चरम भ्रष्टाचारको नमुना बन्दै सर्लाहीको कविलासी नगरपालिका

सर्लाही । सर्लाहीको कविलासी नगरपालिकामा चरम भ्रष्टाचार भएको तथ्य बाहिरिएको छ । कविलासी नगरपालिका वडा नं. ५, रनियामा अस्पताल निर्माणको नाममा चरम भ्रष्टाचार भएको स्थानियहरुले आरोप लगाएका छन ।

नगर प्रमुख, प्रशासकीय अधिकृत, सह–लेखापालको मिलोमतो निर्माण कम्पनीलाई करोडौंको भुक्तानी

रनियामा १५ शैयाको आधारभुत अस्पताल निर्माण गर्न नगरपालिकाले २०७९ असार १३ गते २१ करोड, ८६ लाख ८४ हजार, ९ सय ७७ रुपैया ४९ पैसा भ्याट समेत गरी मिशन– डि. एण्ड एन. जे भि बानेश्वर–१०, काठमाडौंलाई निर्माण कार्य गर्न सम्झौता गरि कार्यदेश दिइएको थियो । कार्यदेशमा २०८२ असार १५ गते भित्र तोकिएको गुणस्तरमा कार्यसम्पन्न गर्ने गरी काम सुरु गर्न कार्यदेश तत्कालिन प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधानले दिए पनि सम्झौता गरेको करिब १ वर्ष २ महिना बितिसक्दा पनि अस्पतालको निर्माण कार्य निराशजनक भएको स्थानियहरुले बताएका छन ।

अस्पताल निर्माण गरिरहेका कम्पनीले निर्माण कार्य र्याफ्टको कार्य भैरहेकोमा निर्माण ब्यवसायीले वर्षायामको मौसममा पनि रयाफ्टको ढलान कार्य आधा सम्पन्न गरेको र आधा रयाफ्टको डण्डी(छड) पानी भित्र डुबानमा रहेकोमा डण्डीमा खिया लाग्ने र डण्डीको गुणस्तर कम्जोर हुने जोखिम रहि आधा रयाफ्ट ढलान भैसकेको कार्य पनि गुणस्तरीय नहुदाँ पनि नगरपालिकाले निर्माण कम्पनीलाई असार मसान्त मै करोडौ रकम भुक्तानी गरेको आरोप स्थानीयले लगाएको छ ।

स्थानीय श्रीनारायण मण्डलले अस्पताल निर्माणको नाममा प्रमुख प्रशासकीय अधिकृत रामनारायण साहले आर्थिक चलखेल गरि ठेकदार कम्पनीलाई काम बराबरको पैसा भन्दा ३ गुणा अधिक पैसा, चार करोड पैसा भुक्तानी गरि चरम भ्रष्टाचार गरेको आरोप लगाए । यो जनताको पैसा हो तर प्रशासकीय अधिकृत लगायत अन्य कर्मचारीहरु मिलि निर्माण कम्पनीको मिलोमतोमा सुरुवात कै क्रममा ठुलो भ्रष्टाचार गरेको मण्डलले आरोप लगाए । पुरै ढलान पानि मुनि डुुबेको छ, रडहरु पानिमा डुुबेको छ, आधा सम्पन्न ढलानको छड पनि महिनौ सम्म पानी भित्र रहि खिया लागेको अवस्था मै ढलान गरेको थियो ।

हामीले सामाजिक रुपमा विरोध गर्दा पनि कसरी निर्माण कम्पनीलाई असार मसान्तमै करोडौ रकम भुक्तानी गर्यो यो त भ्रष्टाचारको पराकाष्ठा नै भयो कविलासी नगरपालिकाका स्थानिय मण्डलले भने । ठेक्का लिएको कम्पनीले सो ठेक्काको निर्माण कार्य गर्ने सम्झौता पालिकासँग गरे तापनि उक्त कम्पनीले पैसाको चलखेल र कमिशनमा उक्त ठेक्का जनकरपुर स्थित रेडियम कन्स्ट्रक्सनको संचालक रोशन मिश्र र दिपक साहलाई पेटि कन्ट्रक्टमा ठेक्का दिई यो प्रोजेक्टलाई अन्योलमा राखी कछुवाको गतिमा कमसल समाग्रीहरु प्रयोग गरि निर्माण कार्य गर्दै गरेको आरोप लगाए ।

अस्पताल निर्माण कार्यमा नगर प्रमुख ब्रह्म्देव राय, प्रमुख प्रशासकीय अधिकृत रामनारायण साह, सह–लेखापाल सुरेन कुमार दासले कमिशनको चक्करमा ठुलो लापारवाही गरेको कविलासी नगरपालिकाका पुर्व मेयर कौशल किशोर यादवले आरोप लगाए । आधा रयाफ्ट ढलान भए पनि त्यो माथि पानी जमेको छ, पानी जमेको उनिहरुले देखेको छ तर पनि नगर प्रमुख राय, प्रमुख प्रशासकीय अधिकृत साह, सह–लेखापाल सुरेन कुमार दास कमिशनको चक्करमा असार मसान्तमा निर्माण कम्पनीलाई एकै पटक निर्माण कार्य सम्पन्न भएको भन्दा अधिक रकम भुक्तानी गरेको पुर्व मेयर यादवले आरोप लगाए ।

यो अहिलेसम्मको कविलासी नगरपालिकाको ठुलो प्रोजेक्ट हो तर सम्झौता भएको लामो समय बितिसक्दा पनि सम्झौता लगत्तै काम शुरूवात नगर्नु र पछि निर्माण कम्पनीले काम गरेको डेढ महिनामा नबित्दै नगरपालिकाले करोडौं रकम भुक्तानी गर्नु भनेको नगर प्रमुख राय, प्रमुख प्रशासकीय अधिकृत साह, सह–लेखापाल सुरेन कुमार दासले चरम भ्रस्टाचार गरेको प्रमाणित भएको पुर्व मेयर यादवले बताए । रयाफ्ट ढलानको काम मुस्किलले ५० देखि ६० लाख सम्मको भए पनि करोडौ रुपैया भुक्तानी गरी मिशन– डि. एण्ड एन. जे भि बानेश्वर–१०, काठमाडौं कम्पनीसँग मिलोमतो गरेर नगर प्रमुख राय, प्रमुख प्रशासकीय अधिकृत साह र लेखापाल दासले चरम भ्रष्टाचार गरेको पुर्व मेयर यादवले आरोप लगाए ।

यो वर्ष त हाम्रो तिर पानी पनि त्यतिको परेको छैन तर पनि निर्माण स्थलमा अत्याधिक पानी जम्नु भनेको गम्भीर विषय हो भनी पुर्व नगर प्रमुख यादवको भनाई रहेको छ । चौतर्फी समाजिक सञ्जालमा अस्पताल निर्माणमा गरेको भ्रष्टाचारको तथ्य बाहिरिए पछि उपमेयर पुनम कर्ण र कार्यपालिका सदस्य बिनय कर्णले प्राविधिक टोलीसहित देखावटी अनुगमण समेत गरेको पुर्व नगर प्रमुख यादवको भनाई रहेको छ ।

नगर उप प्रमुखले पनि अस्पताल निर्माण कार्यमा चरम लापारवाही भएको स्वीकार गर्दै ठेकेदारले निर्माण कार्य कछुवाको गतिमा कार्य गरेको भनी तीन बुँदे त्रुटिहरु देखाई प्राविधिक टोलीलाई निर्माण कार्य गुणस्तर र प्रभावकारी रहोस् भनी सुझाव सहित कडा निर्देशन दिएको भनी समाजिक सञ्जाल मै नगरवासीलाई जानकारी गराउन उनी आफ्नो ब्यक्तिगत फेसबुकबाट पोष्ट गरेकी छिन् ।

कर्णले कविलासी नगरपालिका वडा नं ५ रनिया स्थित निर्माण हुँदै गरेको आधारभूत अस्पताल निर्माणको काम प्रगतिको स्थलगत निरीक्षण गर्न कार्यपालिका सदस्य विनय कुमार कर्ण , वडा नं ७ का वडा अध्यक्ष धर्मेन्द्र यादव , प्राविधिक , वडा सदस्य विष्णु नारायण झा सहितको टोली सहित स्थलगत अनुगमन गरेकी थिइन् ।

अनुगमणको क्रममा अस्पताल निर्माण भएको ठाउँमा ठेकेदार कम्पनीको नाम, ठेगाना र ठेकदारको नाम र सम्पर्क नम्बर सहित आयोजना शुरु भएको मिति, सम्झौता अनुसार निर्माण सम्पन्न हुनुपर्ने मिति, आयोजनाको लागत रकम विवरण सहितको सूचना पाटी नटासिएको देखिएको थियो ।उपमेयर कर्णका अनुसार ठेक्केदारको ठुलो लापापरवाही भएको बताइन् ।

त्यस्तै पालिकासँग निर्माण ब्यवसायीले सो निर्माण कार्य गर्न मिति २०७९-०३-१३ गते सम्झौता गरि करिब १ वर्ष २ महिना बितिसक्दा पनि स्थलगत अनुगमनको क्रममा निर्माण कार्यको प्रगतिको अवस्था निराशाजनक अनुगमणको क्रममा देखिएको थियो ।

योजना शाखा प्रमुख आन्नद किशोर चौधरीले यो बहु वर्षिय योजना हो, ठेक्केदार कम्पनीले सुरुवात धरौटी रकम राखेर एजीपी रकम अर्र्र्र्र्थात सम्झौता भएको रकमको २० प्रतिशत लाने प्रावधान रहेको सोही अनुसार रकम लगेको र यो कानुन सम्वत भएको बताए ।

सार्वजनिक खरिद ऐन २०६३ को दफा ५२ मा सम्झौता भएको रकमको ठेक्केदार कम्पनी मार्फत अग्रिम बैंक जमानत लिई खरिद सम्झौता रकमको २० प्रतिशत रकम नबढने गरी पेश्की दिन सक्ने व्यवस्था रहेको छ । बैंक जमानत नियम अनुसार नभए १० प्रतिशत मात्र दिने प्रावधान ऐनमा उल्लेख छ ।

अस्पताल निर्माण कार्यमा भएको गुणस्तरीयहिन कार्यको ’boutमा प्रमुख प्रशासकीय अधिकृत साह लेखापाल दास लाई बुझन जादाँ नगरपालिकामा अनुपस्थित देखिएको तथा फोन सम्पर्क गर्दा उहाँहरुले फोन उठाउनु भएन । यसैगरी नगर प्रमुख ब्रह्मदेव रायले अस्पताल निर्माणको विषयमा बुझन खोज्दा उहाको फोन उठेन ।

तपाइको प्रतिक्रिया
(Visited 3,298 times, 1 visits today)

epaper

ताजा समाचार

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी