सिन्धुली । नेपाल रेडक्रस सोसाईटी सिन्धुलीले चलाएको एक करोड अभियानमा नागरिक स्तरबाटै ५१ लाख पचासी हजार ५३५ रुपैंया संकलन भएको छ ।
नागरिकबाटै एकाउन्न लाख पचासी हजार संकलन
रेडक्रस सोसाईटीले सिन्धुली अस्पतालमा उपचारका लागि आउने नागरिकलाई निःशुल्क रगत उपलब्ध गराउनका लागि साउन १० गतेबाट सुरु गरेको अभियान करीब ४० दिनमा उक्त रकम जम्मा भएको छ ।
नेपाल रेडक्रस सोसाईटीको ६१ औं स्थापना दिवसका अवसरमा उक्त रकम संकलनको तथ्यांक सार्वजनिक गरिएको हो । बुधबार सिन्धुलीमाढीमा पत्रकार सम्मेलन गर्दै रेडक्रस सिन्धुलीका सभापति अशोक श्रेष्ठले यो अभियानमा ३३० जना नागरिकहरु सहभागि भईसकेका छन ।
पहिलो चरणमा नागरिकहरुलाई सेवामा सहभागि गराउन नागरिक स्तरमै अभियान चलाईएको उनले बताए ।
उनले दोस्रो चरणमा स्थानीय तह, संघसंस्था, शैक्षिक संस्था, सहकारी, सामुदायिक वन उपभोक्ता समिति, राष्ट्रसेवक लगाएतसँग अभियान चलाउने बताएका छन । पत्रकार सम्मेलनमा बोल्दै उनले दोस्रो चरणको अभियान असोज मसान्तसम्म चलाईने बताए ।
श्रेष्ठले यो अभियानका क्रममा उठेको रकम एक करोड भन्दा धेरै उठे पनि अक्षयकोष मै राखिने र त्यसको व्याजबाट निःशुल्क व्लड बैंक सञ्चालन गरिने बताए । कोषबाट आएको रकमबाट व्लड बैंक सञ्चालनमा मात्र खर्च गरिने श्रेष्ठले बताए ।
रेडक्रसले चलाएको अभियान नागरिकहरुले पचास रुपैंयादेखि एक लाख पच्चिस हजारसम्म सहयोग गरेको सभापति श्रेष्ठले बताए । ७ जनाले एकलाख भन्दा बढी रकम सहयोग गरेका छन । २५ हजार सहयोग गर्नेलाई रेडक्रसले विशिष्ट सदस्यता र १ लाख भन्दा बढी सहयोग गर्ने दातालाई यशेस्कर सदस्यता समेत प्रदान गर्ने जनाएको छ । पाँच हजारमाथि सहयोग गर्ने दाताको शिलालेखमा नाम लेख्ने पनि पत्रकार सम्मेलनमा जानकारी दिईएको छ ।
पत्रकार सम्मेलनमा श्रेष्ठले ५ वटा स्थानीय तहले एक करोड अभियानलाई बजेट विनियोजन गरि सम्भौताका लागि बोलाईसकेको बताए ।






