काठमाडौं । संविधान दिवसको अबसर पारे चलचित्र विकाश बोर्डले मगलबार विभिन्न १० सिनेकर्मी र एक सिनेमा सम्बन्धि संस्थालाई पुरस्कृत गरेको छ । सञ्चारमन्त्री रेखा शर्माले उनीहरुलाई ‘सांस्कृतिक रुपान्तरण पुरस्कार –२०८०’ प्रदान गरिन् ।
यसरी पुरस्कृत हुनेहरुमा अग्रज हास्य अभिनेता मदनकृष्ण श्रेष्ठ, अभिनेत्री मिथिला शर्मा, चलचित्र निर्देशकहरु दयाराम दाहाल, मनोज पण्डित, मीनबहादुर भाम, कलाकार मुकुन्द किशोर भट्टराई, निर्माता श्याम सापकोटा, अभिनेत्रीहरु दीपाश्री निरौला, रेखा थापा र चलचित्रकर्मी कल्याणकोष सञ्चालन समितिलाई ‘सांस्कृतिक रुपान्तरण पुरस्कार –२०८०’ प्रदान गरियो ।
नेपाली चलचित्रमा आफ्नो सिनेमाबाट रुपान्तरण गर्ने चलचित्रकर्मीहरुलाई राज्यका तर्फबाट पुरस्कृत गर्न पाउँदा खुसी लागेको सञ्चारमन्त्री शर्माले कार्यक्रममा बताईन् । उनले समाज रुपान्तरणको लागि सिनेमाको महत्वपूर्ण भूमिका भएकाले आगामी दिनमा पनि सांस्कृतिक रुपान्तरण प्रधान सिनेमा बनाउन मन्त्री शर्माले सिनेकर्मीलाई सुझाब दिईन् । सबैलाई सँविधान दिवसको सुभकामना दिँदै मन्त्री शर्माले अहिलेको गणतन्त्रले चलचित्रकर्मीलाई धेरैकुरामा सहजता तुल्याएको बताईन् ।
चलचित्र विकाश बोर्डका अध्यक्ष भुवन केसीले पुरस्कृत सिनेकर्मीहरुको योगदानको कार्यक्रममा चर्चा गरे । नेपाली चलचित्र उधोगलाई माथि उठाउन धेरैको योगदान भए पनि यसपटक आफुहरुले १० जना सिनेकर्मी र एक संस्थालाई मात्र पुरस्कृत गर्न सकेको बताए । आउँदा दिनमा अरुलाई पनि पुरस्कृत गर्दै जाने पनि उनले जिकिर गरे ।