सुनसान मलंगवा, त्रसित मलंगवावासी

सर्लाही । सर्लाही सदरमुकाम मलंगवा यतिबेला सुनसान देखिएको छ । स्थानीयहरू दुई समुदायको विवादलाई लिएर त्रासमा बाँचिरहेका छन् । दुई समुदायको दंगालाई लिएर मलंगवावासीहरू घरमा ताल्चा लगाइ आ–आफ्नो नातेदारको शरणमा गएका छन् । गणेश मूर्ति सेलाउन लगिरहेका बेला बिहीबार साँझ दुुई समुदायबीच भएको विवादले उग्ररूप लिएपछि मलंगवा नगरपालिकामा बिहीबार राति १० बजेदेखि लगाइएको कर्फ्यु निरन्तर रूपमा जारी छ । कर्फ्यु लागेको आइतबार चौथो दिन भए पनि दंगा नियन्त्रण हुन सकेको छैन । ठाउँठाउँमा प्रहरी परिचालन भए पनि तोडफोडलगायतका अन्य हिंसात्मक गतिविधि रोकिएको छैन ।

मलंगवा नगरपालिका–४ की एक महिलाले राति सुत्नेबेला मुस्लिम समुदायका करिब ५० जनाको हतियारधारी समूह आएपछि हिन्दू समुदायका व्यक्तिहरूको भगाभाग भएको बताइन् । उनीहरूको हातमा तलवार, खुकुरीलगायतका हतियार रहेको प्रत्यक्षदर्शीले बताएका छन् । हतियारधारी समूहले मलंगवा नगरपालिका–४ बस्ने अजय ठाकुर, बिकाउ यादव र मलंगवा नगरपालिका–३ का दर्जनौं घरमा तोडफोड गरेको एक प्रत्यक्षदर्शीले बताए ।

हतियाधारीको समूहले घरको ढोका, ग्रील, झयालहरू फुटाएको स्थानीयहरूको भनाइ छ । सो समूहले वडा नं. ४ स्थित नसिर र नुर हसन भन्ने व्यक्तिले खसी काटेर भोजभतेर गरी भारतबाट बोलाइएका र मलंगवाका केही युवा मिली हिन्दूहरूको घरघर गएर तोडफोड गरेको थियो । साथै, परालको टालीमा आगलागी गरेर मुस्लिम समुदायले हतियारसहित दंगा गरेपछि अहिले धेरैजसो स्थानीय घर छोडेर अन्यत्र गएको अवस्था छ, केही बस्ती खाली भएका छन् । मलंगवा नगरपालिकामा कर्फ्यु कायमै भए पनि मलंगवामा हिँडडुल गर्ने र मोटरसाइकल आवतजावत भने भइरहेको छ ।

आइतबार मात्रै पनि वडा नं.४ स्थित एक जनाको मोटरसाइकलमा आगजनी भएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता तथा डीएसपी दीपेन्द्र पञ्जियारले मलंगवाको अवस्था सामान्य भएको बताए । उनले समाजिक सञ्जालमा यस विषयलाई लिएर अनावश्यक टीकाटिप्पणी भइरहेको पनि बताए । उनले घर जलाएको घटनामा कुनै सत्यता नभएको र सामाजिक सद्भाव कायम राख्न सबैमा आग्रह पनि गरेका छन् ।

मलंगवा नगरपालिकाका नगर प्रमुख नागेन्द्र रायले यो दुुई पक्षको विवाद नभएर केही उच्छृंखल व्यक्तिहरूको भएको बताए । उनले दुुई पक्षकै अगुवाहरूको बैठक बसी समस्या समाधान गर्न आफूहरू लागिपरेको बताए ।

मधेस प्रदेशका प्रदेशसभा सदस्य कौशलकिशोर रायले घटनापछि प्रहरी प्रशासन मूकदर्शक भएर बस्नु दुःखद भएको बताए । उनले अहिले भइरहेको घटना दुुई समुदायभन्दा पनि केही उच्छृंखल व्यक्तिहरूका कारण भएको र ती व्यक्तिलाई कारबाहीको दायरामा ल्याइए अवस्था सामान्य हुने बताए । प्रदेशसभा सदस्य रायले सामाजिक सद्भाव कायम राख्न सम्पूूर्णमा आग्रहसमेत गरे ।

घटनापछि स्थानीय प्रशासनले मलंगवा नगरपालिकाको पूर्वमा झिम नदी, पश्चिमा मुसैली नहर, उत्तरमा प्रहरी चौकी र दक्षिणमा नेपाल–भारत सीमा क्षेत्रभित्र कर्फ्यु लगाउँदै आएको छ ।

घाइते रूपेश यादवलाई चक्कु प्रहार गरेको अभियोगमा प्रहरीले मोहमद अजमद मिकरानीलाई पक्राउ गरेको छ । मोहमदसहित पाँच जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ । दुई पक्षबीचको झडपमा प्रहरीसहित आठ जना घाइते भएका थिए, जसमध्ये मलंगवा निवासी रूपेश यादव गम्भीर छन् । वीरगन्जमा उपचाररत उनको अवस्था खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता दीपेन्द्र पञ्जियारले जानकारी दिए ।

घटनापछि हरेक दिनजसो सदरमुकाम मलंगवामा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ । मलंगवामा स्थानीय प्रशासनले जारी गरेको कर्फ्यु उल्लंघन गर्दै स्थानीय शुक्रबार प्रदर्शनमा उत्रिएका थिए । स्थानीयले जिल्ला प्रशासन कार्यालय मलंगवामा समेत ढुंगामुढा गरेका थिए । कर्फ्यु उल्लंघन गरी प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीलाई हटाउन प्रहरीले करिब २३ सेल अश्रुग्याँस प्रहार तथा केही राउन्ड हवाई फायरसमेत गरेको थियो ।

यसैगरी, शुक्रबार नै दुई पक्षबीचको झडपलाई सामान्य बनाउन जिल्ला प्रशासन कार्यालय सर्लाहीमा सर्वपक्षीय बैठक पनि राखिएको थियो । सर्वपक्षीय बैठकले घटनाको गहन समीक्षा गर्ने, सत्यतथ्य पत्ता लगाई दोषीलाई पक्राउ गरी हदैसम्मको कारबाही गर्ने, ब्रह्मपुरी गाउँपालिकामा तोडफोड गर्ने अराजक तत्वलाई पहिचान गरी कारबाही गर्ने, घटना गराएर मानवीय क्षति पु-याउने व्यक्ति पहिचान गरी ती व्यक्तिबाट क्षतिपूर्ति भराउने, आगामी दिनमा यस प्रकारका घटनाको पुनरावृत्ति हुन नदिन सबै पक्षबाट गम्भीरतापूर्वक आ–आफ्नो दायित्व निर्वाह गर्नेलगायतको निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 212 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

लुकेका ललिता निवासहरू

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कैलालीमा खाता एमालेले खोल्यो