बैतडी डिलाशैनी गाउँपालिका १ कोटपेटराका ४८ वर्षीय इन्द्रराज खत्री महाकालीमा नदी पौडिएर पार गरी नेपाल आए । नेपाल प्रवेश गर्ने पुल बन्द हुँदा पौडी खेलेर उनी नेपाल प्रवेश गरेका हुन् । तस्बिर स्वास्थ्य खबरबाट लिइएको हो ।

काठमाडौं । कोरोना संक्रमणको सन्त्रासपछि सरकारले भारत र चीनसँगको सीमा नाका बन्द गरे पनि अझै धेरै नेपाली लुकीछिपी चोर बाटो हुँदै स्वदेश प्रवेश गर्दै आइरहेका छन् ।

विभिन्न मुलुकबाट नेपाल आएका विदेशी नागरिकलाई सम्बन्धित देशकै सरकारको पहलमा विमान नै पठाएर उनीहरूलाई फिर्ता लग्ने क्रम जारी रहेका बेला नेपाली भने आफ्नै मुलुक आउनसमेत चोर बाटो प्रयोग गर्न बाध्य भइरहेका छन् ।

सोमबार मात्रै देशको पश्चिमी नाकाबाट महाकाली नदी तरेर नेपालतर्फ प्रवेश गर्न लाग्दा प्रहरीले एक नेपाली नागरिकलाई पक्राउ गरेको थियो । यसैगरी, केही दिनअघि दार्चुलाका एक व्यक्तिसमेत ट्युबको सहारामा महाकाली नदी तरेर भारतबाट चोर बाटो हुँदै नेपाल छिरेका थिए ।

प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले सरकारले पटक–पटक नाकामा अलपत्र परेकालाई स्वदेश ल्याएको भन्दै हाल भने कोही अलपत्र अवस्थामा नरहेको बताए ।

सीमा खोल्दा संक्रमणको खतरा : सरकार

अब जो जहाँ छन् त्यहीको सरकारले हेर्ने

‘सरकारले नाकामा अलपत्र परेकालाई ल्याइसकेको छ, अहिले कोही अलपत्र त छैनन्, कोही थाहा हुँदा हुँदै पनि आएर बसेका होलान्,’ प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार भट्टराईले राजधानीसँग भने, ‘अब जो जहाँ पुगेका छन्, त्यहीँ रहन्छन्, त्यहीँको सरकारले हेर्छ ।’

भट्टराईले महामारीको अवस्थामा सीमा नाका पटक–पटक खोल्दा संक्रमणको खतरा बढ्ने भएकाले अब सीमामा आएर रोकिएकालाई सम्बन्धित देशकै सरकारले हेर्ने गरी दुवै देशबीच उच्च स्तरमा समझदारी बनेको जानकारी दिए ।

‘अब सीमामा आएर रोकिएकालाई सम्वन्धित देशकै सरकारले व्यवस्थापन गर्ने भन्ने दुवै देशबीच उच्च स्तरमा समझदारी भएको छ, जो जहाँ छन्, त्यहीँको सरकारको व्यवस्थापनमा रहन्छन्,’ भट्टराईले भने ।

सहमतिअनुसार भारतीय सीमाभित्र रहेका नेपालीको व्यवस्थापन भारतीय पक्षले गर्नेछन् भने नेपालतर्फ रहेका भारतीय नागरिकको व्यवस्थापनको काम नेपाल सरकारले नै गर्नेछ ।

भट्टराईले अत्यन्त जोखिम र संकटको बेलामा विश्व स्वास्थ्य संगठनको प्रोटोकलअनुसार पनि जुन देशका नागरिक जहाँ छन् त्यहीँ रहने भन्ने रहेकाले भारतले सोहीअनुसारको व्यवहार देखाउने विश्वाससमेत व्यक्त गरे ।

सम्बन्धित देशका दूतावास र नियोगलाई समेत नेपाली समुदायलाई सघाउन र समन्वय गर्न परराष्ट्र मन्त्रालयले निर्देशन दिइसकेको भट्टराईले जानकारी दिए ।

चिनियाँ लिन जहाज आउँदै
नेपालमा रहेका चिनियाँ नागरिकलाई लैजान बुधबार एयर चाइनाको जहाज काठमाडौं आउँदै छ ।

नेपाल पर्यटन बोर्ड स्रोतका अनुसार १ अप्रिल पौने १२ बजे काठमाडौंबाट उड्ने गरी आफ्ना नागरिक लिन एयर चाइनाको जहाज आउने भएको हो ।

बोर्डले नेपालमा रहेका र घर फर्कन चाहने चिनियाँ पर्यटकलाई आफ्नो मुलुकको दूतावासमा सम्पर्क गर्न समेत आग्रह गरेको छ । चीनले अहिले विभिन्न मुलुकबाट आफ्ना नागरिकलाई फिर्ता लगिरहेको छ । सरकारले १५ अप्रिलसम्म अन्तर्राष्ट्रिय उडान बन्द गरेपछि धेरैजसो मुलुकले आफ्ना नागरिकलाई धमाधम फिर्ता लगिरहेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 270 times, 1 visits today)

epaper

ताजा समाचार

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री रायमाझी, खाँण र पूर्वसचिव पाण्डे दोषी ठहर (फैसलासहित)