काठमाडौं । अभिनेता अनमोल केसीले निर्देशक सुदर्शन थापाको निर्माण हुन लागेको फिल्म ‘रावायण’को स्क्रिप्ट आफूलाई चित्त नबुझेको बताएका छन् । निर्धारित समयभित्र यो चलचित्रको स्क्रिप्ट राम्रो नबनाएसम्म चलचित्र रावायणमा आफूले काम नगर्ने उनले बताएका छन् । यसअघि पनि अनमोलले स्क्रिप्टमा चित्त नबुझेको बताउँदै आधा दर्जन चलचित्र छाडिसकेका छन् ।
यो चलचित्रको कथा सुनेर अनमोल अनुबन्धित भएका थिए । त्यतिबेला फिल्मको स्क्रिप्ट तयार भएको थिएन । तर, अहिले यो चलचित्रको स्क्रिप्ट आफूलाई मन नपरेको उनले बताएका छन् ।
चलचित्र रावायणको आगामी शनिबारबाट छायांकन सुरु गर्ने पक्षमा निर्देशक सुदर्शन थापा थिए । तर, अभिनेता अनमोलले चलचित्रको छायांकनका लागि दाबाब नदिनु भन्दै फेसबुकमा स्टाटस नै लेखेका छन् । स्टाटसमा अनमोलले स्क्रिप्ट चित्त नबुझेसम्म फिल्म नगर्ने र कुनै प्रकारको दबाब र हतारको प्रभावमा नपर्ने पनि उल्लेख गरेका छन् । तथापि, आफूहरू चलचित्रको छायांकनमा जाने पक्षमा रहेको निर्देशक थापाको भनाइ छ ।
यो चलचित्रमा मनमोललाई नायक र खलनायक गरी दोहोरी भूमिकामा उतार्ने तयारीमा निर्देशक सुदर्शन रहेका छन् । तर, अहिले त्यही स्क्रिप्ट उनलाई चित्त नबुझेको हो । तर, निर्देशक सुदर्शनले यो चलचित्रको स्क्रिप्ट राम्रो बनाउन आफूहरू लागिरहेको बताएका छन् । फिल्मको स्क्रिप्ट शिवम् अधिकारीले लेखिरहेको बुझिएको छ ।
रावायणमा अनमोल केसीसँगै नीति शाह, राज कटुवाललगायतका कलाकार अनुबन्धित भइसकेका छन् । तथापि, यति बेला अनमोल तीनवटा फिल्ममा काम गर्न सम्झौता गरेर बसेका छन् । यी तीनमध्ये फर्कीफर्कीको छायांकन रावायणपछि गर्ने तयारीमा निर्माण पक्ष रहेका छन् । दसैंपछिबाट छायांकन सुरु गर्ने भनिएको फर्कीफर्कीको अब पूmलपातिबाटै छायांकन सुरु हुने सम्भावना बढेको छ ।