नेपाल सुन तस्करीको उर्वर केन्द्र

प्रारम्भ
नेपालमा सुन तस्करी लामो समयदेखि हुँदैआएको छ । पछिल्लोपटक हङ्कङबाट काठमाडौंको रेडी ट्रेड प्राइभेट लिमिटेडका नाममा सय केजी अवैध सुन आएकामा कारबाही भइराखेको छ । पञ्चायती समयदेखि हालसम्म आइपुग्दा यसको तस्करी निर्वाध रूपमा भइआएको अनुमान गरिँदै छ । २०४६ सालपश्चात् तत्कालीन गृहमन्त्रीको निर्देशनमा प्रहरीहरूले नै तस्करीलाई सहजीकरण गरेको सूचना संप्रेषित भएको थियो । यी सुन नेपाल हुँदै भारततर्फ पठाइने गरिन्छ । यस कम्पनीमा छापा मार्दा सुन र पगाल्ने मेसिनसमेत रहेको र १ हजार ९ सय ९७ केजी सुन यही कम्पनीका नामबाट आयात भएको देखिएको छ । दोलखा जिल्लावासी एक मजदुरको नाममा सुन तस्करी गर्ने कम्पनी दर्ता गरेर सबै निकायको सेटिङमा काम भइराखेको देखिँदै छ ।

यसका अतिरिक्त २०१७ मा ३३ केजी सुन समातिएकामा सो सुन गायव भएको थियो । कारबाहीमा रहेको सुन पित्तलमा बदलिएको पनि देखिएको छ । विद्युतीय चुरोटमा लुकाइराखेको सुन नेपाल भित्रिएको र यस प्रकरणमा माओवादीका ठूला नेता संलग्न रहेका विभिन्न सञ्चारमाध्यमले देखाइरहेका छन् । दैनिक रूपमा सुन तस्करी भइराखेकामा राजनीतिक नेतृत्व तह यसमा संलग्न रहेका तर कारबाही नभइराखेको भए पनि भरिया स्तरलाई कारबाही गरेर ठूला तस्करलाई उन्मुक्ति दिने गरिएको छ । नेपालको पहिचान सुन तस्करी गराउने मुलुकका रूपमा रहँदै आएको छ । यसले मुलुकको अन्तर्राष्ट्रिय स्तरमा प्रतिष्ठा गुमाएको छ । अन्य मुलुकले दबाब र सूचना प्रदान गरेको अवस्थामा मात्र सुन तस्करहरूमाथि देखावटी कारबाही गरिआएको अवस्था छ ।

नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार, अपराध अनुसन्धान विभाग र नेपाल प्रहरी तैनाथ गरिएको छ.। भन्सारले आफ्नो परीक्षण सकेपश्चात् नेपाल प्रहरीले समेत परीक्षण गर्छ । अपराध अनुसन्धानतर्फका देखिने र नदेखिने जनशक्तिले यस प्रकारका अपराधको सूचना सम्बन्धित निकायसम्म पु¥याइ नियन्त्रण गर्न सघाउ पु¥याउने गर्छ । तर, ठूलो मात्रामा नियमितजस्तै सुन तस्करी भइराखेकामा यी सबै निकायका पदाधिकारी बेखबर देखिएका छन् । गृह, अर्थ र प्रधानमन्त्री मातहतमा रहेका यी निकाय इमान्दार हुँदा यस प्रकारको अवैध तस्करी पूर्ण रूपमा रोकिन सक्छ । यी सबै निकायको मिलेमतोका कारण नेपालमा सुनतस्करी भइराखेकामा सन्देह रहँदैन ।

अन्तर्राष्ट्रिय उदाहरणहरू
सुन तस्करी नेपालमा मात्र हुने होइन । यसको अन्तर्राष्ट्रिय सञ्जाल नै बनेको छ । अल्पअवधिमा पर्याप्त धन कमाउन र कालोधनको निर्मलीकरण गर्न यो धन्दा गरिएको छ । यसप्रकारको अपराध नियन्त्रणका लागि तस्करी हुने मार्गमा रहेका र गन्तव्य मुलुकसहितको संयुक्त प्रयास हुनुपर्छ । इटाली, जर्मनी र स्वीट्जरल्यान्डमा यस अपराधमा वृद्धि हुँदैगर्दा यी तीनवटै मुलुकले संयुक्त रूपमा यसलाई नियन्त्रण गर्ने प्रयास गरेका छन् । मुद्रा निर्मलीकरण र सुन तस्करीमा संलग्न आपराधिक समूहका नेतृत्व गरिरहेका १० सदस्यमाथि कारबाही भएको छ । १५ मिलियन युरो निर्मलीकरण गरिएको र यस मिसनमा सबै मुलुक गरी १ सय ५० अधिकृतले सफलतापूर्वक यो काम गरेका थिए । यो सफलता सन् २०२३ मै मिलेको हो । अलजजिरा इन्भेस्टिगेसन युनिटले १४ अप्रिल २०२३ मा दक्षिण अफ्रिकामा धेरै ठूलो संख्यामा सुन तस्करहरूको सञ्जाल पत्ता लगाएको थियो ।

गृह, अर्थ र प्रधानमन्त्रीका मातहत रहेका निकाय इमान्दार हुनसके अवैध तस्करी पूर्ण रूपमा रोकिन सक्छ

उनीहरूले विशेष गरेर मुद्रा निर्मलीकरण प्रयोजनका लागि यो अपराध गरेका थिए । उनीहरूमाथि संयुक्त प्रयासबाट कारबाही भएको थियो । यस अनुसन्धानबाट जिम्बाबेका उच्च पदस्थहरूसमेत तस्करीमा संलग्न भएको पहिचान हुनआएको छ । यसबाट विश्वभरका धेरै मुलुकमा विभिन्न तरिका अवलम्बन गरेर तस्करी र मुद्रा निर्मलीकरण गर्ने ठूलो समूह भएको निष्कर्ष निकालिएको छ । सुन तस्करहरूले कुन मुलुकबाट आधिकारिक रूपमा सुन खरिद गरेका हुन् ? प्रमाणित दस्तावेज छ या छैन ? खासै फरक पर्ने देखिएन । सुनको प्रकृति नै यस्तो हुँदोरहेछ कि कुन मुलुकबाट ओसारपसार प्रारम्भ भएको हो ? पत्ता लगाउन अत्यन्त कठिन पर्छ । जिम्बाबेको बिन्दुबाट तस्करी प्रारम्भ भई दुबईमा ट्रान्जिट बनाइ लन्डन र स्वीट्जरल्यान्डमा सो सुन पुगेको देखिन्छ ।

यस प्रक्रियामा सुनलाई आवश्यकतानुसार पगाल्ने र तयार बनाउने गरिन्छ । यसो गर्दा सुन कहाँबाट आएको हो ? पहिचान गर्न सकिँदैन । कानुन कार्यान्वयन गर्ने निकायका लागि असहज अवस्था बन्छ । विश्वमै प्रख्याती आर्जन गरेका दुबईका सुन परिष्करणसम्बन्धी संस्थाका प्रमुख अम्जान रिहानका अनुसार सुन परिष्करण भएपश्चात् त्यही बिन्दुबाट उत्पत्ति भएको प्रमाण मिलाउन सहजै सकिन्छ । मुद्रा निर्मलीकरण प्रयोजनका लागि यो नै सबैभन्दा सहज उपाय हो । दक्षिण अफ्रिकाका सुन तस्करहरूले यो सबै प्रक्रिया पूरा गर्ने जिम्मेवारी दोहाका तस्करलाई दिएका छन् । यस अपराधमा मुख्यतया चिनियाँ नागरिकहरूको संलग्नता देखिएको छ । यी तस्करको ठूलो कारोबार जिम्बाबेबाट हुनेगरेको छ, किनकि यस मुलुकको मुद्राको स्फीतिका कारण अन्तर्राष्ट्रिय व्यापारमा कुनै मूल्य नै छैन । त्यसैले, यस मुलुकका लागि अमेरिकी डलर आवश्यक पर्छ ।

सुन यस मुलुकको ठूलो मात्रामा पैठारी हुने चिज हो र यसबाट डलर प्राप्त गरिराखेको छ । यस मुलुकले सुन तस्करहरूलाई सहजीकरण गर्छ । यहाँबाट सुन दुबई जान्छ, परिष्करणपश्चात् बिक्रीबाट सफा मुद्रा आर्जन गरिन्छ । तस्करहरूले यसबापत प्राप्त रकम मुद्रा निर्मलीकरण गर्ने संस्थाको खातामा जम्मा गर्छन् । यसको ठूलो हिस्सा जिम्बाबेलाई अमेरिकी डलरमा उपलब्ध गराउँछन् । अल जजिराका रिपोर्टर मुद्रा निर्मलीकरणको जिम्मेवारी लिँदैआएका अलिस्टेरमाथि यसबाट प्राप्त सूचनाका अनुसार उनले सुनको कारोबारबाट सफा मुद्रा अफ्रिकाका धेरै मुलुक प्रमुखलाई पठाइराखेका छन् । उनी आफ्नो इच्छानुसारका मुलुकमा सहजै पुग्नसक्ने र सुनको कारोबारबाट सहजै मुद्रा निर्मलीकरण हुने उनको भनाइ रहेको छ । जिम्बाबेको केन्द्रीय बैंकमा रहेको सुन परिष्करण मेसिन सुनको तस्करीका लागि सहजै तस्करहरूले प्रयोग गरिराखेका छन् ।

यस मुलुकले आफ्ना राजदूतहरूलाई कालोधन आफ्नो मुलुकमा भित्र्याउनसमेत प्रयोग गरेका पाइएको छ । सुन तस्करीमा यस मुलुकका राजनीतिज्ञहरूको समर्थन सहजै पाइराखेको स्थिति छ । मोहम्मद खान दक्षिण अफ्रिकाका एक मुद्रा निर्मलीकरणका लागि काम गर्दैआएका तस्करसमेत रहेछन् । उनले कालोधनबाट सो मुलुकका दुईवटा वित्तीय संस्था, त्यहाँका कर्मचारीलाई र राजनीतिज्ञलाई घुस दिई खरिद गरेछन् । राज्यले उनको कालोधनलाई मान्यता दिएको छ । पूर्वराष्ट्रपति ज्याकोब जुम्बाले नै यस प्रकारका तस्करहरूसँग मिलेर खुलेयाम मुद्रा निर्मलीकरण गराउने गरेका पाइएको छ । तस्करहरूलाई सबै प्रकारका सहजीकरण राज्यले गरिराखेको थियो ।

राष्ट्रपतिकी श्रीमतीले नै एकपटक सय मिलियन डलर निर्मलीकरण गर्न उद्घोष गरेकी थिइन् । अफ्रिकन मुलुकहरूमा यस्ता अपराधजन्य कारबाहीमा सहजै राष्ट्रप्रमुख र सरकारको सहयोग मिल्ने अवस्था छ । अफ्रिकाका प्रायः सबै मुलुकका उच्चपदस्थहरूका लागि यी तस्कर र निर्मलीकरणकर्ताले काम गरिराखेको अवस्था छ । विशेषगरी जिम्बाबे, दक्षिण अफ्रिका, केन्या आदि मुलुकमा यस प्रकारको सञ्जालको प्रत्यक्ष अनुभूति गर्न सकिन्छ ।

दुबई सहर यस प्रकारको अपराधका लागि उर्वर भूमि बनेको छ । ठूला तस्कर र मुद्रा निर्मलीकरण गर्नेहरू यस सहरमा आकर्षित भइराखेका छन् । यस सहरमा नयाँ मुलुकबाट अवैध तरिकाले सुन आयात भइराखेको छ । विश्वकै सवैभन्दा ठूलो लगानी भित्रिने सहर बनेको छ । व्यापारीमैत्री व्यवहार र नीति अवलम्बन गरिएको छ । यही प्रावधान र सरकारी सहजताका कारण सबै प्रकारका किर्ते, जालसाजी कार्य गरेर सुन तस्करी गराउने सहरका रूपमा दुबईले आफ्नो पहिचान बनाएको छ । तस्करहरू यस सहरमा अत्यन्त बढी सुरक्षित बनेका छन् । जुनसुकै मुलुकबाट आएको सुन यहाँ परिष्करण गरिन्छ । आफ्नै मुलुकमा रहेको वैध सुनका रूपमा कारोबार हुनथाल्छ । मुद्रा निर्मलीकरण र तस्करीमा संलग्न हुनेहरूको खातामा वैध रकम पुग्छ । तस्करीबाट आएको सुनको रकम आधिकारिक रूपमा तस्करको खातामा जम्मा हुन्छ । तस्करहरूले त्यस मुलुकमा यस प्रकारका कालोधन लागानीसमेत गर्नसक्ने अवस्था छ । तस्कर माफियाकै अभिव्यक्तिमा दुबईमा सबै कारोबार वैध हुन्छ र वैधता प्रदान गरिन्छ ।

नेपालमा तस्करी, मुद्रा निर्मलीकरण र राजस्व चुहावटजस्ता अवैध धन्दा नियन्त्रण गर्ने उत्साह शासकमा नदेखिएकाले यसले निरन्तरता पाइरहने देखिन्छ

बैंकिङ कारोबार नभई यी सबै अपराधलाई वैधता प्रदान गर्न सकिन्न । अफ्रिकन मुलुकहरूको बैंकिङ प्रणालीसमेत तस्करमैत्री छ । बैंकका कर्मचारीहरू तस्करको पेरोलमा बसेका हुन्छन् । जिम्बाबेले महाप्रबन्धक फइदेलिटीको पालामा बैंकको स्रोतसाधन सबै तस्करलाई सहजै उपलब्ध गराएको थियो । त्यस मुलुकको सुनखानीबाट सुन खरिद गरेको प्रमाण बनाइदिने, त्यसैका आधारमा अवैध कारोबार गर्दै विभिन्न मुलुकबाट थुप्रै डलर आयात गर्ने र राष्ट्रले त्यस रकमको प्रवाह आफ्नो अर्थतन्त्रमा गर्नेगरी काम गर्ने प्रक्रियाको थालनी यस प्रकारका कालो व्यवसायबाट गरिआएको थियो ।

दक्षिण अफ्रिकामा रुडल्यान्ड र मो डलर नामक तस्करहरूले एबीएसए, स्ट्यान्डर्ड र सस्फिन बैंकमा कालोधन डिपोजिट गर्ने र कारोबार गर्ने सुविधा कर्मचारीहरूसँगको मिलिभगतमा पाएका थिए । यस रकमको कारोबार विश्वभर सहजै हुने गथ्र्यो । तेस्रो पक्षसँग मिलेर तस्करी गर्ने सहजता राज्यले नै प्रदान गरेको थियो ।

भारतीय सुन बजारसमेत यस व्यवसायबाट अत्यन्त प्रभावित भएको छ । विवाहको समयमा सरकारी सञ्जालबाट सुनको आयात कम हुने तर त्यही समयमा मुलुकभित्र सुनको मूल्य घट्ने देखिएको छ । यस तस्करीबाट आयात भएको सुन बजारमा वैध बिक्री गर्न सम्भव भएकाले सहज बनेको हो । युनाइटेड अरब इमिरेट्स र भारतको बजारमा प्रति १० ग्राम सुनमा ७ हजार रुपैयाँ फाइदा हुने गर्छ । यो कारोबार ५ सय ग्रामको हुँदा सहजै ३ दशमलव २५ देखि ३ दशमलव ५ लाख रुपैयाँसम्म मुनाफा बस्ने देखिन्छ । विश्वमै चीनपछि सुन उपभोग गर्ने राष्ट्रमा भारत दोस्रोमा पर्छ । भारतमा वर्षमा ९ सय मेट्रिक टन सुन आयात भएको देखिन्छ ।

उपसंहार
नेपालमा ठूलो मात्रामा सुनको तस्करी हुँदैआएको छ । यस मुलुकलाई ट्रान्जिट बिन्दुका रूपमा तस्करहरूले प्रयोग गरिराखेका छन् । सरकारमा बस्नेहरू भ्रष्टाचारमा लिप्त छन् । तस्कर र मुद्रा निर्मलीकरण गर्नेसँग मिलेमतो भइराखेको छ । नेपालबाट ठूलो मात्रामा सुन भारत पुग्छ । यी कार्यका लागि नेपाल सहज मुलुक बनेको छ । किनकि, हाम्रो मुलुकमा कार्यपालिकाको प्रभाव राज्यका अन्य अंगको तुलनामा ज्यादा देखिन्छ । शक्ति सन्तुलनको अवस्था कमजोर बन्दैगएको छ । नेपालको अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षामा समेत विदेशीले सन्देह गरिराखेका छन् ।

अपराधीहरूको बोलवाला भएको मुलुकमा स्वतः शान्ति सुरक्षाको अवस्था कमजोर बन्छ । अन्य मुलुकमा भ्रष्टाचारका आरोपित जतिसुकै शक्तिशाली र चर्चित भए पनि कानुनी कठघरामा पुगेका छन् र दण्डित भएका छन् । मलेसियाका भूतपूर्व प्रधानमन्त्रीहरू म्युहिद्दीन यासिन, अनबर इब्राइम, नबिव रजाक हुन् या दक्षिण कोरियाका पूर्वराष्ट्रपति पार्क जिउन ह्यु हुन् । उनीहरू भ्रष्टाचारको आरोपमा दण्डित भएका छन् । भारतका चर्चित प्रधानमन्त्री पी नरसिंह राव सांसद खरिद गर्ने प्रयोजनका लागि भनिएको केसमा धर्मगुरु चन्द्रास्वामीको डायरीमा नाम भेटिएकै आधारमा भ्रष्टाचारको छानबिनमा तानिए । त्यही भ्रष्टाचारको आरोपका कारण उनको राजनीतिक करियर समाप्त हुनपुग्यो । भारतीय तत्कालीन प्रधानमन्त्री स्व. इन्दिरा गान्धीलाई ५ वर्षसम्म निर्वाचनमा प्रतिस्पर्धा नै गर्न नपाउनेगरी त्यहाँको सर्वोच्च अदालतले प्रतिबन्ध लगाएको थियो ।

तर, हाम्रो मुलुकमा प्रधानमन्त्रीको मातहतमा रहेको राष्ट्रिय अनुसन्धान विभाग, राजस्व अनुसन्धान विभाग र मुद्रा निर्मलीकरण नियन्त्रण विभाग छन् । गृह मन्त्रालयअन्तर्गत रहेका सुरक्षाकर्मीहरू र अर्थ मन्त्रालय मातहतमा रहेको भन्सार विभागका राष्ट्रसेवकहरू अन्तर्राष्ट्रिय विमानस्थलमा खटाइएका छन् । अवैध कार्यलाई नियन्त्रण गर्ने उनीहरूको कर्तव्य हो । तर, सय केजी अवैध सुन सहजै पास हुन्छ । यस प्रकारका अपराध कर्महरू दैनिक रूपमा भइराखेको सहजै अनुमान गर्न सकिन्छ । तर, सरकारमा रहनेहरू अन्य मुलुकमा जस्तो समन्वय गरेर यस अपराधलाई नियन्त्रण गर्ने पहल गर्दैनन् । नेतृत्व तहमा रहनेहरू यसको जवाफदेहिता लिन चाहँदैनन् । त्यसैले, जिम्मेवारीमा रहेकाहरूमा नेपालमा यस प्रकारका अवैध धन्दा नियन्त्रण गर्ने उत्साह देखिँदैन । यस अर्थमा यस प्रकारका तस्करी र मुद्रा निर्मलीकरण एवं राजस्व चुहावटले निरन्तरता प्राप्त गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 72 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

तीनपटक सकारात्मक सर्किट लागेको सेयर बजार सयमअगावै बन्द

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भक्तपुरमा कांग्रेसले खोल्यो खाता