्ष हो ।

साउन आरम्भसँगै भड्किला पहिरनसहित पार्टी प्यालेसमा हुने भोजभतेर र अस्वाभाविक शृंगारपटारले तिजको महत्व बिर्साइदिएको छ

आरम्भमा कुनै पनि चाडपर्व भडकिला थिएनन् । यी चाडपर्व एकआपसमा मिलेर, हुने र नहुनेबीचको अन्तर कम गर्दै व्यक्तिगत रूपमा मनाइन्थे । एउटाको चाडलाई अर्कोले हस्तक्षेप गर्दैनथिए । जनै पूर्णिमामा लोग्नेमान्छे बढी हावी हुन्थे तिजमा महिला । तर, आज के महिला के पुरुष दुवैले तिजमा नाचगान गरेको देखिन्छ । फेरि विगतका जस्ता सटिक सामाजिक चित्रण गरिएका, सुधारको अपेक्षासहित गाइएका पारिवारिक गीत आज कहाँ सुन्न पाउनु ? तिजे गीत सुन्दा लाग्छ यिनीहरू तिजमा छन् कि रत्यौलीमा । अर्थात् तिज र रत्यौलीमा भेद छुट्याउन नसकिने अवस्था आयो ।

खानपान पनि उस्तै
तिज वर्षायाम सकेपछि पर्ने पर्व हो । तिजमा किसान खानेकुरा संग्रह नै गरी राख्थे । खासगरी दुग्धजन्य पदार्थ यो बेला बढी खाने, खुवाउने चलन थियो । दही, दूधका अलावा घिउ प्रशस्त चाहिने हुँदा तिजका लागि भनेर बकेर्नु भंैसी हुनेले साटफेर गरेरै वा किनबेच गरेर भए पनि लैनु भैंसी किन्थे । तर, आज यो कुरा एकादेशको कथा बनेको छ । तिज सुरु हुनुभन्दा महिनौं अगाडिदेखि खाने र खुवाउने होडबाजी नै चलेको पाइन्छ । सबै पार्टी प्यालेस वा ठुलाठुला होटल तिजमय बन्दै छन् ।

तिज हो वा रत्यौउली छुट्याउनै नसक्ने गरी क्यासेटमा गीत घन्काएर छिमेकीलाई समेत असर पर्नेगरी कृत्रिम नाचमा रमिता देखाउने कुचलन नै छ । हरेकजसो अड्डामा महिला कर्मचारी दर खान वा खुवाउन गएकाले गैरहाजिर हुने गरेको वा पूरा समय सेवाग्राहीलाई नदिएको गुनासा पनि सुन्नमा आउँछन् । खानपानमा पनि तामसी भोजनलाई महत्व दिइएको पाइन्छ । हामीले पुरातनदेखि मानी आएको तिजको वास्तविक मर्म यो थिएन र होइन पनि । माछा मासुसम्म त ठिकै होला, तारे होटलमा खाने खुवाइने मादकपदार्थ (जाँड, रक्सी, बियर)समेतको लतले तिजको पहिचान खोसिएको अवस्था छ, मौलिकता गुमेको छ, जसलाई राम्रो मान्न सकिँदैन ।

चिनारी बचाउन जरुरी
मानिस क्रमशः फुर्सदिला हुँदै छन् । नेपाली चेली चुलाचौकाबाट माथि उक्लिसकेका छन् । आम्दानीको स्रोत बढ्दै छ । यसैले तिज मनाउन तिज नै कुर्नुपर्नै अवस्था छैन । तर, संंस्कृति, परम्परा, रीतिरिवाजमा सापेक्ष सुधार जरुरी छ मौलिकता नै निमिट्यान्न पार्ने गरी होइन । खुर्सानीमा पिरोको स्वाद हराउनु भनेको खुर्सानीको पहिचान गुम्नु हो, मौलिकता नरहनु हो । बस् हाम्रा मौलिक चाडबाड र रीतिरिवाजले पनि सुधारका नाममा मौलिकता गुमाउन हुँदैन । आफ्नो चिनारी कायम राख्दै सापेक्ष सुधारसम्म गर्न सकिन्छ ।

खानपान, लवाइखुवाइमा सादगीपन अपनाई मौलिकता नभाँचिने गरी तिज पर्व मनाउन जरुरी छ । कथित आधुनिकताका नाममा तिज मनाउँदा तिजको पहिचान नै गुम्ने स्थिति कदापि आउनुहुँदैन । चाडपर्व हाम्रा अमूल्य धरोहर हुन्, यिनको अस्तित्व निमिट्यान्न पार्नुहुँदैन भन्ने कुरालाई सबैले मनन गर्न जरुरी छ । संस्कृतिका नाममा विकृति भित्याउन कदापि हुँदैन ।

तपाइको प्रतिक्रिया
(Visited 90 times, 2 visits today)

Ads Space Available

epaper

भर्खरै

तीनपटक सकारात्मक सर्किट लागेको सेयर बजार सयमअगावै बन्द

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बालेन साह केशव स्थापित भन्दा २९४२ मतले अगाडी